कोलोराडोमा वरिष्ठ साहित्यकार व्याकुल पाठक सम्मानित

May 25, 2017

डेन्भर, कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले नेपालका वरिष्ठ साहित्यकार तथा पत्रकार व्याकुल पाठकलाई दुई दशकभन्दा बढी अनवरत रूपमा यस क्षेत्रमा गर्नुभएको सेवाको कदर गर्दै यहाँ एक विशेष समारोहको आयोजना गरी भव्य सम्मान गरेको छ ।
अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले नेपालबाट प्रमुख अतिथिका रूपमा निम्त्याइएका वरिष्ठ साहित्यकार तथा पत्रकार पाठकलाई उनको साहित्य र पत्रकारितामा दुई दशकभन्दा लामो क्रियाशीलताको कदर गर्दै विशेष सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा कोलोराडोलाई कर्मथलो बनाएर बसिरहेका वरिष्ठ गायिका निर्मला श्रेष्ठ, वरिष्ठ साहित्यकार प्रमिला शर्मा र पत्रकार नातिबाबु भट्टलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित स्रष्टा पाठकले विदेशमा रहेर अति व्यस्तताको बाबजुद नेपालीको पहिचानलाई बचाइराख्नु र प्रचार गर्नु अवैतनिक राजदूतले गरे सरहको काम गरेकाे बताए । अमेरिकामा नेपाली पहिचान कायम गरिरहेकाले यता कर्मथलो बनाएका नेपालीहरूलाई पलायन भएको भन्न नमिल्ने तर्क पनि उनको थियो।
सम्मानित स्रष्टाबारे फरक फरक समीक्षकले प्रकाश पारेका थिए । पाठकबारे ज्ञानेन्द्र गदाल, श्रेष्ठबारे गौतमसागर राई, शर्माबारे यशोदा भट्ट र भट्टबारे भूपेन्द्र महतले पनि अाफ्नो धारणा राखे ।
अनेसासका केन्द्रीय अध्यक्ष विश्वकर्माले नेपालका चर्चित साहित्यकार तथा पत्रकार पाठकलाई कोलोराडोमा निम्त्याई सम्मान गर्ने वातावरण मिलाएकोमा कोलोराडो शाखा र यसका अध्यक्ष कृष्णमुरारि ढुंगेलको प्रशंसा गरे । उनेले कोलोरोडो शाखाको सक्रियताको सराहना पनि गरेका थिए ।
अनेसास कोलोराडो शाखाका अध्यक्ष कृष्णमुरारी ढुंगेलले व्याकुल पाठकले नेपाली साहित्यमा मौलिक लेखन, अनुवाद तथा सम्पादनका क्षेत्रमा उल्लेखनीय काम गर्नुभएकोले सम्मानका लागि छनौट गरिएको बताए । उनले विदेशमा रहेर पनि नेपाली साहित्य, कला, संस्कृतिको जगेर्ना, प्रवद्र्धन र प्रचारको कामलाई निरन्तरता दिने र उत्कृष्ट स्रष्टाको पहिचान गरी पुरस्कार एवं सम्मान दिने काम पनि जारी राख्ने बताए ।
अनेसास कोलोराडो शाखाका वरिष्ठ सदस्य श्याम श्रेष्ठले आमन्त्रितहरूलाई श्वागत गर्दै व्यस्तताका बीच समय निकालेर ठूलो संख्यामा उपस्थितिका लागि धन्यवाद ज्ञापन गरे । शाखाकी सदस्य धन पौडेलले कामको जति व्यस्तता भए पनि नेपाली पहिचान कायम राख्न आफूहरू कहिल्यै पछि नपर्ने प्रतिबद्धता व्यक्त गरे । नर्थ ग्लेन चर्चको हलमा आयोजित कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
आकाश राईले राईहरूको साकेला नाचबारे चर्चा गरिएको कार्यक्रममा डा. विजयराज शर्मा, निर्मल प्याकुरेल, हरि अधिकारी, वासु खनाल, भूपेन्द्र महत, श्वेता वाग्ले तथा समीर आचार्यले कविता वाचन गरेका थिए।

सम्बन्धित समाचार