विदेशी अस्पतालको कोमामा २८ नेपाली

November 19, 2019

काठमाडौं – २८ जना नेपाली विदेशी अस्पतालमा अचेत (कोमामा) छन् । रोजगारीका लागि गएका उनीहरु काम गर्दा गर्दै दुर्घटनामा परेर कोमामा उपचाररत छन् ।

हालसम्म पीडितका आफन्त र वैदेशिक रोजगारीको क्रममा रहेका व्यक्तिले दिएको सूचनाको आधारमा कोमामा पुगेका २८ को विवरण संकलन भए पनि यस्तो संख्या अझै ठूलो हुन सक्ने वैदेशिक रोजगार बोर्डको अनुमान छ ।

कोमामा पुगेका बिरामीलाई गन्तव्य मुलुकका रोजगारदाताले उपचार गर्न अप्ठेरो मान्न थालेको समेत पीडितका आफन्तहरु बताउँछन्। बिरामी कोमामा पुग्नु भनेको गम्भीर संकटको अवस्था हो। कोमामा पुगेका थोरै बिरामीमात्र सकुशल बनाउन सकिने चिकित्सकहरू बताउँछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोमामा पुगेका नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने व्यवस्थाबारे छलफल समेत गरेको छ। विदेशी अस्पतालमा कोमामा उपचार गराइरहेका ती कामदारलाई स्वदेशमा फर्काएर सरकारी अस्पतालमा उपचार गराउन सकिन्छ कि भन्नेबारे छलफल भइरहेको छ ।

मन्त्रालयले यस्तो पहल गरे पनि कोमामा पुगेका ती श्रमिकलाई स्वदेश फर्काउनेबारे पीडितका परिवारबीच नै कुरा नमिलेको बताइन्छ। कतिपय पीडितका आफन्तले स्वदेश फर्काउनु पर्ने बताएका छन् भने कतिपय कोमामा पुगेको बिरामीलाई स्वदेश फर्काउँदा अत्यधिक खर्चिलो हुने भएकाले फर्काउनुअघि सरकार खर्च बेहोर्न तयार हुनुपर्ने बताउँछन्। कोमामा रहेका बिरामीलाई स्वदेशमा फर्काउनेबारे अहिले छलफल मात्र चलिरहेकाले कस्तो निर्णय हुन्छ भन्नबारे अहिले केही भन्न नसकिने मन्त्रालयका अधिकारीहरू बताउँछन्।

कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र दक्षिण कोरियामा २८ जना नेपालीको कोमामा उपचार भइरहेको बोर्डले तंथ्याक संकलन गरेको छ। सबैभन्दा धेरै कतारमा १३ जना कोमामा उपचाररत रहेको बोर्डले जनाएको छ। त्यसपछि साउदी, कुवेत, युएई र दक्षिण कोरियामा कोमामा उपचाररत छन्।

सम्बन्धित समाचार