कांग्रेस केन्द्रीय समितिमा १४ औं महाधिवेशनबारे छलफल शुरु

July 7, 2019

काठमाडौं । नेपाली कांग्रेसको आजको केन्द्रीय समितिमा १४ औं महाधिवेशनले विषय प्रवेश पाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा सवा ६ बजे शुरु भएको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको १४ एजेन्डमा महाधिवेशनको विषयसमेत समावेश छ।

 

बैठकमा सभापति शेरबहादुर देउवाको निर्देशअनुसार महामन्त्री खड्काले उक्त एजेन्डा प्रस्तुत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । पार्टीको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिँदैछ। बैठकले महाधिवेशनको कार्यतालिका निर्माणको प्रस्तावसमेत गरेको छ।

 

बैठकमा सभापति देउवाले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ मा खटिएका सबै केन्द्रीय प्रतिनिधिहरु, जिल्ला, क्षेत्र एवं स्थानीय तहसम्मको नेतृत्व र साथीहरु, देश–विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्यलाई बधाइ एवं धन्यवाद दिएका थिए ।

 

एजेण्डाको प्रस्तुतिपछि  नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले “नेपाली कांग्रेसको नियमावली, २०७६” प्रस्तुत गरेको कांग्रेसले जनाएको छ। कांग्रेसको अर्को बैठक असार २७ गते दिउँसो १ बजे बैठक बस्ने भएको छ ।
 

यस्ता छन् महामन्त्री खड्काले बैठकमा प्रस्तुत गरेका एजेण्डा

१  नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको “नेपाली कांग्रेसको नियमावली, २०७६” समितिका संयोजक केन्द्रीय सदस्य श्री रमेश लेखकद्वारा प्रस्तुत गरिने ।
२  पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा ।
३ विधानको व्यवस्था अनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण सम्वन्धमा ।
४ २०७६ बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पहिलो चरणको “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को एकिकृत प्रतिवेदन प्रस्तुत गरिने ।
५ नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गरिने ।
६ केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिने ।
७ नेपाली कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिने ।
८ भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा ।
९ पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्वन्धमा ।
१०  जनसम्पर्क समितिका सम्बन्धमा ।
११  स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने सम्बन्धमा ।
१२  तनहु जिल्लामा अबैध रुपमा गठन भएको नेपाली कांग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्वन्धमा ।
१३  देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भ ।
१४  बिविध

सम्बन्धित समाचार