अन्तराष्ट्रिय भन्सार दिवसमा छलफलः अर्थमन्त्री कार्कीले भने–भन्सारको स्तर बढाउनुपर्छ

January 25, 2018

शुभप्रभात राई/काठमाडौं

काठमाडौं । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्शले ‘आर्थिक विकासका निम्ति सुरक्षित व्यापारको वातावरण’ विषयक छलफल कार्यक्रमको आयोजना गर्‍यो ।

उक्त अवसरमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको भन्सार प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने मान्यताका साथ सरकारले काम गरिरहेको जानकारी दिँदै त्यसमा निजी क्षेत्रको साथ र सहयोग अपरिहार्य भएको बताए ।

अर्थमन्त्री कार्कीले भने, ‘अर्थमन्त्रालय र व्यावसायीहरु एकै परिवारका सदस्य हौं ।’ कार्कीले थपे, ‘हामी लोक कल्याणकारी राज्य स्थापनाको निमित्त अगाडी बढेका छौ । मुुलुक राजनीतिक स्थायित्वको तर्फ अग्रसर छ ।’

राजनीतिकरुपमा मुलुक अब नयाँ चरणमा प्रवेश गरेको र अबको कार्यसूची आर्थिक समृद्धिको हुनुपर्छ भन्दै उनँले व्यावसायिक मर्यादा कायम गरी आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्बद्ध सबैमा आग्रह गरे ।

अर्थराज्यमन्त्री उदयशम्शेर राणाले भन्सार राजश्वमा निर्भर रहेर अर्थतन्त्रलाई सुदृढ तुल्याउन नसकिने बताउँदै यसका लागि वैकल्पिक उपाय अवलम्बन गर्नुपर्ने सुझाव दिए ।

‘भन्सारको कुरा गरिरहँदा हाम्रो जस्तो भुपरिवेष्ठित देशमा केही समस्याहरु जहिल्यै पनि आउने नै गर्दछ । सैद्धान्तिक र व्यवहारिक दुइओटा ईन्ट्रि पोइन्ट भएकाले पनि त्यस्तो भएको हो ।’ मन्त्री राणापनि हरेक गल्तीहरु लाई सुधार गर्दै पहिलेको दाँजोमा अहिले भन्सार प्रशासन आधुनिकीकरणमा प्रवेश गरिसकेको दाबी गरे ।

राजश्व सचिव शिशिर ढुंगानाले मूल्य अभिवृद्धि कर (भ्याट) अपरिवर्तनीय रहेको र त्यसले उद्यमी–व्यवसायीमा कुनै किसिमको भार नपारेको बताउँदै भन्सार पद्धति र प्रणाली बसाउन सबै पक्षको सहयोग आवश्यक भएको बताए ।

सचिव ढुंगानाले भन्सार प्रशासन भन्सार सुधार तथा आधुनिकिकरण रणनीति, योजनाहरुको कार्यन्वयनमार्फत भन्सार प्रशासनको सुधार तथा आधुनिकिकरण गरी अवैध व्यापारको न्युनीकरण गर्न प्रयत्नशील रहेको बताए ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको समग्र आर्थिक अवस्था र त्यसमा निजी क्षेत्रको योगदानको समीक्षा गर्दै आर्थिक विकास र व्यापारको वातावरण बनाउन नसकिएकामा दुःख व्यक्त गरे ।

सम्बन्धित समाचार