१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपालको श्रम सम्बन्ध एसियाकै उत्कृष्ट – श्रम सचिव दाहाल


२३ माघ २०७५, बुधबार  

0
Shares

 काठमाडौं: श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश प्रसाद दाहालले नेपालको श्रम सम्बन्ध एसियामै राम्रो रहेको बताएका छन् । जापान अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा नेपाल ट्रेड युनियन कांग्रेसले राजधानीमा आयोजना गरेको औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीको उद्घाटन गर्दै यस्तो विचार व्यक्त गरेका हुन् ।

औद्योगिक सम्बन्ध राम्रो भए मात्र औद्योगिक शान्ति हुने,उत्पादकत्व वृद्धि हुने र श्रम विवादहरु कम हुने हुनाले सरकारको केन्द्रीय श्रम सल्लाहकार समिति, न्युनतम पारिश्रमिक निर्धारण बोर्ड, सामाजिक सुरक्षा कोष लगायतका संरचनाहरुमा ट्रेड युनियनहरु र रोजगारदाताको त्रिपक्षीय प्रतिनिधित्व गरेको बताए । यसले श्रम विवादहरु मिलाउन सजिलो भएको र केही विवाद देखा परे तुरुन्त संवाद र छलफल गर्न ट्रेड युनियनहरुको संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ( जे.टि.यु.सि.सि.) ले गर्दा अझै सहज भइरहेको बताए ।

साथै श्रम विवादलाई समयमै समाधान गर्न प्रत्येक प्रदेशहरुमा श्रम कार्यालय खोल्ने जानकारी दिए । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले विदेशबाट पठाएको रेमिटेन्सले देश संचालन गर्नेतिर भन्दा युवालाई स्वदेशमै रोजगारि दिनु पर्ने उल्लेख गरे । सबै क्षेत्रमा ऎन ,कानुन र सम्झौता लागु भए मात्र औद्योगिक सम्बन्ध राम्रो हुने हुनाले प्रभावकारी कार्यान्वयनमा सरकार लाग्नु पर्ने बताए । यसैगरी ऎनमा र सम्झौता भएको होटेल श्रमिकहरुको १० प्रतिशत सेवा शुल्कलाई रेबनबाट निम्ताएको समस्यालाई तुरुन्त नसच्चाए ठुलो समस्या हुने चेतावनी दिए । जापान अन्तर्राष्ट्रिय श्रम संगठनका अध्यक्ष हिरोयुकी नागुमोले नेपाल लगायत विकासोन्मुख देशहरुका ट्रेड युनियनको वृद्धि विकास, श्रमिक अधिकार, औद्योगिक सम्बन्ध , श्रमिकको जिवनस्तर माथी उठाउने परियोजनाहरु र निशुल्क अनौपचारिक स्कुल संचालन गर्दै आएको बताए ।

जापानी राजदुतावासका उपप्रमुख योसिकाले नेपालका धेरै श्रमिकहरु अनौपचारिक क्षेत्रमा कार्यरत रहेको र यस क्षेत्रमा श्रम ऎनले त्यती नसमेटेको बताउदै श्रमिकको जिवनस्तर माथी उठे मात्र समृद्ध नेपाल हुने बताए । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भरतराज आचार्यले औद्योगिक सम्बन्ध असल भए मात्र उत्पादकत्व वृद्धि हुने बताए । जिफण्टका उपाध्यक्ष विदुर कार्कीले नेपालको औद्योगिक सम्बन्ध त्यती नराम्रो नरहेको उल्लेख गर्दै हिजोको सम्झौता र कानुन कार्यान्वयन भएमा श्रम सम्बन्ध असल हुने बताए ।

ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुवारले अहिलेको मुख्य समस्या बेरोजगारी भएकोले रोजगारीको सृजना प्रमुख मुद्दा बन्नु पर्ने, उत्पादकत्व वृद्धि गर्न र सुमधुर औद्योगिक सम्बन्धकालागी सबै पक्ष उतिकै जिम्मेवारी हुनु पर्ने बताए । ठुला ट्रेड युनियनहरु, रोजगारदाता र सरकार गरी त्रिपक्षीय सहभागिता रहेको गोष्ठी दुई दिनसम्म चल्ने केन्द्रीय सदस्य एवं प्रचार प्रसार विभाग प्रमुख बलदेव तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ७ : ३४ बजे