खासमा के हो कोरियोग्राफी ?

May 18, 2017

दामोदार न्याैपाने

चितवनको कान्दामा बालबालिका हामीलाई कुरिरहेका थिए । कोरियोग्राफी सिक्ने चाहना थियो उनीहरुको । बालबालिका भेट्न कान्देश्वरी प्रावि छिर्यौँ । त्यसपछि गाउँ घुम्न निस्कियौं । साँझ ४ बज्यो स्कुल आइपुग्दा ।
केही बेर सिकाउने मुडमा थिए कोरियोग्राफर सुमन सागर जंग केसी ।
चितवनको बिकट गाउँ हो कान्दा । यहाँका बालकलिकालाई मनोरञ्जनको कुनै साधन छैन । बिजुली छैन । त्यही भएर टेलिभिजन हुने कुरै भएन । फिल्म कहाँ देख्नु ? आफ्नो कमाइले तीन महिना पनि खान पुग्दैन चेपाङ जातीलाई । यस्तो अवस्थामा बालबालिकालाई मनोरञ्जनको साधन व्यवस्था गरिदिने कुरै भएन । यस्तो अवस्थाका बालबालिकाई कसरी सिकाउने ?
२०७२ असार देखि छात्रवास संचालित छ त्यहाँ । त्यही छात्रवासका ८६ जना विद्यार्थी जम्मा भएका थिए । छात्रवासका सबै विद्यार्थी सहभागी भए । शिक्षक पनि जम्मा भए । एक वर्ष देखि यही स्वयम् सेवा गरिरहेकी वर्षा रायमाझीले पहिलादेखि नै बालबालिकालाई सिकाइरहेकी थिइन् । उनले पनि सिकिन् । अरु शिक्षिकालाई पनि केसीले सिकाए ।
लेकका हामी केटाकेटी
कुहिरोभित्र स्कुल छ
पढ्न र लेख्न मुस्किल छ
चौरीलाई हेर्दा दिन बित्छ
कान्दालाई मिल्ने गरि लेखेको जस्तो लाग्थ्यो यो गीत । जंगलको विचमा छ कान्दा । २१ सय मिटर उचाइको यो वस्तीमा सधै चिसो हुन्छ । लेकका हामी केटाकेटी बोलको गीतमा केही बेर ‘फ्रि स्टाइल’ मा नाच्न सिकाए केसीले ।
‘फ्रि स्टाइलमा नाच्ने गितमा कुनै कोरियाग्राफी हुदैन । स्वतन्त्र रुपमा नाच्न पाइन्छ, केसीले प्रष्ट्याए ।
यो नेपाली शिर उचाली
अन्धकारमा लम्कन्छ
जुनकिरी झैं ज्योति बाली ‘..

 

देशप्रेमले ओतप्रोत भएको यो गितमा चाहिं स्टेप सिकाए । कोरियोग्राफी सिकाए । बालबालिकालाई गितकै तालमा कहिले रेल बन्न लगाए । कहिले चरा बन्न लगाए । कहिले बाघको जस्तो बसाइ बनाउन सिकाए । कहिले विरालोको जस्तो हिंडाइ बनाउन सिकाए । एक अर्कामा हात समातेर नाच्न लगाए । नानीबाबु लयवद्ध भएर नाचेको देख्दा खुब आनन्द आयो । मलाई पनि हुलमा मिसिन मन लाग्यो । स्टेप सिक्न मन लाग्यो । कोरियोग्राफी सिक्न मन लाग्यो । त्यहाँ जम्मा भएका सबै त्यही हुलमा मिसिएर स्टेप सिक्न थालें म पनि ।

एक पटक सिकाएको भरमा विर्सन सक्छ भन्दै वर्षाले भिडियो खिचिन् । उनले भनिन्, ‘विर्सियो भने भिडियो हेर्दै सिकाउँदै गर्न पाइन्छ ।’

शिक्षकलाई पनि केही सैद्धान्तिक कुरा सिकाए केसीले । ‘मैंले सिकाए जस्तै हुनु पर्छ भन्ने होइन, उनले सुझाव दिए, ‘सृजना एउटै भएपनि शिक्षक पिच्छे कल्पनाशिलता फरक हुन्छ । अनुभव र सिकाइले यो क्षेत्रमा सिर्जनाशिलता ल्याउँछ । कल्पनाशिलता ल्याउँछ । तपाइहरुले पनि सिर्जनाशिलता ल्याउन सक्नु हुनेछ ।’

छुट्टै संसार छ चेपाङ वस्तीको । भाषा राम्ररी बुझ्दैनन् । मान्छे देख्दा डराउँछन् । छेउमै पर्न चाहँदैनन् । यस्तो अवस्थाका बच्चा छात्रवास भएपछि केही परिवर्तन आएको छ । यस्तो ठाउँमा सिकाउँदा चूनौती हुने केसीको अनुभव रहेछ ।
‘मेरो शरिरको चाललाई उनीहरुको शरिरको चालमा ढाल्न सक्छन् कि सक्दैनन् भन्ने थियो । मेरो वडी ल्याङवेज बुझ्छन् कि बुझ्दैनन् भन्ने थियो, केसीले सुनाए, ‘तर सजिलै बुझे । मलाई अनुकरण गरे । मैंले जस्तो गरें, त्यस्तै गर्ने कोशीश गरे । टीभी नदेखे तापनि, फिल्म नहेरे तापनि हरेक गितमा टेस्ट गराएँ । त्यसमा बुझाउन सफल भएँ ।’

खासमा के हो कोरियोग्राफी ?

म अनविज्ञ थिएँ । गीतमा कोरियोग्राफी, चलचित्रमा कोरियोग्राफी, सुन्दरी प्रतियोगितामा कोरियोग्राफी भनेको सुनिन्थ्यो । नाच्न सिकाउनु कोरियोग्राफ होला भन्ठान्थें ।
मैंले केसीसँग जिज्ञासा राखें । उनले सजिलोगरी बुझाइदिए । मेरो क्यामेरामा टन्नै फोटाहरु थिए । त्यस मध्ये काभ्रे किल्पुको एउटा फोटो ठूलो फाँटमा मल घोप्ट्याइएको थियो । लाइन गज्जबले मिलेको देखिन्थ्यो मलका थुप्रा । एउटा गह्रामा मात्रै होइन, तलदेखि माथीसम्मको फाँटमा लाइन मिलेको मल थुप्रा हेर्दा साँच्चिकै आकर्षक देखिन्थ्यो । त्यही मल आकर्षक लागेर मैंले टन्नै फोटा खिचेको थिएँ ।

‘त्यो मल नमिलाइकन जथाभावी घोप्ट्याएको भए पनि हुन्थ्यो नि । आखिर जसरी राखे पनि लास्टमा त्यसलाई खेतभरी छर्ने हो,’ केसीले सरल भाषामा बुझाए, ‘कस्तो मिलाएर घोप्ट्याउने अभ्यास । यही हो कोरियोग्राफी भनेको । कोरियोग्राफ्री भनेको लय हो । भान्सामा मिलाएर भाँडा घोप्ट्याउनु पनि कोरियोग्राफ हो । मिलेर हिंडेको आर्मीको चाल पनि कोरियोग्राफी हो । पिटी खेलिरहेका विद्यार्थीको लाइन पनि कोरियोग्राफी हो । कोरियोग्राफीले सुन्दर देखिन्छ । लयात्मक देखिन्छ । हेर्दा मनमोहक लाग्छ । नृत्यमा पनि त्यही हो ।’

नृत्यमा शरिरको गतिले लय दिन्छ । कुन दिशामा जान्छ, त्यो दिशामा जाँदा कस्तो आकार दिने भनेर कोरियोग्राफी गरिन्छ । कोरियोग्राफ एक जनामा मात्रै पनि गर्न मिल्छ । सिंगल कोरियोग्राफ गर्दा कुन दिशामा गएर आफ्नो स्टेप दिने भनेर सिकाइन्छ ।

karmaकोरियोग्राफी र स्टेप एक आपसमा परिपुरक छन् । ‘दुबैको समिश्रण भयो भने सुन्दर देखिन्छ,’ केसी भन्छन् ।

कोरियोग्राफी सबैलाई उस्तै भएपनि स्टेपचाहिं साना र ठूलाको फरक हुन्छ । ठूलोमा जति धैर्यता हुन्छ, सानोमा हुँदैन । सानाको शरिरमा जति लचकता हुन्छ, ठूलोको नहुन सक्छ । त्यही भएर बच्चालाई गराउने क्रियाकलाप ठूलालाई फिट नहुन पनि सक्छ ।
केसी भन्छन्, ‘क्यान्डिल बनाउने स्टेप ठूलालाई ठिक नहुन सक्छ । किनभने ठूलाले सजिलै गर्न सक्दैनन् । कोहीलाई ढाड दुख्न सक्छ । कोहीलाई कम्मरको समस्या हुन सक्छ । कसैलाई पाठेघरको समस्या हुन सक्छ । क्यान्डिल बनाउने स्टेप बच्चालाई सजिलो हुन्छ । निहुरिने, दौडने बच्चाले सजिलै गर्छन् । ठूलाले यही गर्न अफ्ठेरो हुन सक्छ ।’

गीत अनुसार, बालबालिकाको कला टिप्न सक्ने क्षमताको आधारमा स्टेप सिकाइन्छ । जान्नेलाई कम बिटको स्टेप दिइन्छ । नजान्ने र सिक्ने क्षमता कमजोर भएकालाई बढी विटको स्टेप दिइन्छ । बिट भनेको ताल हो । टिङटिङ गर्दा के गर्ने ? टुडुक गर्दा के गर्ने भनेर सिकाउनु नै बिट हो । बढी बिट दिंदा छोटो स्टेप हुन्छ, कम बिट दिंदा लामो लामो स्टेप हुन्छ ।

‘सामान्यतया बालबालिकालाई १६र८ बिट दिइन्छ,’ केसी भन्छन् ।

नृत्यसँग संगितको सम्बन्ध हुन्छ । शब्दको सम्बन्ध हुन्छ । जुन किसिमको धुन छ, त्यही अुनसारको नाच हुन्छ । संगीतको भाव अनुसार स्टेप सिकाइन्छ । कोरियोग्राफी गरिन्छ । शब्दले के भनेको छ ? त्यो पनि विचार गरिन्छ ।
संगित नसुन्नेले पनि नृत्य गर्न सक्दा रहेछन् । गोरखामा मनकामना बहिरा विद्यालय छ । त्यहाँ बहिरा विद्यार्थीको क्रियाकलपा हेर्न गइरहन्थे म गोरखा बस्दा । जस्तो गीतमा पनि उनीहरु नाचीदिन्थे । गीत बजेको हुन्थ्यो । हामी गीत सुन्थ्यौं । नसुन्नेहरु स्टेप मिलाएर नाच्थे । गीत शुरु हुँदा नाच्न शुरु गर्थे । गीत अन्त्य हुँदा नाच पनि टुंग्याउँथे ।

‘कवितामा, कथामा नाच्न सकिन्छ । समाचारमा पनि नाच्न सकिन्छ,’ केसी भन्छन्, ‘शब्दलाई महशुश गरेर जुनकिसिमले मुभमेन्ट हुन्छ, त्यो नै नृत्य हो । यो श्रृजनात्मक किसिमले गरिने शरिरको चाल हो ।’

आधुनिक, हिपहप, साल्सामा कोरियोग्राफी र स्टेप हुन्छन् । लोकनृत्य र सांस्कृतिक नृत्यमा पनि हल्का कोरियोग्राफी र स्टेप दिन सकिन्छ । तर धेरै चलाउन मिल्दैन । किनभने यस्ता नृत्यको आफ्नै नियम हुन्छ । गुरुङ मगर समूदायमा प्रचलित घाटु नृत्य चलाउनै मिल्दैन । यसको आफ्नै तरिका छन् । कात्तिक नाचको आफ्नै विधि छ । पच्यु, शेर्का, बालन, भजन जस्ता नृत्यका परम्परादेखि नै विधि निर्धारण भएका छन् । त्यसलाई विगार्न मिल्दैन । जस्तै घाटु हात, खुट्टाको ताल, कम्मर मिलाएर नाचिन्छ । ताल मिलाउदै उठ्ने, वस्ने र सुत्ने तरिका हुन्छ । मारुनी नृत्यको पनि आफ्नै स्टेप छ ।

‘हात चलाउने, खुट्टा चलाउने तरिका हामीले बिर्गान मिल्दैन,’ केसी भन्छन् ।

अब अभिभावक आफ्ना छोराछोरीलाई संगित स्कुल पठाउन थालेका छन् । नीजी स्कुलले संगित, नृत्य शिक्षक राख्न थालेका छन् । गित, संगितलाई हेर्ने दृष्टिकोण बदलिंदै गएको छ । कोही समय थियो, क्षेत्री बाहुनले गाउनु हुँदैन भन्थे । संगित बजाउने काम दर्जिको हुन्थ्यो । अब मान्यता फेरिएको छ । लुकिचोरी गाउनु पर्ने बाध्यता थियो । त्यो हराएको छ ।
गित संगितमा लाग्ने बिग्रेको मान्छे भन्थे । छोरी, बुहारीले नाच्न हुँदैन भन्थे खासगरी क्षेत्री बाहुन समूदायमा । नाच्न तिजै कुर्नु पथ्र्याे । पुरुषले नाच्न सत्यनारायण पुजा नै पर्खनु पथ्र्याे । नाच्न हुँदैन भन्ने समयमा पनि मनोरञ्जन गर्ने माध्यम चाहिं नृत्य नै थिए । गीत संगीतै थिए ।
नृत्य मनोरन्जन मात्रै होइन, यो थेरापी पनि हो । समाज परिवर्तन गर्ने तागत छ गित संगितमा । किनभने गित संगितले मानसिक स्वास्थ्य राम्रो बनाउँछ । नाच्दा आनन्द आउने नै भयो, हेर्दा पनि उत्तिकै आनन्द लिन सकिन्छ । लय मिलेको गीत होस्, सुर ताल मिलेको संगीत होस । यसमा मुग्ध नुहने कमै होलान् । गीत संगीतको धुनमा पशुले समेत आनन्द लिइरहेको हुन्छ भन्ने भनाइ छ । गीत संगीत, नृत्यभित्र केही कथा लुेकेको हुन्छ । त्यो कथा आफूले महशुश गर्नु पर्छ । माया, प्रेम, देशभक्ति, इश्वरभक्ति सद्भाव जस्ता तत्व पाइन्छ गीतमा । त्यसले साना, ठूला सबैमा खुशी ल्याउँछ । खुशीले मन शान्त बनाउँछ । शान्त भएपछि मनमा आनन्द आउँछ । आनन्द मनले काममा उर्जा थप्छ ।

(न्यौपानेको पुस्तक ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ को अंश)

सम्बन्धित समाचार