ओलीको भद्रगोल शासन

August 6, 2019

न्हुच्छे नारायण डंगोल-

हिजोको अलकापुरी कान्तिपुरी नगरी आजधुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीको परिचय बन्दै गएको छ । काठमाडौं सहर पछिल्लो समय झनै अव्यवस्थित बनेको छ । पानी पर्र्दा िहलो, घाम लाग्दा धुलो र अलि बढी पानी परे डुबान नै हुने समस्याले आक्रान्त बनेको छ यो सहर । असारको अन्त्यमा दुई दिन के अलि ठूलो पानी परेको थियो, डुबानमा पर्‍यो काठमाडौँ ।

मापदण्ड मिचेर खोला छेउछाउ बनेका संरचना, ज्यानै लाने एम्बुस सडक, भद्रगोल फुटपाथदेखि लथालिंग लत्रिएका तारले काठमाडौंको अव्यवस्थित रूपलाई देखाउँछ । ठाउँठाउँमा थुप्रिएको फोहोरको डंगुर, दुर्र्गिन्धत सार्वजनिक शौचालय, नदेखिने जेब्राक्रसिङ र असुरक्षित अकासे पुलले अव्यवस्थित देखाएको छ नै, साथै जथाभावी सवारी पार्किङ, यत्रतत्र टाँगिएका होर्डिङ बोर्ड र ट्राफिक जामले त काठमाडौंलाई अस्तव्यस्त नै बनाइदिएको छ ।

त्यसो त कुनै पनि विकास निर्माण गर्दा योजनाबद्ध हिसाबले काम गरिएको छैन, जसले पनि सहरलाई दिनप्रतिदिन अस्तव्यस्त र कुरूप बनाइरहेको छ । विकास निर्माणका काम गर्दा खानेपानी, ढल, सडक, विद्युत् प्राधिकरणलगायत निकायबीच समन्वय नहुनु एउटा मुख्य समस्या रहँदै आएको हो । यसले गर्दा विकासका संरचनाले दिगो रूप त लिन सकेनन् नै, सहर पनि भद्रगोल बन्दै गयो । विभिन्न ठाउँमा विभिन्न निकायले गरिरहेका यस्ता निर्माण कार्य उपत्यका सहरी विकास प्राधिकरणले समन्वय गर्नेतर्फ ध्यान दिएमात्र पनि केही हदसम्म समस्याको समाधान हुने थियो ।

समय क्रमसँगै मानिसको जीवनशैलीमा सुविधा थपिँदै जानुपर्नेमा अहिले काठमाडौंमा कष्ट थपिँदै गएको देखिन्छ । पहिले बस्ती बसाल्ने त्यसपछि मात्र बाटो, ढल र खानेपानीको विषयमा सोचविचार गर्ने हाम्रो जुन शैली छ, त्यसले पनि यो सहरलाई भद्रगोल र अस्तव्यस्त बनाउँदै लगेको हो ।

दुई दशकअघिको काठमाडौंको कुरा अहिले मिथक जस्तो लाग्ने भइसकेको छ । उतिबेला काठमाडौं उपत्यकामा जुन हिसाबले हरियाली र फराकिला सडक देखिन्थे । अहिले जनसंख्या र सवारीसाधनको चापले ती सडक अत्यन्तै साँघुरा देखिन्छन् । हरियाली र ढुंगेधाराको पानी त एकादेशको कथाजस्तो लाग्छ । उतिबेला सफा खोला बग्थ्यो भने अहिले ती खोला ढलमा परिणत भएका छन् ।

उपत्यकामा पहिला प्रशस्त खुला ठाउँ थियो, जसले गर्दा पानीजमिनमा सजिलैसँग सोसिन्थ्यो । तर अहिले खाली ठाउँ नहुँदा पानी जमिनमा सोसिन सकेको छैन । त्यसैले त अलि ठूलो पानी पर्ने बित्तिकै काठमाडौंमा डुबानको समस्या देखिन्छ । अहिले वर्षाको पानी सोसिने स्थान नभएकाले ढलको पानीभन्दा वर्षाको पानी धेरै हुन्छ र ढलको पाइपले त्यो पानीथेग्न सक्दैन । यसले पनि काठमाडौंमा डुबानको समस्या देखिने गरेको हो । यो अवस्थामा ढल र वर्षाको भेल बगाउन छुट्टाछुट्टै पाइप राख्नुपर्ने अवस्था आइसकेको छ ।

सहर त्यो हो, जहाँ वातावरण सुन्दर होस् र बस्दा पनि आनन्द अनुभव होस् । प्रशस्त खुला ठाउँ, पार्क, बगैंचा, रहनसहन, कला, संस्कृति र मान्छेलाई आवश्यक पर्ने सबै सुविधा भयो भनेमात्रै त्यो स्थान व्यवस्थित सहर हुनसक्छ । त्यसमाथि शिक्षा, स्वास्थ्य र रोजगारको अवसर उत्तिकै हुनुपर्छ । सहरलाई व्यवस्थित र सभ्य बनाउन पर्याप्त पूर्वाधार, व्यवस्थित सडक, ढल निकास, पर्याप्त खानेपानी, फोहोरमैला व्यवस्थापन, व्यवस्थित फुटपाथ, साइकल ट्रयाक, सडकका पेटीमा बस्ने ठाउँ, छहारीजस्ता कुरा छुट्न हुँदैन । त्यसैले पनि प्राकृतिक स्रोत र साधनको संरक्षण गर्दै आधुनिक बस्ती निर्माणमा ध्यान दिनुपर्छ ।

काठमाडौं सहरलाई आधुनिकता र ऐतिहासिकता दुबै चाहिएको छ । यो अवस्थामा ऐतिहासिकताको संरक्षण गर्दै आधुनिकतामा जानुपर्ने हो । तर हामीले सहर निर्माण गर्दा ऐतिहासिकतालाई भुलेका छौं भने आधुनिकताको नाममा सहरलाई भद्दा र कुरूप बनाइरहेका छौं । सहर व्यवस्थापनमा सरकार नराम्ररी चुकेको छ । यसमा हरेक नागरिकले आफ्नो कर्तव्य सम्झिन जरुरी छ । आफूमात्र राम्रो नभई टोल, समाज, सहर र देश पनि राम्रो बनाउनेतर्फ ध्यान दिन आवश्यक छ । सहर व्यवस्थापनका लागि मापदण्ड बनाउने मात्रै होइन, त्यसको कार्यान्वयन पनि महत्वपूर्ण विषय हो । सहरी व्यवस्थापनका लागि सरकारले बनाएको मापदण्ड नेताको भाषण र कागजमा सीमित छ । त्यसैले पनि कानुन पालना गराउने संयन्त्र बलियो बनाउन जरुरी छ ।

माथिको यो तथ्यले काठमाडौँ कति बिग्रिएछ भन्ने स्पष्ट हुन्छ । दुई तिहाइको संघीय सरकार हुँदाको संघीय राजधानीको अवस्था यस्तो छ भने राजधानीबाहिरको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । दुुई तिहाइको ओली सरकारले भाषण र कुरा मात्र गर्‍यो काम गरेन जसले गर्दा संघीय राजधानी काठमाडौँलगायत सारा मुलुक नै अस्तव्यस्त बन्न पुगेको छ ।

मुलुक बनाउने सोच नेताहरुमा देखिएन । जसरी हुन्छ मुलुक लुट्ने, उच्चतहमा सबै आफ्ना मान्छेलाई भर्ति गर्ने, पद आगोट्ने र कमाउनेबाहेक देश र जनताका लागि काम गर्नुपर्छ भन्ने कुरा सोच्न पनि छाडिसके नेताले । सत्तासीनहरु घुम्ने कुर्चीमाथिको अन्धो मान्छे बने । देश र जनताका लागि काम गर्नुपर्छ भन्ने आदर्शबाट च्युत भएका वर्तमान सत्ताधारीहरु भागबण्डाको राजनीतिमै केन्द्रित भएका छन् ।
हिंसा गरेर आएका ओली र प्रचण्ड दुवैको केमिस्ट्री मिलेको छ । प्रधनमन्त्री पनि बाँडफाँड गर्ने, पार्टी अध्यक्ष पनि बाँडफाँड गरेर चलाउने भन्दै मिलेका दुवैले देश र जनतालाई धोकादिए । जनताले रोजगारी, गास, बास, कपास पाएका छैनन् । ओली प्रचण्डहरुले मस्ती गरिरेहका छन्् । संघीय लोकतान्त्रिक गणतन्त्रको नाममा वह्मलुट गरिरहेका उनीहरुले देशकै बेइज्जत गरिरहेका छन् ।

नियमकानुन अनुसार देश चलाउन नसकेको ओली सरकारकै कारण मुलुक इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । मुलुकको राष्ट्रिय, अन्तर्राष्ट्रिय छवि, मान र प्रतिष्ठा गुमेको छ । अर्थतन्त्र तहस नहस अवस्थामा पुगेको छ । उद्योग धन्धा कलकारखाना बन्द छन् । रोजगारीको अवसर सिर्जना गर्न सरकार विफल भएको छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी काँग्रेसले देश र जनताका लागि सशक्त भूमिका खेल्नुपर्ने हो त्यो गर्न सकेन जसले गर्दा ओली सरकार असनको साँढेजस्तै बनेको छ ।

अतःअहिलेको व्यवस्था नेतालाई ठगी खाने भाँडोबाहेक केही बन्न सकेन । अब नेपाल बचाउने हो भने नयाँ विकल्प खोज्नै पर्छ । सीमित नेताहरुले लुट्ने अहिलेको परिपाटी अन्त्य हुनैपर्छ । त्यसका लागि अब जनताले नै आन्दोलन गर्नुपर्ने बेला आएको छ । जनता चुप लागेर बस्ने हो भने भोलि राजधानी काठमाडौँको मात्र होइन मुलु्ककै अस्तित्व समाप्त हुने खतरा देखिएको छ ।