मैले भोगेको आइजिपी डिबी लामा

September 3, 2017

आनन्द पुरी

२०४२ साल असार ६ गते । अचानक राजदरबारको दक्षिणद्वार, राष्ट्रिय पञ्चायत सिंहदरबार, अन्नपूर्ण होटल आदि ठाउँमा बम पड्कियो । अन्नपूर्ण होटेलको काउन्टरमा बसेकी महिलाको शव सिलिङ्मा क्षतविक्षत रूपमा झुन्डियो । बल्ल पछि थाहा लाग्यो, त्यो बम रामराजाप्रसाद सिंहले पड्काइएको रहेछ । यो घटनासँगै अब देशको कुनै पनि सम्भावित घटना अगाडि होइन, घटना भइसकेपछि मात्र प्रहरीले थाहा पाउने हुँदै गयो । त्यसरी देशद्रोहमा सक्रिय रामराजाप्रसाद सिंहलाई लोकतान्त्रिक सरकारले राष्ट्रिय सम्मानका साथ दाहसंस्कार ग¥यो । तर, आदर्शवादी, इमान्दार, देशभक्त प्रधानमन्त्री मरिचमान सिंहको दाहसंस्कार गर्दा साधारण सम्मानसमेत दिइएन । उहाँको नाजुक स्थितिमा समेत सरकारले कुनै वास्ता राखेन । यो समस्त जनतालाई आश्चर्य लागेको कुरा हो ।

यो मुलुकलाई सतीले उल्टो सराप दिएर गइछन्, राम्रो काम गर्नेको फलिफाप नहोस् भनेर । त्यसको परिणाम यहाँ पनि झल्किन पुग्यो । २०४१ सालमा सानो नेसनल क्यामरा, रेकर्डिङ डेक र भीएचएस क्यासेटको सहायतामा रामराजाप्रसाद सिंहका ध्वंसात्मक क्रियाकलापका चित्रणहरू खिचिएका थिए । त्यस चित्रमा के कसरी भयो, अब हुने क्रियाकलापलाई कसरी नियन्त्रण गर्ने लगायतका पक्षमा प्रहरीको भूमिकालाई लिएर डकुमेन्ट्री बनाइयो । त्यसको उदघोषण र निर्देशन गर्ने जिम्मा मलाई दिइएको थियो ।

त्यो डकुमेन्ट्री बनाइसक्दा मेरो सर्भाइकल दुख्न थाल्यो । अस्पताल गएर फर्किएको मात्रै थिएँ, आईजीपी साब डीबी लामाले पुलिस क्लबमा बोलाउनुभएको खबर आयो । म हतार–हतार क्लब पुगें । उपत्यकाका सम्पूर्ण उच्च अधिकृतहरू सबैलाई भेला गराई बमकाण्डबारे सोधपुछ सुरु भयो । उहाँले भन्नुभयो, ‘कसरी यो बम पड्कियो ? किन शान्ति सुरक्षामा आँच आयो ? राजदरबारमा समेत यस्तो हुनु प्रहरीको कहाँसम्मको लाचारीपना हो ?’

म हलभित्र छिर्नासाथ एक्कासि बाघले झम्टेझैँ गरी भन्नुभयो, ‘कहाँ मरेको थिइस् ? मेरो आदेशको खबर पाइनस् ?’

विनम्रतापूर्वक उत्तर दिएँ, ‘जित साबको फोन आएपछि म अप्रेसन रुममा बिहान ६ बजेदेखि नै उहाँसँग बसेर रामराजाप्रसाद सिंहका कर्तुत, सबै ठाउँका भिडियो चित्रण बनाई त्यसमा स्वर डबिङ् गरी तयार पारेँ । सञ्चो नभएकाले अस्पताल पुगेर उपचार गरी हतारहतार खाना खाई हाजिर भएको हुँ साब ।’

आईजीपी साबले अन्य अधिकृतहरूप्रति मुखाकृत गर्दै भन्नुभयो, ‘देख्यौ, कस्तो बहाना बनाउँछ यो गधाले ! झुट बोल्छस् ?’ उहाँले उल्टो गाली दिन थाल्नुभयो ।

मैले भनेँ, ‘हजुर त्यो टि.भी खोल्दा हुन्छ, त्यस घटनाक्रमबारे जानकारी प्रसारण हुँदैछ । त्यो चित्र विवरणमा मेरो आवाज आइरहेको छ । आज बिहान हामीले बनाएका हौँ । जित साबलाई सोधे भैहाल्यो नि म कहाँ थिएँ भनेर ? के गरेर बसेको थिएँ भन्ने कुरा थाहा भइहाल्छ नि ।’

फेरि आवेशमा आउनुभयो, ‘सब झुट हो । यसलाई स्पष्टीकरण सोधेर कारबाही गर्नू । त्यो देउतालाई छोएर भन् । साँचो कुरा बता ।’

म त झन् धर्मको अनुयायी । त्यसमाथि देउता समातेर आफ्नो सफाइ व्यक्त गर्न पाउँदा अन्तरआत्मामा केही सन्तोष भयो । मैले सबले सुन्ने गरी भनेँ, ‘यो कुरा साँचो हो । झुटो बोलेको भए मलाई नास गरून् । अन्यथा सरलाई….,’ मैले उहाँलाई समेत के–के कसम खान थालेपछि उहाँको सातो उडेछ ।

रिसले चुर हँुदै भन्नुभयो, ‘ए… यो सालेले… मलाई पो… ?…. हँ ल भोलि नै यसलाई हुम्ला पठाइदिनू । यसको अनुहार पनि हेर्न चाहन्नँ ।’

मलाई पनि पारा चढ्यो र भनेँ, ‘श्रीमान् मलाई हुम्ला पठाउनु पर्दैन । यहाँले धेरै बफादार प्रहरीलाई अवमूल्यन गरी पदबाट हटाइसक्नुभएको छ । म राजीनामा दिनेछु । स्वीकृत होस, यो प्रहरीको नोकरी तपाईंको पेवा रहेछ । जागिरमा नबस्ने मेरो निर्णय भइसकेको छ, यहाँले खुसीपूर्वक स्वीकृत गरिदिए हुन्छ ।’

मैले यति भनेपछि उहाँले अट्टाहासपूर्वक व्यङ्ग्यात्मक भावमा भन्नुभयो, ‘स्याबास् स्याबास् । मैले यस्तै मान्छेहरू खोजेको । ल यसको राजीनामा लिनू । तँ गइहाल् ।’

आईजीपी साबको जुनियर अधिकृतहरूप्रतिको आक्रोश र निर्देशन पनि त्यसै समाप्त भयो । सबै अधिकृतहरू गुनगुन गर्दै भन्न थाले, ‘हामी सबैले मार गाली खाइरहेको बेलामा कहाँ तपाईं आइपुगेको ?’

‘बोलाएपछि आउनु परेन ?’ मैले भनें ।

उनीहरूले भने, ‘तपाईं फस्नुभयो, हामी बच्यौँ ।’

मलाई सम्बन्धित इन्सपेक्टरले तुरुन्त राजीनामा लेखेर दिन भने ।

मैले भनें, ‘के भनेर लेख्ने ? यस्तो जबर्जस्तीपूर्वक राजिनामा दिन लगाएको भनेर सबै कुरा लेखेर दिऊँ ?’

‘त्यसरी त आईजीपी साबलाई अप्ठ्यारो परिहाल्छ नि । घरायसी, स्वास्थ्य र अनुकूलताले भनेर लेख्नोस् न,’ उनले सुझाए ।

‘अरे बाबा ! तपाईंहरू सबैले देख्दादेख्दै मैलँ त्यस्तो कुरा कसरी लेख्ने ? आफूलाई बाधा पर्छ भने आईजीपी साबले बुझ्नुपर्छ । सत्य–तथ्य नबुझी त्यसै बाघले झैं झम्टेरमात्र हुन्छ ? मलाई थाहा छैन झुठो व्यहोरा लेख्ने तरिका । तिमीले नै लेख्नू, जे लेख्नुपर्छ । म दस्तखत गरिदिन्छु,’ म कड्किएँ ।

अनि उनले कसलाई लेखाएर ल्याए, थाहा पाइनँ । राजीनामा पत्र ल्याउँदै दस्तखत गर्न आग्रह गरे । म पनि के कम, दस्तखत गरिदिएँ । तर, त्यसलाई प्रक्रिया पु¥याउन कम्तिमा दुई अधिकृतको दस्तखत पनि चाहिँदो रहेछ । ती इन्सपेक्टरले धेरै अधिकृतलाई अनुरोध गरे । यस्तो जबर्जस्तीमा पनि साक्षी नबस्ने भनेर कसैले मानेनन् ।
तर, दुई जना (एसपी) साक्षी भेटिए । उनीहरूले दस्तखत गरे । उनीहरू आईजीपी साबका प्रिय थिए ।
मैले उहाँहरूलाई भनें, ‘तपाईंहरू साक्षी बस्नुभएको हो ?’

‘हो,’ उनीहरुले बडो अभिमानपूर्वक जवाफ दिए ।

मैले भनें, ‘तपाईंहरूको सेवा अवधि पनि चाँडै समाप्त हुन्छ अब ।’

उनीहरूले बडो आश्चर्यपूर्वक हेर्दै सोधे, ‘के भन्नुभएको ?’

‘ठिक भन्दै छु । मेरो एउटा पवित्र आत्मामा कुठाराघात भएको छ । त्यसको सजाय त ईश्वरले दिन्छन् ।’

मनभरि अनेकौं कुरा खेलाउँदै घर पुगेँ । एक मनले अलिकति निराश पनि भएँ । निराश भएर त्यो रात कटाएँ ।

१०–१५ दिन बिते । अफिस जाने त कुरै भएन । राजीनामा दिएको, के गर्न जाने अफिस ? बडो असमञ्जस्यताका साथ अर्को विकल्पबारे सोच्न थालेँ । कुनै व्यवसाय पो गरूँ या कहीँ अर्कै ठाउँमा काम गरूँ भन्ने दोधारमा परें । यस्तै तर्क–वितर्कमा दिनहरू बिते । एकदिन अचानक फोन आयो, ‘अफिस हाजिर भई यथावत् कामकाज गर्नू ।’

झनै दोधारमा परेँ । मन अन्तद्र्वन्द्वमा फस्यो । शाखा पुगेँ, सबै अफिसर, जवानले हर्षोउल्लासका साथ स्वागत गरे । पहिलेजस्तै इमानदार भएर आफ्नो काम गर्दै गएँ ।

पछि थाहा भयो– मेरो राजीनामा गृह मन्त्रालय पुगेर फर्किएछ । शाखाका लागि उपयुक्त इन्सपेक्टर नभएको, धेरै अधिकृत, जवानले सेवा कटौतीमा परी अवकाश पाएको आदि जस्ता कारणले गृह मन्त्रालय आजित र थकित भएको रहेछ । गृहसचिवले आईजीपी साबलाई पत्र पठाएछ, ‘निज प्रहरी निरीक्षकलाई यो निवेदनका साथ पठाएमा कारबाही गर्न सुगम र सरल हुने हुँदा हाल उहाँको राजीनामा फिर्ता पठाइएको छ ।’
निवेदकलाई समेत उपस्थित गराउने वाक्यांशले आईजीपी साबलाई बडो चोट पुगेछ । अनि अक्रोशले राजीनामा पत्र नै च्यातेर काममा लगाउन आदेश दिनुभएको रहेछ ।
आईजीपी डीबी लामा साब बडो अचम्मको विवेकशून्य झैं लाग्नुहुन्थ्यो । रचनात्मक कार्य र प्रहरी सेवामा काम नभएको भन्न पनि नमिल्ने स्थिति थियो । उहाँले प्रहरी कर्मचारीका सन्ततीलाई गुणस्तरीय शिक्षा सहुलियत शुल्कमा प्रदान गर्न साँगामा दीपेन्द्र प्रहरी विद्यालय खोल्नुभयो । सो विद्यालय बनाउँदा प्रत्येक तलाका ढलान गराउने कार्यमा उच्चपदस्थ प्रहरी अधिकृतहरूलाई समेत संलग्न गराई रोडा, गिट्टी, बालुवा र ढलान मसला ओसार्ने काममा लगाउनुभएको थियो ।
प्रहरीलाई सुगम र सरल तरिकाबाट उपचार पुगोस् भन्ने उद्देश्यले महाराजगन्जमा वीरेन्द्र प्रहरी अस्पताल निर्माण गराई राजाबाटै उदघाटन गराउनुभएको थियो । अस्पताल र स्कुल बनाउने योजना पूर्वआईजीपी साबहरूबाट भए पनि कार्यान्वयनको पक्षमा लामा साबले उदाहरणीय काम गर्नुभएको थियो । उहाँ राम्रो÷नराम्रो पक्ष नहेरी जे काम पनि साहसपूर्वक गर्नुहुन्थ्यो ।
उहाँले धीरेन्द्र सरकारमार्फत राजालाई पनि राम्ररी रिझाउनुभएको थियो । किनभने, उहाँले जवान महिला प्रहरीलाई माध्यम बनाएर सरल र सुगमताका साथ आफ्नो सम्पूर्ण कार्य सम्पादन गर्न सक्षम हुनुहुन्थ्यो । त्यसका अतिरिक्त उहाँमा शिक्षाको प्राचूर्यता ज्यादै कम थियो, जसले गर्दा आफ्नो विवेकभन्दा अरुको कुरामा हुत्तिन रत्तिभर हिच्किचाउनु हुँदैनथ्यो । यसका कारण धेरै अधिकृतले सेवाबाट हात धुनु परेको थियो । कुनै रचनात्मक काम गर्दा पनि अरूकै सुझाव र विश्वासमा गर्नुहुन्थ्यो ।
लामा साब बडो रसिक पनि हो तर ज्यादै क्रुर, निर्दयी र हृदयहीन जस्तो आभास पनि हुन्थ्यो । हुन त आईजीपी खड्गजित बराल साब पनि अति क्रोधी र जे पायो त्यही भन्ने हो तर उहाँको अन्तर हृदयमा दयाभाव पनि थियो ।

एकदिन गजबको समाचार सुन्न पाइयो । मेरो राजीनामा पत्रमा बडो घमण्डका साथ साक्षी बस्ने दुई एसपी साबहरू भ्रष्टचार हो कि के कुन्नि के काण्डमा परी सेवामुक्त भएको खबर पाएँ । मेरा अन्तरमनमा ईश्वरप्रतिको आस्था र विश्वास अरू बढी जागृत भयो । चाप्लुुसीमा रम्ने अनि अरूको कुभलो चिताउनेहरूको यति छिट्टै बर्बादीको समाचार सुन्नु मेरा लागि कम रोचक थिएन । अहिले पनि बाटोमा कहिलेकाहीँ मेरो सन्मुख हुँदा उनीहरू नतमस्तक भएर झुक्छन् र कुकुरझैं लुसुक्क पर्छन् । मेरो आँखामा त परै जाओस् मुखमा पनि हेर्न नसकी निहुरेर हिँड्नु परेको छ । मानव जीवनमा आफूले गरेको राम्रो÷नराम्रो कर्मको फल अरू कसैले नभोगी आफँैले भोग्नुपर्छ भन्ने बूढापाकाको भनाइ र शास्त्रोक्ति सत्य रहेछ भन्ने लाग्छ ।

–हालै प्रकाशित पुरीको पुस्तक ९ आइजिपीसँगका अनुभुतिबाट

पुरी रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारित प्रहरी अनुरोध कार्यक्रमका प्रस्तोता थिए । किताबमा अाइजिपी नियुक्ती प्रकरणमा बढेको चलखेल र पुरीले भोगेका नाै अाइजिपीबारे उनको धारणा प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचार