राजदूत कार्कीले डम्फु बजाउँदै उद्घाटन गरे नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव [भिडियो]

June 29, 2019

ङिमा पाख्रिन/एभरेस्ट टाइम्स

नेपाल – अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव – २०१९ आजदेखि अमेरिकाको राजधानी वासिङ्टन डिसी महानगर क्षेत्रको सिल्भर स्प्रिङमा शुरु भएको छ ।

शनिबार साँझ लाखे नाच र मञ्जुश्री नाचले सहभागीलाई स्वागत गरियो ।

त्यससँग कार्यक्रममा सहभागी हुन आइपुगेका अतिथिहरुले मन्तव्य राखे।

प्रमुख अतिथिका रुपमा उपस्थित अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले डम्फु बजाएर महोत्सव शुरु भएको जनाउ दिए ।

महोत्सव उद्घाटन गर्दै कार्कीले सबैलाई बधाई दिए र फिल्म सांस्कृतिक कुटनीति भएको बताए । राजदूत कार्कीले भने, ‘सहभागी सबैलाई बधाई । नेपाली फिल्ममेकर र कलाकारलाई स्वागत । यो हाम्रो संस्कृति पनि हो । फिल्म कल्चलर डिप्लोमेसी हो ।’

लगानीकर्ताको उत्साह जगाउन उपस्थित भएकोमा कार्कीले सबैलाई धन्यवादसमेत दिए । ‘यहाँहरुलाई महत्वपूर्ण समय निकालेर नेपालको सिनेमाको प्रवर्द्धन गर्नको निम्ति लगानीकर्ताको उत्साह जगाउन यहाँ उपस्थति हुनुभएकोमा धेरै धन्यवाद । यहाँहरुको महत्वपूर्ण योगदानको निम्ति बधाई । सीमित स्रोतसाधनबाट कठिन परिश्रम गरेर आफ्नो परम्परा र संस्कृतिलाई प्रबर्द्धन गर्न योगदान दिएकोमा धन्यवादको पात्र बन्नुभएको छ,’ राजदूत कार्कीले भने ।

अनररी काउन्सिल जेनेरल प्रेमराजा महतले कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गर्दै शुभकामना दिएर मन्तव्य छोट्याए । ‘कार्यक्रम सफलताको शुभकामना। यो कार्यक्रम भएकोमा धेरै खुसी लागेको छ,’ महतले भने ।

मेरील्यान्ड फिल्म अफिसका निर्देशक ज्याक गेर्वेसले सबैलाई स्वागत गर्दै मिलेर काम गर्ने इच्छा जाहेर गरे । निर्देशक गेर्वेसले भने, ‘हामी फिल्म निर्माताहरुलाई मेरील्यान्डमा स्वागत गर्दछौ । यो महोत्सवले नेपाली प्रतिभाशाली नेपाली फिल्मकर्मीहरुसँग कुरा गर्ने अवसर दिएको छ । हामी सँगै मिलेर काम गर्न चहान्छौ । कार्यक्रम सफलताको शुभकामना ।’

एनआरएनका उपाध्यक्ष कृष्णजीबी पन्तले महोत्सव फिल्म हेर्नमात्र नभई संस्कृति झल्काउने पर्व भएको बताए । पन्तले भने, ‘चलचित्रमा रहेका साथीहरुलाई एकै ठाउँमा उभ्याउने मञ्च प्राप्त भएको छ। यो गौरवको विषय हो । हामीले आफ्नो कमीकमजोरी पनि छन् । यसलाई करेक्सन पनि गर्दै लानुपर्छ । यो फिल्मका लागि मात्र हैन । नेपालीपन झल्काउन र नेपाली संस्कृति झल्काउन पनि हो ।’

मेरील्यान्ड राज्यको माउनगोमेरी काउन्टी काउन्सिलमा डिस्ट्रिक ५ को प्रतिनिधित्व गर्ने काउन्सिलम्यान टम हकरले डायस्पोरामा नेपाली चलचित्र प्रदर्शनी हुनु खसीको विषय भएको बताए । ‘माउन्टगोमेरी काउन्टीमा धेरै नेपाली मूलका बासिन्दाहरु बसोबास गर्दछन् । त्यो हाम्रो लागि गौरवको कुरा हो । नेपाली डायसपोरामा यसरी नेपाली चलचित्र प्रदर्शनी गर्नु निश्चय नै खुशीको कुरा हो । यसले माउन्टगोमेरीमा बसोबास गर्ने बहुसाँस्कृतिक र बहुभाषिक समुदायलाई जोड्ने काम गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ काउन्सिलम्यान हकरले भने । कार्यक्रमस्थल सिल्भर स्प्रिङ डिस्ट्रिक्ट ५ भित्र पर्दछ ।

कार्यक्रम उद्घाटन सत्रमा महोत्सव निर्देशक रसाइलीले स्वागत गरेका थिए भने कार्यक्रम कृतना बास्तोलाले सञ्चालन गरेकी थिइन् ।

महोत्सवमा नेपाली पानोरामाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनेका नेपाली तथा विदेशी निर्देशकका चलचित्र देखाइने छ भने अन्तर्राष्ट्रिय पानोरामा अन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, एनिमेसनका सबै विधका चलचित्र देखाइने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए ।

विनोद पौडेलद्वारा निर्देशित चलचचित्र ‘बुलबुल’ प्रिमियर भएको  महोत्सवमा ३४ फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ ।  तीन दिनसम्म चल्ने फेस्टिभल प्रविन सेङ्बोद्धारा निर्देशित ‘कथा ७२’ को विषेश प्रदर्शनसँगै समापन गरिनेछ ।

महोत्सवका मानार्थ अध्यक्ष नवीन सुब्बाले नेपाली समाजलाई महोत्सवले कसरी जोड्ने भन्ने विषयमा छलफल गर्नेछन् ।

नेपाल अमेरिका फिल्म सोसाइटीद्वारा आयोजित महोत्सवमा नेपालका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त निर्देशक मिनबहादुर भाम जुरी प्रमुख रहेका छन् भने ‘ल जोला फेसन फिल्म फेस्टिभलकी रेबेका बुस्टामिना र एमी अवार्ड विजेता समेत लेखक तथा निर्मात्री मिमि मचाडो लुसेस् रहेकी छन् ।

महोत्सवको रेड कार्पेटमा चलचित्रकर्मी, चलचित्र पारखी, दर्शक तथा विभिन्न संघसस्थाको व्यक्तित्वका लागि मुख्य आकर्षण बन्यो ।

महोत्सवमा उत्कृष्ट चलचित्रहरुलाई अवार्ड तथा सम्मानसमेत प्रदान गरिनेछ ।

सम्बन्धित समाचार