१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेस सभापति देउवा साताव्यापी जिल्ला भ्रमणमा जाँदै


२२ फाल्गुन २०७५, बुधबार  

0
Shares

काठमाडौँ : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन छदिने जिल्ला भ्रमण जाने भएका छन् । काङ्ग्रेस केन्द्रीय कार्यालयले पार्टी सभापति देउवा प्रदेश नं १ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाटका लागि जाने भ्रमण तालिका सार्वजनिक गरेको छ ।

भ्रमण तालिकाअनुसार उहाँ बिहीबार बिहान विराटनगर प्रस्थान गर्नेछन् । देउवा मोरङबाट काङ्ग्रेसका तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच छलफल कार्यक्रममा सहभागी हुनेछन् । सोही दिन मोरङबाट निर्वाचित सांसदसँग छलफल कार्यक्रममा सहभागी भई उहाँ काठमाडौँ फर्कनेछन् ।

सभापति देउवा कार्यकर्ता भेटघाट र पार्टीका कार्यक्रममा सहभागी हुन फागुन २४ गते पोखरा प्रस्थान गर्नुहुने पार्टी कार्यालयले जनाएको छ । उहाँ फागुन २५ गते बिहान पोखराबाट हेलिकप्टरद्वारा म्याग्दीको सिंहा तातोपानी प्रस्थान गरी त्यहाँबाट सडक मार्ग हुँदै बेनीबजार जाने र त्यहाँ काङ्ग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवन उद्घाटनसभालाई सम्बोधन गर्नेछन् ।

सभापति देउवा फागुन २६ गते बिहान बेनीबाट सडक मार्ग हुँदै पर्वतको जलजला गाउँपालिकाको मिलनचोक जाने र त्यहाँ काङ्ग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास गर्नेछन् । सोही दिन देउवा बाग्लुङबजार प्रस्थान गरी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

फागुन २७ गते देउवा बिहान बाग्लुङ सदरमुकामबाट पर्वतको कुश्मा जाने र काङ्ग्रेस पर्वत जिल्ला सम्मेलनलाई सम्बोधन गरी पोखरा प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यसदिन पोखरामै बस्ने र फागुन २८ गते बिहान काठमाडौँ फर्कने भ्रमण तालिका पार्टीले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ८ : २६ बजे