स्टेज पहिलो प्राथमिकता-देविका केसी, लोकदोहोरी गायिका

May 18, 2017

‘घर हाम्रो नुवाकोट’बाट लोकगायन यात्रा आरम्भ गरेकी लोकगायिका देविका केसीलाई ‘गोल्डेनको सारी’ बाट रंगमञ्चमा धेरैले चिन्न थाले । पशुपति शर्मासँगको तीज दोहोरी‘बाजी ठोकम आउ झिल्के’ले उनलाई अझै चर्चित बनायो ।
वाल्मिकी क्याम्पसबाट संस्कृतमा शास्त्रीय सकाएकी यी गायिका दोहोरीमा साहित्यको आवश्यकता हुने बताउँछिन् । एकदशक यता दोहोरीमा जमेकी गायिका केसीले १६ एल्बम बजारमा ल्याइसकेकी छिन् ।
आफुलाई प्रतिस्पर्धाबाट यस क्षेत्रमा आएकी बताउने गायिका केसी हाल गायक पशुपति शर्मासँगको दोहोरीमा पनि निकै चर्चा बटुल्दैछिन् । गायनकै सिलसिलामा उनी सन् २००९ मा अमेरिका आइपुगेकी थिइन् । अमेरिकाका १५ सहरमा गायक मिलन लामासँगै दोहोरी घन्काएर फर्केकी उनी युरोप, क्यानडा, खाडी देशहरुमा आउजाउ गरिरहन्छिन् । उनै गायिका देविका केसीसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानी :
धेरै अगाडि तपाईको स्वरमा काठे लोक गीत सुन्न पाइन्थ्यो, अहिले दोहोरीहरुमा मात्र तपाईको स्वर सुन्न पाइन्छ, यसको मतलब तपाई पश्चिमेली गीत तिरै ढल्किनुभएको हो ?
मेरो गायन यात्रा काठे गीतबाट सुरु भएको हो । ‘घर त नुवाकोट’ सुरुको गीत हो । त्यसपछि ‘गोल्डेनको साडीमा’ आयो । यो एकदमै चर्चित भयो । मलाई काठे गीत एकदमै राम्रो लाग्छ । अहिले पनि काठे गीत गाएकी छु । तर, यसको बजार सानो भएकोले काठे गीत त्यति चर्चामा नआएको हो । पश्चिमेली गीतको बजार ठुलो छ । मिडियामा पनि ठाउँ ठुलो बजार भएकोले नै पाउने रहेछ ।
‘बाजी ठोकौं आउ झिल्के, बाजी ठोकौं आउ’ तपाईको पहिलो चर्चित लोकदोहोरी, यहाँसम्म आइपुग्न कति दुःख गर्नुप¥यो ?
टर्निङ प्लाइन्ट नै यही गीत हो । संघर्ष विनाको जिन्दगी, जिन्दगी नै होइन रहेछ । दोहोरीको माहोल राम्रै थियो । म गामबेसींमा पाउँथे । सुरुमा गाउँछु भन्दा पनि हामीले कम्पनी पाउँदैनथ्यौं । नयाँ नयाँ भएकोले होला पत्याउँदैन थिए ।
हिजोआज त कम्पनी भटाभट पाइरहनुभएको छ, गीत पनि चर्चित भइरहेको छ, खुसी हुनुहुन्छ होला ?
श्रोतादर्शकहरुको मायाले अहिले यो अवस्थासम्म आइपुगेकी छु । खुसी लागिरहेको छ । हामी नेपाली, पैसो, रातो सारी, फेसबुक चल्ने मोबाईल, घुम्रेको केश राम्रो, बाजी ठोकम, गोल्डेनको साडीमा जस्ता गीतहरु चर्चामा छन् ।
तपाईं प्रायः गीतहरु पशुपति शर्मासँग गाउनुहुन्छ, यसको रहस्य केही छ कि ?
पशुपति शर्मा र म प्रतिस्पर्धाबाट आएका हौं । टुबोर्ग लोकदोहोरी प्रतियोगितामा हामी दुई जना पहिलो दोस्रोको प्रतिश्पर्धी थियौं । हामी सँगसँगै गाउन थालेका हौं । उहाँको लेखन, शब्द रचना एकदमै राम्रो छ । समय सुहाँउदो गीतहरु उहाँले रचना गर्नुहुन्छ । त्यसैले मैले अनुरोध गरेरै उहाँसँग गाउँछु । सुरुवातको दिनमा उहाँसँग गाउँदा नै मलाई फाप्यो । तर पछिल्लो समय मैले खुमन अधिकारी, रामजी खाँडसँग पनि गाएको छु । सन्दीप न्यौपानेसँग पनि गाएकी छु ।
तपाई आफु गीत लेख्नुहुन्छ कि लेख्नुहुन्न ?
एउटा गीत लेखेकी छु । नत्र लेख्ने बानी छैन ।
तपाई १२ वर्षभन्दा अगाडि यो क्षेत्रमा आउनु भयो, त्यतिबेला सामाजिक सञ्जालहरु थिएनन्, यदि भएको भए के फरक हुन्थ्यो होला ?
अहिले फेसबुक, ट्वीटर, युट्युब आएका छन् । त्यतिबेला रेडियो पनि सुन्न मुश्किल हुन्थ्यो । अहिलेजस्तो त्यतिबेला भएको भए ६ वर्ष संघर्ष गरेरै यो स्थानमा हुन्थें । १२ वर्ष दुःख गर्ने पर्थेन ।
स्टेज कार्यक्रममा विदेश पुगिरहनुहुन्छ, कतिको गाह्रो छ दोहोरी गाउन ?
म स्टेजबाटै आएकी गायिका । स्टेज नै बढी प्यारो लाग्छ । त्यसैले मेरो प्रथामिकता स्टेज नै हो । बानी परेर पनि हुन सक्छ । स्टेजमा माइक समाउने वित्तिकै दोहोरी गीत फूर्छ ।

सम्बन्धित समाचार