ब्रिटिस सेनाबाट अवकाशपछि समाजसेवामा सक्रिय छु: धिरज राई

September 5, 2019

बेलायती सेनामा १५ वर्ष सेवापछि धिरज राई यतिखेर विभिन्न संघसंस्थामा आबद्ध भई सामाजिक कार्यमा सक्रिय छन् । नेपाली समुदायको सेवामा लागिपरेका राईसँग अफगानिस्तानदेखि इराकको युद्धमा लामो संघर्ष गरेको अनुभव छ ।

एनआरएनए युकेका सल्लाहकारसमेत रहेका राई हाल पारिवारिक भ्रमणमा अमेरिकामा आइपुगेका छन् । भ्रमणको सिलसिलामा एभरेस्ट टाइम्सको प्रधान सम्पादक आङछिरिङ शेर्पाले गरेको कुराकानी:

ब्रिटिस आर्मीको यात्रा कस्तो रहयो ?
म सन् १९९९ मा १९ वर्षको उमेरमा भर्ती भएँ । निरन्तर सेवामा लाग्र्दै जाने क्रममा सन २०१३ मा मैले अवकाश पाए । बेलायती सेनाको सेवापछि अहिले चाहि परिवारसहित युकेको केन्टमा बस्छु । खोटाङमा जन्मिएर लाहुर भर्ती भए । ७ वर्ष हुन लाग्यो अब त अवकाश लिएको पनि ।

बेलायती सेनामा काम गर्दाको अनुभव कस्तो रह्यो ?
बेलयती सेनामा हामी गोर्खालीहरुको इतिहास फरक फरक छ । समय र परिस्थिति कस्तो छ त्यसमा भर पर्नेरहेछ । हाम्रो बाउबाजेको पाला फरक परिस्थिति थियो । मेरो पालामा फरक भयो । अनि अहिले अर्कै स्थिति छ । युद्ध र संसारको परिस्थितिले कता जाने निर्धारण गर्ने रहेछ । मैले चाँहि ६÷७ वटा अपरेसन टुर गरे । सुने अनुसार र कार्य अनुभवको आधारमा पहिलाको भन्द निकै भिन्न लाग्यो ।

कस्तो रह्यो ती अपरेसन टुर, के के गर्नुपर्थ्यो ?
इन्फेन्टरी हो मेरो काम । अग्रभागमा जानुपर्ने । अफगानिस्तानमा मात्र ६ चोटी पुगे । पँच चोटि चाहि एकदमै लडाइको दौरानमा हिड्नुपर्‍यो । छैटौमा चाहि सहज नै थियो । अनि इराक युद्ध अलि स्मरणीय छ । सन २००९ ताकाको स्थिति निकै कठिन थियो । इराकमा लडाई हुनुअघि तीन महिना अघिनै हामीलाई कुवेतमा लगेर राखिएको थियो । लडाई नै हुन्छ भनेर । मरुभुमिमा लगेर राखिएको थियो । आक्रमण गर्दा माथिबाट एअर सपोर्ट थियो । हामी नर्थ पोलबाट मुभ भएको थियो । त्यतिखेर आफुसँगै गएका कतिपय साथीहरुले त्यही जीवन बिसाउनु परेको क्षण निकै दुखदायी थियो । त्यो कठिन जीवन र मुत्युको दोसाँध जीवन कहिल्यै भुल्नै सक्दिनँ ।

कस्तो लाग्छ अहिले त्यो सैनिकको जीवन ?
आर्मीको सर्भिस जागीर नै त्यस्तै हो जस्तो परिस्थितिमा पनि लड्नु पर्ने र सेवा गर्नु पर्ने । त्यो मेरो लागि ठुलो अवसर पनि थियो । कतिले आर्मी बनेर पनि त्यस्तो अवसर पाउँदैनन् । मैले दुख गरे अनुसार अहिले सुख अनुभुति हुन्छ । यसकारण म आफूलाई लक्की ठान्छु । अहिले त्यस्तो इन्भरमेन्ट छैन । त्यसैले म यसमा आफैमा लक्की छु ।

अवकाश जीवनमा के गर्दै हुनुहुन्छ ?
अहिले क्याडेन्ज युके इन्टरटेन्टमेन्ट लिमिटेड छ । यसबाट भ्वाइस अफ नेपालको फस्ट इपिसोडको वल्र्ड टुरको जिम्मा हामीले लिएको थियो । त्यसको मार्केटिङ डाइरेक्टरको काम गरिरहेको छु । अपकमिङ इभेन्टको लाइनअप छ । पार्टटाइम काम गर्छु । संघसंस्थामा पनि काम गर्छु । मलाई अहिले एनआरएनमा सक्रिय भएकोले पनि साथीहरुले एनआरएन भनेर उपनामले जोक पनि गर्नुहुन्छ । अहिले एनआरएन युकेको सल्लाहकार छु । किरात राई यायोक्खाको केन्द्रीय कमिटिमा सदस्यमा छु । यसको साथै मुख्य भुमिका नेप्लिज युथ युकेको अध्यक्षको जिम्मेवारीमा छु । अहिले ७ वर्ष हुन लाग्यो संस्था खुलेको । म अध्यक्ष भएको चाहि दुई वर्ष हुन लाग्यो ।

यस संस्थाले के काम गर्छ ?
युवाहरुको सशक्तीकरणमा काम गर्छ यो संस्थाले । युवाहरु विदेशीन थाल्यो । युवाहरुको खुबी समाजमा एप्लाई गर्न कसरी पोलिस अप गर्न सकिन्छ भन्ने विषयमा काम गर्न हामीले सहयोग गर्नुपर्छ । युवाहरु कुलतमा फस्ने, गलत बाटोमा जानबाट रोक्ने, सही बाटोमा ल्याउने काम युथ युकेले गर्छ । सामाजिक कार्यहरुको फ्रेममा ल्याएर च्यारिटीएबल काममा लगाएर मोरल बुस्ट गर्ने, त्यहाँबाट रामे भएको चिजलाई नेपालमा फोकस गर्ने काम हामी गर्छौ । देशको कुरालाई दोहोरो भूमिकाका रुपमा ल्याउन सकिन्छ भनेर पोजिटिभ रुपमा ल्याउन सकिन्छ । यहाँनेर सबैलाई अटाउन सकिन्छ भनेर हामी अगाडि बढेका छौ । सबै नेपाली सबै युवालाई एकै ठाउँमा ल्याएर राम्रो काम गरौ भनेर अघि बढेको संस्था हो ।

नेपालमा पनि केही काम गरेको छ यो सस्थाले ?
नेपालमा भूकम्प गएको बेला युकेमा युवाहरुलाई परिचालन ग¥यौ । राहत उपलब्ध गराउन संकलन गर्‍यौ । सरकारलाई पनि विश्वास नहुने, संस्थाहरुलाई पनि विश्वास नहुने । हामीले राहत कलेक्सन गरेर युवाहरुलाई टिम बनाएर नेपाल पठाएर आफै गएर सूचना संकलन गरी राहत वितरण गर्‍यौ । एकदर्जन युवा नेपाल गएका थियो । लगभग नौ लाख उठाएर स्थिति हेरेर सहयोग भयो । एनआरएन युकेले पनि च्यारिटी इभेन्ट गरेको थियो । हामी संस्था मार्फत युवालाई परिचालन गरेर च्यारिटी रन गर्छाै । डिसीबिलीटी एड एभेन्ट पनि गदै आएका छौ । डिसेबलिटी भएका दिदीबहिनी र दाजुभाईको कलालाई चिनाउन हामीले फन्ड कलेक्सन गर्‍यौ । उहाँहरुको सहयोगका लागि हामीले गरेको काम सफल भयो । नेपालबाट निलम ढुंगाना बोलाएका थियौ । त्यो सफल कार्यक्रमले सबैलाई भावविह्वाल बनाएका थियो ।

अबको योजना के छ ?
सामाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने विचार छ । साथीहरुले पनि विश्वास गरेकोले काम अघि बढाइरहेको छु । पारिवारिक र व्यक्तिगत जीवनलाई पनि ध्यान दिदा केही कठिनाई त छ नै । एनआरएनए युके पनि महत्वपूर्ण संस्था हो । कार्यसमितिमा जान साथीहरुले आग्रह छ । तर भ्याउँदिन होला । अब आउने दिनमा एनआरएनएमा फोकस गर्नुपर्छ कि जस्तो लागि रहेको छ । मान्यता प्राप्त संस्थाबाटै काम गर्दा राम्रो होला भन्ने लागिरहेको छु । विजयी भएर आउने साथीहरुसँग मिलेर काम गर्छु ।

ब्रिटिस लाहुरमा जान चाहने नेपाली युवालाई के भन्न चाहनुहुन्छ ?
नेपालमा २०/२५ हजारमा सय दुई सय जनामात्र लाहुर छान्दै आएको छ । छान्नेहरु खुसी हुन्छन छनोटमा नपरेकाहरु दुखी हुन्छन् । बाँकी छनोटमा नपरेपछि डिप्रेसनमा जाने डर हुन्छ । सायद देशको अवस्था राम्रो भएको भए यस्तो हुन्थेन । अहिले पहिलाको जस्तो स्थिति छैन । जतासुकै अवसर भएकोले हामीले विकल्पहरु रोज्नु पर्छ । यदि लाहुर लागेन भने पनि शिक्षामा निरन्तरता दिनुपर्छ । हाम्रो लागि ब्रिटिस आर्मी र सिंगापुर पुलिस नै सबै थोक होइन । आफनो देशमा पनि केही गर्न सकिन्छ । पास हुनेलाई बधाई । पास भएर लाहुरे हुनेहरुले पनि देशलाई नबिर्सनुस् । पास नहुनेलाई विनम्र आग्रह गर्छु । असफल भए भन्दैमा दुख नमान्नुस् । एक दिन जरुर सफल हुन्छ । तपाई हामी जस्तो युवाले आटेमा धेरै कुराहरु सफल हुन्छ । जीवनमा कहिलै पनि हरेस खानु हुदैन ।

सम्बन्धित समाचार