हामी देश निर्माणमा लाग्दै छौ–सीताराम कट्टेल(धुर्मुस)

May 18, 2017

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवाईमा सिन्धुपाल्चोकको गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले समुदायलाई हस्तान्तरण गरेकी छन् । कात्तिक १२ गते उक्त बस्ती हस्तान्तरण गरिएको हो ।
२३ घर, दुई चिल्ड्रेन पार्क रहेको ब्लक ‘ए’ राष्ट्रपति भण्डारीले समुदायलाई हस्तान्तरण गरिन् भने २७ घर, चार चिल्ड्रेन पार्क रहेको ब्लक ‘बी’ सीतारामका बाआमाले संयुक्त रुपमा समुदायलाई हस्तान्तरण गरे । त्यस्तै १५ घर, खेल मैदान, एक चिल्ड्रेन पार्क रहेको ‘सी’ ब्लक कुञ्जनाका बाआमाले साँचो समुदायलाई बुझाएर हस्तान्तरण गरे । फाउन्डेसनले ५ करोड १३ लाख ८५ हजार १ सय ८७ रुपैयाँमा एकीकृत बस्ती निर्माण भएको जनाएको छ ।

फाउन्डेसनका अनुसार बस्ती बनाउन जनस्तरबाट ६ करोड १७ लाख १ हजार १ सय ३९ रुपैयाँ संकलन भएको थियो । यसै सन्दर्भमा धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीतामार कट्टेलसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानी :

सबैभन्दा पहिले त यति ठुलो योजना पुरा गर्नुभयो, बधाइँ छ यहाँलाई ?
धेरै धेरै धन्यवाद । एकदमै खुसी लागेको छ । यो बधाइँका पात्र सहयोग गर्नुहुने सम्पूर्ण नेपालीहरु हुनुहुन्छ ।
यो योजनाको अवधिभर तपाईं गिरानचौर बस्नुभयो, कति दिन बस्नुभएछ ?
लगभग ६ महिना गिरानचौरमै बसे । समुदायसँगै काम गर्ने अवसर मिल्यो । धेरै साथी बनाउन पाएँ ।
यो बसाईमा यहाँको मुख्य समस्याहरु के के देख्नुभयो ?
सुरुमा त गिरानचौर समस्यैसमस्यले गिजोलेको थियो । पानी थिएन, पानी ल्याईयो । विद्युत विस्तार भयो । बाटो विस्तार भएको छ ।
६५ परिवारलाई एउटै बस्तीमा राख्नु पनि चुनौतीपूर्ण थियो होला, कसरी सम्भव भयो ?
एकीकृत नमुना बस्ती बसाउने आफ्नै सुत्र हुन्छ । नेपाल बनाउने हो भने पहिले समाज एकीकरण जरुरत छ । यो उपभोक्ता समितिमार्फत गर्न सकिन्छ । गाउँमै उपभोक्ता समिति गठन गरेपछि यो सम्भव भयो ।


गिरानचौरमा बस्दा तपाईंको दैनिक खानपान कस्तो रह्यो ?
यहाँ हाम्रो खानपानको समयतालिका नै थियो । समयतालिकाअनुसार साधारण दालभात र साग खाइयो ।
यो बसाईमा कलाकार बनाइदिनुप¥यो भनेर तपाईंका पछि लाग्नेहरु कति आए ?
धेरै भाइबहिनीहरुले इन्टेरेस्ट देखाउनुभयो । उहाँहरुलाई अभिनय र नाच सिकाए । कलाकारितामा लाग्नका लागि चाहिने टिप्सहरु बाँडे ।
तपाई स्वरोजगारलाई पनि प्रवद्र्धन गर्नेमध्येमा एक हुनुहुन्छ, यहाँका युवाहरुमा त्यस्तो केही कार्यक्रम बनाइदिनुभएको छ कि ?
तरकारी खेतीदेखि फुलको व्यापारसम्मको कुरालाई प्रोत्साहन गर्ने योजना छ । पहिलो त होम स्टेलाई नै प्राथमिकता दिएका छौ । होमस्टे सञ्चालन भएको खण्डमा यहाँका युवाहरुले रोजगारीका लागि अर्को ठाउँ निस्कनुपर्दैन ।
गिरानचौरको अबका चूनौती के देख्नुभएको छ ?
चिटिक्क परेका घरहरु बनेका छन् । अब यसको संरक्षण नै अबका चूनौती हुन् । त्यसैले यसको संरक्षणको जिम्मा उपभोक्ता समिति र मेलम्ची नगरपालिकालाई दिएका छौं ।
गिरानचौर बस्दाका व्यक्तिगत लाभ के मिलेजस्तो लागेको छ ?
तामाङ भाषा अलि अलि बुझ्थे । यहाँ बसेपछि धेरै बुझ्ने भएको छु । यो मेरो लागि व्यक्तिगत फाइदा हो ।

5812d4d36a9fa
गिरानचौर ओहोरदोहोर कुन बाटोबाट गर्नुहुन्थ्यो ?
साँघु जोरपाटीको बाटो भएर गरियो । बाटोको अवस्था एकदमै खराब छ । दुईपटक त मेरो बिचल्ली नै भयो यो बाटोको कारण ।
हस्तान्तरणमा राष्ट्रपति पुग्नुभयो, सामान्यतयः राष्ट्रपति पुग्नुभएपछि कुनै न कुनै नयाँ सहयोगका घोषणा हुन्छन्, त्यहाँका जनताले यस्तो कुनै आशा राखेका थिए कि ?
हामी कसैले पनि सरकारको तर्फबाट केही आशा गरेका थिएनौ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी हाम्रो कार्यक्रममा जानुभयो । हामी र यहाँका जनताले उहाँ आउनुभएकोमा हाम्रो दुःख सार्थक भएको ठान्यौं ।
यो बस्ती बनाउन अमेरिकामा रहेका नेपालीहरुको सहयोग कस्तो रहेको थियो ?
धेरै सहयोग । उहाँहरुबाट सहयोग पाएर नै यस्तो आँट आएको हो । अझ सांसरभर रहेका नेपाली र नेपालीभाषीको सहयोग अविष्मरणीय रहनेछ ।
काभ्रेमा नमुना वस्ती बन्यो, सिन्धुपाल्चोकमा पनि बन्यो, अबको योजना ?
अर्को ठाउँमा पनि बनाउने हो भने सघाउँछौ भन्ने दाताहरु धेरै हुनुहुन्छ । तर, एकीकृत वस्ती बनाउन मिल्ने ठाउँ पाएका छैनौ । त्यसैले हामी अब देश निर्माणमा लाग्ने हो ।

सम्बन्धित समाचार