भारतका लागि नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा

October 6, 2017

काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् ।
राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताए । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका हुन् ।

अागामी प्रतिनिधि सभाको निर्वाचनमा उपाध्याय कांग्रेसबाट उमेदवार हुने चर्चा चलेको छ ।

उपाध्यायको कूटनीतिक उतारचढाव

०६८ असारमा भारतका लागि राजदूत रुक्मशमशेर राणा फिर्ता बोलाइएको चार वर्षपछि उपाध्याय राजदूत नियुक्त भएका थिए । त्यसबीचमा एमाओवादी नेतृत्वको सरकारले पार्टी नेता राम कार्कीको नाम सिफारिस गरे पनि भारतले अनुमति (एग्रिमो) दिएन । चार वर्षपछि ०७२ मा नेपालले राजदूत पठाएको थियो । उपाध्याय एक वर्षमै फिर्ता भएका थिए । उनीअघिका राजदूत राणालाई पनि एमाले नेता झलनाथ खनाल नेतृत्वको तत्कालीन सरकारले फिर्ता बोलाएको थियो । उनी पनि कांग्रेस कोटाबाट राजदूत भएका थिए ।

कांग्रेसकै कोटाबाट राजदूत भएका उपाध्यायलाई ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । सरकारको निर्णय पालना गरेर फर्केका उपाध्यायले ‘भगवान्को कृपाले’ फर्केको बताएका थिए । राजीनामा दिन लागेका उपाध्यायले आफ्नो कार्यकालबारे भने, ‘दुई देशबीचमा सम्बन्ध सुदृढ भएको छ । मैले क्षमताले भ्याएसम्म राम्रो गर्ने कोसिस गरेँ ।’

 

राजनीतिमा फर्किन सभापति देउवासँग सहमति

-राजनीतिमा फर्किने विषयमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति दिइसकेको पनि उपाध्यायले जानकारी दिए । ‘म राजनीतिमा आउनुपर्छ भन्ने माग पार्टीका साथीहरूबाट आयो, मैले पनि राजनीतिक करिअरलाई नै निरन्तरता दिने विचार गरेँ,’ उपाध्यायले भने, ‘नयाँदिल्लीमा मेरो मिसन पनि मूलभूत रूपमा सफल भएको छ ।’

-उपाध्यायलाई सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले २६ चैत ०७१ मा भारतका लागि राजदूतमा नियुक्त गरेको थियो । उनले कार्यकालको सुरुवातमै भूकम्पपछिको उद्धार र पुनर्निर्माणमा भारतसँग समन्वय गरेका थिए । उपाध्यायले भारतीय नाकाबन्दी हटाउन त्यहाँको राजनीतिक नेतृत्वसँग पहलकदमी गर्दै आएका थिए । भारतको कूटनीतिक र शीर्ष राजनीतिक तहमा उनको सम्पर्कका कारण काम गर्न सजिलो भएको दूतावासका कर्मचारीहरूको अनुभव छ ।

सम्बन्धित समाचार