६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

डा केसीले टिचिङमा अनशन जारी राख्ने, भने : सरकारले अपहरण शैलीमा ल्यायो


३ श्रावण २०७५, बिहिबार  

0
Shares

काठमाडौं । २० दिनदेखि जुम्लामा अनशन बसेर काठमाडौं आइपुगेका डा गोविन्द केसीले काठमाडौंको टिचिङ अस्पतालमै अनशन जारी राख्ने भएका छन् ।

बिहिवार सरकारले जबरजस्ती उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याएका हुन् । साँझ टिचिङमा पत्रकार सम्मेलन गर्दै डा केसीले भने, ‘चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ । त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ ।’

डा केसीले  सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सनासमेत गरेका छन् । उनले यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी प्रकट गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । ज्यादतीमा संलग्न हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु । माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु । साथै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु ।’

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहिबार  ९ : ०२ बजे