डोल्मा शेर्पा नेपालमा पनि बन्धक !

August 4, 2017

नेत्र तामाङ

सिन्धुपाल्चोक गुम्बा क्याङसिङकी डोल्मा शेर्पा असार २४ गते साँझ ८ बजे कुवेतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन् ।
पुनर्जीवन पाएर नेपाल आएकी हुनाले उनी आउनुको महत्व बेग्लै थियो । सीमित पत्रकारहरुको उपस्थितिमा उनको आगमनबारे पत्रकार सम्मेलन भयो र उनी सीधै एक आश्रयघरमा पुगिन् ।

२०६२ सालमा रोजगारीको सिलसिलामा भारत हुदैं कुवेत पुगेकी उनी एक फिलिपिनो महिला हत्याको अभियोगमा जेलमा परिन् । त्यहाँको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाइयो ।

डोल्मा निर्दोष रहेकाले उनलाई उक्त सजायबाट जोगाउन नेपालमा, नेपाली रहेका विभिन्न देशमा अभियान चल्यो । सिन्धुपाल्चोककै ल्हाक्प ठिन्ले शेर्पाको संयोजनमा ‘डोल्मा जीवन बचाउ अभियान’ चल्यो ।

‘ब्लडमनी’का लागि नेपाल सरकारले पनि उनलाई ‘सिडमनी’ स्वरुप ४ हजार डलर उपलब्ध गरायो । अभियानले यसमा ६ हजार डलर थपेपछि दश हजार डलर मृतकको परिवारलाई बुझायो र १२ हजार डलर डोल्माको पक्षमा लड्ने वकिललाई बुझाइयो ।

डोल्माको पक्षबाट मृतकको परिवारलाई ब्लडमनि बुझाएपछि उनलाई सुनाइएको मृत्युदण्ड मिनाहा गरियो र उनलाई १० वर्षसम्म जेल सजाय सुनाइयो । यही जेल सजाय भुक्तानी गरी अहिले नेपाल आइपुगेकी छिन् डोल्मा ।

 

काठमाडौं आइपुगेपछि…

काठमाडौं आइपुग्दा विमानस्थलमा डोल्मालाई लिन उनका भाई शेराब लामा पुगे । गोरखाको चुमचेट उनको माइती हो । घर काठमाडौंसँगै जोडिएको जिल्ला सिन्धुपाल्चोक । काठमाडौंमा उनका आफन्त पनि छन् । तर, उनी आश्रयघरमा भएको कुरा केही दिनमा सञ्चारमाध्यमबाट बाहिर आयो । त्यसकै आधारमा उनको घरबाट ससुरा बुझ्न आइपुगेको डोल्माले सुनाईन् ।

डोल्माका श्रीमान रोजगारीका लागि इराक पुगेका छन् । उनका १४ वर्षे छोरा काठमाडौंमा कक्षा ८ मा पढ्दैछन् । झन्डै तीन हप्ता बढी भइसक्यो उनी आश्रयघरमा बस्न थालेकी । घरपरिवार हुदाँहुदै किन आश्रयघरमा त ?

‘मलाई घरका कसैले लिन आएनन्, माइतमा पनि बस्न गाह्रो छ, छोरा एक आफन्तसँग बसिरहेको रहेछ, त्यहाँ गएर बस्ने कुरा भएन,’ डोल्मा भन्छिन्, ‘यही आश्रयघरमा नबसे म कहाँ जाने ?’

डोल्मा महाराजगन्जस्थित भर्खरै सञ्चालनमा आएको हार्मोनी होम नामक वृद्धाश्रममा बस्दै आएकी छिन् । उक्त वृद्धाश्रम क्रोनिक भएका वृद्धाहरुका लागि खोलिएको भएपनि यसका सञ्चालिक रोसा श्रेष्ठले भने हार्मोनी सबैखालका होमलेसहरुका लागि भएको दाबी गरिन् ।
आफ्ना हरेक सेवाग्राही पैसा तिरेर यहाँ बस्न सक्ने र ती सेवाग्राहीलाई मेडिकल सेवासमेत भएको उनले बताइन् । डोल्मा बेखर्ची छिन्, उनका लागि पैसा कसले दिन्छ त ? सुरुमा उनका लागि कतैबाट पैसा आउने भनेपनि पछि श्रेष्ठले डोल्माका लागि कुनै पैसा नलिएको दाबी गरिन् ।
डोल्मा बेखर्ची भएको खबर सार्वजनिक भए लगत्तै डोल्मा बचाउ अभियानले संकलन गरेको एक लाख १६ हजार रुपैयाँ माइती नेपालले एक कार्यक्रम गरी डोल्मालाई हस्तान्तरण ग¥यो । उनका नाममा उठेका धेरै पैसाको लेखाजोखासहितका लेखहरु पनि प्रकाशनमा आएको छ । डोल्माको नाममा उठेको ३२ लाख रुपैयाँ गैरआवासीय नेपाली संघ(एनआरएन)को सचिवालय शाखामा रहेको कुरा पनि प्रकाशनमा आयो । तर, ती पैसा डोल्मालाई दिने भन्ने कुरामा कुनै स्पष्टता आएको छैन ।

बेखर्ची भएर आश्रयघरमा बस्नुपर्दा आफुलाई निकै अप्ठेरो महसुस हुने डोल्मा बताउँछिन् । ‘मलाई नि यहाँ आएर बस्नुपर्दा निकै अप्ठेरो लागेको छ, बेखर्ची भएर यहाँ बसिरहदाँ, तर परिवार जस्तै ठाउँ पाएकोले यो ठाउँ छोड्न पनि सक्दिनँ ।’

डोल्माको दैनिकी कस्तो छ त आश्रयघरमा ? यसबारे हर्मोनीकी सञ्चालिका श्रेष्ठ भन्छिन्, ‘उहाँको दैनिकी यहाँका अरु क्लाइन्टकै जस्तो छ, उहाँलाई मेन्टल प्रब्लमहरु हुन सक्छ भनेर हामीले दैनिक हेरचाह पनि गर्छौ, औषधिहरु पनि खाइरहनुभएको छ ।’

दस वर्षसम्म जेलमा बस्दा उनको मानासिक अवस्था एकोहोरो हुन सक्ने भन्दै उनलाई औषधिको व्यवस्था गरेको श्रेष्ठले बताइन् । डोल्माले पनि आफु जेलमा हुदाँदेखि नै डिप्रेसनको औषधी लिदैं आएको स्विकारिन् ।

डोल्माको एउटै भनाई छ, ‘छोराको भविष्यको लागि सरकारले वा कसैले एउटा राम्रो रोजगारी दिए अबका दिन बिताउन सजिलो हुने थियो ।’

डोल्माको कथाव्यथा..

गोरखा चुमचेट चुम्लिङकी डोल्माका बुवाले दुई श्रीमती ल्याएका रहेछन् । पहिलो श्रीमतीबाट डोल्मा जन्मिइन् । जेठी पट्टिबाट उनी एक्ली सन्तान हुन् । कान्छी आमाबाट दुई भाइ र दुई बहिनी छन् । बुवाको निधन भइसकेकोले उनलाई माइत जान पनि अप्ठेरो लाग्ने गरेको सुनाउँछिन् ।

यता घरको अवस्था उस्तै छ । घर सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित क्याङसिङमा छ । उनका श्रीमान आङतेन्जी शेर्पा इराकमा छन् । डोल्माकाअनुसार उनी आफ्नो घरमा त्यति ओहोरदोहोर गरेकी छैनन् । त्यसैले घर यही पर्छ भनेर ठम्याउन नसक्ने उनले बताइन् ।
आफु नेपाल आइपुग्दा विमानस्थलमा घरको मान्छे कोही नदेख्दा मन रोएको उनले सुनाइन् । खबर नपुगेर पनि हुनसक्छ उहाँहरु पत्रिकामा छापेपछि मात्र भेट्न आएको उनले बताइन् । डोल्माकाअनुसार उनी विदेशिएको केही महिनामा उनका श्रीमान तेन्जीले अर्की श्रीमती भित्र्याए । कान्छीको तर्फबाट २ सन्तान भइसकेका छन् । कान्छी श्रीमती ल्याइसकेकाले पनि आफु उक्त घरमा गइरहन निकै अप्ठेरो लागेको उनको भनाई थियो ।

मेरो मनमा लागेको कुरा…

डोल्माको मृत्युदण्डको समाचारदेखि उनलाई मृत्युदण्ड मिनाहा भएको कुरापछि मैले उनकोबारेमा नेपाल आइपुगेपछि मात्र थाह पाएँ । उनीबारे समाचार प्रकाशन भएपछि उनको बारेमा धेरै थाहा पाएका एकजनालाई मैले उनको सम्पर्क नम्बर मागें । ती व्यक्तिले डोल्मा गोरखा गएको र हप्तादिनपछि मात्र फर्कने बताए । धेरै प्रयासपछि डोल्मालाई भेट्न पुगें । र हार्मोनीमा बुझ्दा उनी गोरखा गएको भन्ने कुरा झुठो रहेछ ।
हर्मोनीमा पनि मैले मुश्किलले भेट्ने समय पाएँ । डोल्मा नेपाल आएदेखिको एउटै ड्रेसमा सार्वजनिक हुदैं आएकी छन् । उनी आफै भन्छिन् ‘म यही एउटा कपडा लिएर आएकी हुँ । अरु केही छैन ।’ विमानस्थलमा खिचिएको उनको तस्बिर यही लेखमा छ । माइती नेपालले सहयोग गरेको कार्यक्रममा पनि यही कपडा लगाएकी थिइन् । मैले खिचेको फोटो पनि उही कालो कुर्थासुरुवाल छ ।


डोल्माको नजिककाहरु उनलाई परिवारमै एट्याच गरी राख्न चाहेको देखिन्छन् । उनीहरुका अनुसार डोल्मालाई सरकारले सहयोग ग¥यो । देशविदेशमा रहेका नेपालीहरुले सहयोग ग¥यो । उनको ज्यान बच्यो । पुनर्जीवन पाइन् डोल्माले । त्यही नै लाख भएकाले अब नेपाल आएर रोनाधोना गर्न नहुने आफन्तहरुको भनाइ छ । पारिवारिक श्रोत भन्छ, ‘डोल्माको कमजोरी र डोल्माको नाम बेच्नका लागि उनलाई कसैले आश्रयघरमा लगेर राखिएको छ । यो अन्यायीपूर्ण छ । नेपाल आएर स्वतन्त्रपूर्वक बाँच्न पाउनुपर्ने डोल्मा एउटा कोठामा थुनिएकी छे ।’

म हार्मोनीमा जाँदा सञ्चालिका श्रेष्ठले मैले प्रश्न नराख्दै यहीबारे प्रष्ट पार्न खोजिन् । ‘मानिसहरुले यहाँ ल्याएर डोल्मालाई थुनेर राख्यो सम्म भनेर शंका गरेका छन्, यहाँ त उसलाई पारिवारिक वातावरण मिलेको छ, मान्छेहरुले डोल्मा सधै यही बस्छ भनेर पनि शंका गर्ने रहेछन्, उ ठिक भएपछि जाने परिवारमै हो ।’ श्रेष्ठका अनुसार डोल्मा कसैको अनुरोधमा हार्मोनीसम्म आइपुगेको बताएपनि ती सुत्रधारको नाम भने उल्लेख गर्न चाहिनन् ।

मैले डोल्मालाई जिल्लाको नाता लगाएर कुरा सुरु गरेको थिएँ । तर, हार्मोनीकै सञ्चालिकाको रहोबरमा रहेकोले होला अथवा कुनै कारण उनी त्यति खुल्न चाहिनन् । सञ्चालिका श्रेष्ठ र डोल्माको जवाफ लगभग उस्तै उस्तै थियो । भेट्न मुश्किल, एउटै कपडा, परिवारको इच्छाविपरित वृद्धाश्रममा बस्नु आफैंमा विवादास्पद कुराहरु छन् । यो घटना देखेपछि मलाई लागेको पत्रकार, समाजसेवामा लाग्नेहरुले कसैको नियति, कमजोरी, गरिबीलाई बेच्न किन उद्दत हुन्छन् होला ?

सम्बन्धित समाचार