छापिएला त नेपालमै ई–पासपोर्ट

November 19, 2019

काठमाडौं— सरकारले आफ्नै सेक्युरिटी प्रिन्टिङ खोलेर नेपालमै ई–पासपोर्ट छाप्ने तयारी गरेको छ । राहदानी विभागले विदेशी कम्पनीलाई पासपोर्ट छपाइका लागि आव्हान गरेको ठेक्का समेत रद्द गरेको छ ।

राहदानी विभागले भदौ १० गते ५० लाख नयाँ ई–पासपोर्ट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। कात्तिक २१ मा प्रस्ताव पेस गर्ने अन्तिम दिन सरकारको निर्णय भन्दै अन्तर्राष्ट्रिय बोलपत्र रद्द भएको सूचना जारी गरेको थियो।

बोलपत्र रद्द गरेपछि देशमा राहदानी अभाव हुनसक्ने सम्भावना देखिएको छ। अहिले मौज्दात राहदानीले दुई वर्ष पनि पुर्‍याउन मुस्किल छ । नयाँ उद्योग सञ्चालनमा ल्याउन त्यो भन्दा बढी समय लाग्ने छ । राहदानी विभागका अनुसार अब साढे ७ लाख राहदानी मात्रै बाँकी छन्। गत आर्थिक वर्षमामात्र ५ लाख १५ हजार राहदानी बाँडिएका थिए । गतवर्षकै अनुपातमा वितरण गरिए बाँकी राहदानीले डेढ वर्षमात्रै पुग्ने भएको छ ।

अन्य उद्योग भन्दा सेक्युरिटी प्रिन्टिङ खोल्न धेरै समय लाग्ने जानकारहरु बताउँछन् । अन्तराष्ट्रिय मापदण्ड अनुसार सबै कुरा पूरा गर्न धेरै समय लाग्ने उनीहरुको धारणा छ । उद्योगका संरचना बुलेट प्रुफ बनाएरमात्र मेसिन र अन्य उपकरण स्थापना गरिनुपर्छ ।

कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालयलाई फ्रान्सेली कम्पनी इन ग्रुपसँग वार्ता गरी मुद्रण स्थापनाको सम्झौता गर्ने स्वीकृति दिएको छ। अहिल्यै सम्झौता गरेर काम सुरु भए पनि मौज्दात राहदानी सकिनुअघि छाप्न नभ्याइने जानकारहरू बताउँछन्। जति छिटो गरे पनि उद्योग स्थापना गर्न नै वर्षौ लाग्ने उनीहरूको भनाइ छ।

मन्त्रालयले हालसम्म फ्रान्सेली कम्पनीसँग वार्ता गर्न समिति गठन गरेको छैन। फ्रान्सेली कम्पनीले २७ अर्बमा नोट छाप्ने प्रणाली र भौतिक संरचना निर्माणको कामसहित मुद्रण उद्योग स्थापना गर्ने प्रस्ताव मन्त्रालयमा पेस गरेको छ।

फ्रान्सेली कम्पनीसँग वार्ता गरी लागत घटाउने र फ्रान्सले केन्द्र स्थापनाका लागि दिने भनेको सहुलियतपूर्ण ऋणको ब्याजदर टुंग्याउने मन्त्रालयको तयारी छ। यी सबै विषय टुंग्याएर केन्द्र स्थापनाका लागि सम्झौता गर्ने तयारी छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन निकायले सन् २०२५ भित्र ई–पासपोर्ट प्रयोगमा ल्याउन निर्देशन जारी गरिसकेको छ। विभागले सोही म्यादभित्र अन्तर्राष्ट्रिय बोलपत्रमार्फत कम्पनी छनोटको प्रक्रिया अघि बढाएको थियो।

सम्बन्धित समाचार