७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चुनावी रौनकताः एकै पदमा दाजुभाई भिड्दै, कतै ससुराज्वाँई, कतै दाजुबहिनी


३ असार २०७४, शनिबार  

0
Shares

एभरेस्ट टाइम्स/काठमाडाैं

स्थानीय तहको दोस्रो चरणको निर्वाचण नजिकिदै छ । असार १४ गते मतदानको समय तोकिएको छ । यही निर्वाचनमा विभिन्न ठाउँमा परिवारका सदस्यहरुबीचसमेत भिडन्त हुने देखिएको छ । केही रोचक प्रसंग यहाँ प्रस्तुत गरिएको छ ।

बैतडीमा दाजुभाई नै गाउँपालिका प्रमुखको प्रतिस्पर्धी

डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ ।
आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो ।
जञ्जाली रानाका जेठो छोरा कर्णबहादुर राना नेपाली काँग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका छन्् कान्छा छोरा लोकेन्द्र राना (शीतल) नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् । “दुवै छोरा मेरा लागि समान हुन् भोट कसलाई दिउँ ?” जञ्जालीले भनिन् – “दिन मिल्ने भए त दुबै छोरालाई दिने थिए तर मिल्दैन ।”

जञ्जालीलाई दुवै छोरा उम्मेदवार बनेकामा खुसी एकातिर छ भने भोट कसलाई दिने भन्ने चिन्ता अर्कातिर आइपरेको छ । भनिन् – “दुवै छोरा उम्मेदवार बन्दा खुसी छु तर एउटालाई भोट हाल्न नपाउँदा नियास्रो लाग्छ ।”

दुवै छोरा उम्मेदवार बनेपनि गाउँ घुम्न नपाएकामा आफू दुःखी भएको जञ्जालीले बताइन् । “म पञ्चायत कालमा राजनीति गर्ने मान्छे हुँ तर दुवै छोरा उम्मेदवार भएपछि गाउँमै जान सकिएको छैन,” उनले भनिन् – “कुन छोराको प्रचारप्रसारमा हिँड्ने भनेर प्रचारमै गइनँ ।”
काँग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका जेठो छोरा कर्णबहादुर रानाले भने – “भाइ माओवादी केन्द्रबाट लडेका छन् । दुवै एउटै आमाको कोखबाट जन्मेका हौँ, काँग्रेसको विचार राम्रो लाग्यो भने बुबाले मलाई दिनुहुन्छ, माओवादीको राम्रो लागे भाइलाई दिनुहुन्छ । तर पनि बुबाले मलाई नै भोट दिनुहुन्छ भन्नेमा म विश्वस्त छु । बुबाको भोट मैले पाउँछु, आमाले भाइलाई दिनुहुन्छ ।”
यता माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका कान्छा छोरा लोकेन्द्र राना (शीतल) बुबाले आफूलाई मत दिने दाबी गर्छन् । “दाइलाई हराएर गाउँपालिका अध्यक्ष हुन्छु भन्नेमा म ढुक्क छु, डिलाशैनीबाट म भारी मतका साथ विजयी हुन्छु,” उनले भने – “योे सुनौलो मौका हो, यसलाई कसरी उपयोग गर्नुपर्छ भन्ने रणनीति बनाइसकेको छु ।”

 कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडाध्यक्षमा ससुराज्वाँई 

भीमदत्तनगरपालिका–७ हल्दुखालमा भने ससुरा–ज्वाइँबीच कडा प्रतिस्पर्धा हुने भएको छ । स्थानीय तहको निर्वाचनका लागि सो वडामा नेपाली काँग्रेसले गजेन्द्र चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । भारतीय सेनाबाट अवकाश पाएपछि सक्रिय राजनीतिमा लागेका चन्द हाल काँग्रेसका वडा सभापति पनि हुन् ।

फरक पार्टी भएकाले उहाँले ससुरा–ज्वाइँ बीचको प्रतिस्पर्धालाई सामान्य रूपमा लिएको बताए । दुई हजार ९७२ जना मतदाता रहेको हल्दुखालमा नेकपा (एमाले)ले गणेशबहादुर चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । गणेशबहादुर चन्द काँग्रेस उम्मेदवार गजेन्द्र चन्दका सहोदर छोरी ज्वाइँ हुन् । नेकपा (माओवादी केन्द्र)बाट शङ्कर कुँवर वडाध्यक्षका उम्मेदवार रहेका छन् ।

“मलाई छोरी आएर चुनावमा नलड्न सुझाएकी थिइन्,” अध्यक्ष पदका उम्मेदवार गजेन्द्र चन्दले भने, “मैले यो पार्टीगत कुरो हो भनेर इन्कार गरेँ ।” उनले आफूले ज्वाइँलाई प्रतिस्पर्धाबाट पछि हट्न हालसम्म आग्रह नगरेको बताए ।

“ज्वाइँ–ससुरालाई एउटै पदमा प्रतिस्पर्धा नगर्न हामीले सम्झायौँ”, हल्दुखालका स्थानीय तथा हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले भने, “तर सहमतिमा ल्याउन सकेका छैनौँ ।”

धनगढीमा वडाध्यक्षमा दाजुभाइ भिड्दै

आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिका–३ को वडाध्यक्ष पदमा सहोदर दाजुभाइ फरक राजनीतिक दलका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले बलबहादुर ऐरलाई र नेपाली काँग्रेसले उनका दाइ राजबहादुर ऐरलाई वडाध्यक्ष पदको उम्मेदवार तोकेको हो । एकै घरपरिवारका  दाजुभाइले दुई फरक राजनीतिक दलबाट वडाध्यक्षमा टिकट पाएपछि परिवार, आफन्त, इष्टमित्रहरू कसलाई मत दिने भन्नेबारे अन्योलमा छन् ।

काँग्रेसबाट टिकट पाएका राजबहादुरले भने – “यस्तो अवस्थामा घरमा रहेका मत नबाँडिइकन जता गएपनि एकलौटी जान्छ ।” “दाइ वा भाइमध्ये एकजनाले उम्मेदवारी छोड्नुपर्छ भन्ने छलफल घरपरिवारमा चलिरहेको र आफू जेठो भएकाले भाइले छोड्नु उचित हुने सल्लाह सबैले दिएको दाजु राजबहादुरले बताए ।

बलबहादुरले झन्डै ४५ दिनअघि नै नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षको टिकट सुनिश्चित गरी आफ्नो चुनावी दौडमा होमिएका हुन् । “दाइले टिकट पाएमा आफूले नउठ्ने मनःस्थिति पहिल्यै बनाएको थिएँ, बलबहादुरले भने, – दाइले डेढ साताअघिमात्र टिकट पाए पनि अब आफूले छोड्न सक्ने सम्भावना छैन, धेरै अगाडि बढिसकेँ ।”

 

रुकुममा दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार 

चनमा भुमे गाउँपालिकाको एउटा वडामा एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् ।
भुमे गाउँपालिका वडा नं ५ मा एउटै घरका सहोदर दाजु बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेर अहिले चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । दाइ हर्कप्रसाद सुनार नेकपा (एमाले)बाट वडा सदस्यमा र बहिनी लीला सुनार नेकपा (माओवादी केन्द्र)बाट दलित महिला सदस्यमा उम्मेदवार बनेका हुन् ।

एमालेका उम्मेदवार हर्कप्रसाद गाउँमा रहेको आधारभूत विद्यालय डलिबाङको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी लीलाले लामो समयदेखि स्वास्थ्य स्वयम्सेविका, वन समूहको सचिवलगायतका सामाजिक काम गर्दै आउनुभएको स्थानीय रमेश बुढाले बताए ।

दुवै दाजुबहिनी विगतदेखि नै समाजसेवामा रहेकाले कसले बाजी मार्छ भन्नेमा धेरैले चासो राखेका छन् । चुनाव नजिकिएसँगै दुबैले आफ्नो पार्टीको प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

दुवैले आ–आफ्नो पार्टीले जित्ने दाबी गर्दै आएका छन् । हर्कप्रसादले ६ नं वडामा एमालेको राम्रो पकड भएकाले आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताए । माओवादीको जित निश्चित भएकाले आफूले दाइलाई उम्मेदवार नहुन आग्रह गरेको तर उहाँले नमानेको लीलाको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०७४, शनिबार  ८ : ५९ बजे