राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक, माघ १५ मा उम्मेदवारलाई चिन्ह

January 10, 2018

काठमाडौ‌ं । निर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० गतेलाई तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उम्मेदवालाई निर्वाचन चिह्न माघ १५ गते प्रदान गरिने छ भने मतदान २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ । उक्त निर्वाचनको नतिजा माघ मसान्तसम्ममा सार्वजनिक हुने जानकारी दिइएको छ ।

स्थानीय तहका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ५६ मतदाता रहने छन् ।

स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले दिने मतभार १८ रहने तथा प्रदेशसभा सदस्यले दिने मतभार ४८ हुनेछ । उक्त निर्वाचनका लागि उच्च अदालत रहेको जिल्लामा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । आयोगका अनुसार, धनकुटा, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।

उक्त निर्वाचनमा प्रत्येक प्रदेशबाट तीन महिला, एक दलितसहित आठ जना हिसाबले सात प्रदेशबाट ५६ उम्मेदवार राष्ट्रिय सदस्यमा निर्वाचित हुनेछन् । उनानसठ्ठी सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा तीन जना राष्ट्रपतिबाट चयन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार