‘माउन्ट एभरेस्ट वे’ नामकरणबाट बचेको रकम ‘एभरेस्ट डे’ कार्यक्रमका लागि हस्तान्तरण

April 7, 2019

न्युयोर्क । न्युयोर्कको ज्याक्सन हाइटस्थित सेभेन्टी फाइभ स्ट्रीटको बाटोको नाम ‘माउन्ट एभरेस्ट वे’ नामकरण कार्यक्रमबाट बचेको रकम आगामी ‘एभरेस्ट डे’ कार्यक्रमको लागि युएस नेपाल क्लाइम्बर्स एसोसिएसनलाई हस्तान्तरण गरेको छ ।

माउन्ट एभरेस्ट वे नामकरण कार्यक्रमका लागि गठित आर्थिक समितिले बचेको रकम शनिवार ज्याक्सन हाइटको याक रेस्टुरेन्टमा विशेष कार्यक्रमको बीच ३८ सय डलर एसोसिएसनको अध्यक्ष पासाङ निमा शेर्पालाई समितिको संयोजक लिला राईले हस्तान्तरण गरेका हुन् । रकम समितिका सदस्यहरुले विभिन्न संघसंस्थाहरु र व्यक्तिहरूबाट संकलन गरेका थिए।

अमेरिकामा लामो समयदेखि एसोसिएसनले हरेक वर्षको मे महिनाको २९ तारिखमा न्युयोर्कमा एभरेस्ट डे कार्यक्रम आयोजना गर्दै आएको छ।

नेपाली संघीय समाज अमेरिकाका उपाध्यक्ष लिला राई संयोजक रहेको समितिमा सदस्यहरू आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्ट, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, एनआरएन न्युयोर्क च्याप्टरका उपाध्यक्ष विष्णु राना मगर, जनसम्पर्क समिति न्युयोर्क च्याप्टरकाअध्यक्ष रोशन ढुङगाना,शेर्पा किदुगका पूर्व ट्रस्टी सदस्य निमादिकी शेर्पा र प्रवासी नेपाली एकता समाजका अध्यक्ष रुद्र रावत थिए।

‘माउन्ट एभरेस्ट वे नामकरण कार्यक्रममा बचेको रकम सबैको सहमतिको आधारमा सम्बन्धित क्षेत्रलाई हस्तान्तरण गरियो’ संयोजक राईले भने । उक्त अवसरमा युएस नेपाल क्लाइम्बर्स एसोसिएसनको सल्लाहकार आङछिरिङ शेर्पा, मिङमा शेर्पा र सदस्य गेलु शेर्पा उपस्थित थिए ।

सम्बन्धित समाचार