पहिलो शेर्पा महिला पत्रकार डोमादेखि कफी बनाउने दबुटीसम्म सगरमाथा शिखरमा

May 23, 2018

एभरेस्ट टाइम्स/काठमाडौं

पहिला शेर्पा महिला पत्रकार डोमा शेर्पाको सगरमाथा आरोहण सफल भएको छ । उनी मे २२ बिहान ५ बजे शिखरमा पुगेकी थिइन् ।

शेर्पा सञ्चार समुह नेपालको निवर्तामान अध्यक्ष समेत रहेकी शेर्पाले पायोनियर एडभेञ्चर प्रा. लि बाट सगरमाथा आरोहण गरेकी हुन् । पहिलो शेर्पा महिला पत्रकार डोमा सँगै शेर्पा सञ्चार समुह नेपाल, नेपाल पत्रकार महासंघ, इन्डिजिनियस टेलिभिजन लगायत विभिन्न संघ संस्था र मिडिया हाउसहरुको ब्यानर सगरमाथा चुचुरोमा पुर्या‍इन्।

यता नेपाली कफी को प्रचारका लागि सगरमाथा आरोहण गरेकी दावुटी शेर्पा पनि सफलता पूर्वक सगरमाथाको शिखर पुगिन्  । शेर्पाले मे २१ को विहान सात बजे सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश बोकेर ङिमा छ्योकी शेर्पा र शर्मिला स्याङतान तामाङले सगरमाथा आरोहण गरेकी छन् ।

रोशी गाउँपालिका वडा नं- ११, भिमखोरीकी स्याङतान तामाङ र दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं -२ की शेर्पाले सो सन्देश बोकेर विश्वको सर्वोच्च शिखर आरोहणमा गत अप्रिलमा गएकी हुन् ।

यता फोटोग्राफर पूर्णिमा श्रेष्ठ पनि सगरमाथा आरोहण गरी फर्कीसकेकी छन् ।

मे २३ मा पाँच महिला पत्रकारको टोली पनि सगरमाथा चुचुरोमा पुगेका छन् । टोलीका रोशा बस्नेत (राष्ट्रिय समाचार समिति),  कल्पना महर्जन (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) मात्र सगरमाथा शिखर पुगिन् । प्रियालक्ष्मी कार्की (न्युज २४ टेलिभिजन)ले भने स्वास्थ्यका कारण सगरमाथा आरोहण गर्न सकिनन् ।उनीहरु ड्रिमर डेस्टिनेसन एन्ड ट्रेक्सबाट मे महिनामा सगरमाथा आरोहणमा पुगेकी थिइन् ।

नेपाली महिलाको थरीथरी रेकर्ड सपना: कोही कफी खुवाउन, कोही बुद्ध चिनाउन सगरमाथा चढ्दै

सम्बन्धित समाचार