१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भोजपुरको दुर्गम स्थानमा रहेको लक्ष्मी साल्पा आधारभूत विद्यालयलाई एभरेस्ट टाइम्सको सहयोग


४ कार्तिक २०७६, सोमबार  

0
Shares

काठमाडौं । अमेरिकाबाट प्रकाशन हुँदै आएको पाक्षिक पत्रिका एभरेस्ट टाइम्सले भोजपुरको दुर्गम विद्यालयलाई सहयोग गरेको छ । पत्रिकाका प्रधानसम्पादक आङछिरिङ शेर्पाले जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा ५ स्थित च्याक्सिलामा रहेको लक्ष्मी साल्पा आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेका हुन् ।
सोमबार काठमाडौंको जोरपाटीमा एक कार्यक्रम आयोजना गरी प्रधानसम्पादक शेर्पाले नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका पूर्व अध्यक्ष निमादावा शेर्पाको रोहबरमा विद्यालय सञ्चालक समितिका सदस्य निमा दावा शेर्पालाई एक लाख २५ हजार रुपैयाँ प्रदान गरे ।
पत्रिकाले हरेक वर्ष नेपालको दुर्गम गाउँका विद्यालयलाई सहयोग गर्ने उद्देश्यका साथ घुम्ती किम्फ आयोजना गर्दै आएको र त्यही कार्यक्रमबाट बचेको रकम विद्यालयलाई सहयोग गरेको शेर्पाले बताए । यसपटक जुनको १६ तारिखमा पाँचौ पटक न्युयोर्कमा घुम्ती किम्फ आयोजना गरेको थियो ।

शेर्पा र तामाङ समुदायका ८० विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालय सदरमुकाम भोजपूरबाट दुई दिन पैदल यात्रापछि पुगिने विद्यालय व्यवस्थापन समितिका सदस्य शेर्पाले बताए । दुर्गमको विद्यालयमा फर्निचरदेखि भवनसम्मको अभाव रहेको बेला सहयोग पाउनु निकै खुसीको विषय भएको उल्लेख गर्दै शेर्पाले सहयोगी एभरेस्ट टाइम्स, किम्फ र प्रधानसम्पादक शेर्पालाई धन्यवाद दिए ।
किम्फले सहयोग गरेकोमा भोजपुर नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका पूर्व अध्यक्ष शेर्पाले आवश्यकताका आधारमा खर्च गर्न आग्रह गर्दै अमेरिकामा रहेका नेपालीहरुले गरेको सहयोग सरहनीय भएको बताए । उनले यसरी जिल्लाको सहयोगका लागि सहयोग गर्ने एभरेस्ट टाइम्सलाईसमेत धन्यवाद दिए ।
स्थानीय आङदावा शेर्पाले विद्यालय दुर्गम रहेको र यो सहयोगले स्थानीयलाई समेत राहत पुग्ने बताए । उनले निकै दु:ख गरेर उक्त विद्यालय सञ्चालन गरेको स्मरण गर्दै यो सहयोग निकै उपयोगी हुने बताए ।
गायक गम्बु शेर्पाले यस सहयोगले पक्कै पनि भोजपुर च्याक्सिलाका विद्यार्थीलाई सहयोग पुग्ने आशा व्यक्त गरे । एभरेस्ट टाइम्स सामाजिक काममा अघि बढिरहेकोमा प्रशंसा गर्दै कार्यक्रममा गायक शेर्पाले यस कार्यलाई निरन्तरता दिनसमेत आग्रह गरे ।
कार्यक्रममा प्रधानसम्पादक शेर्पाले सहयोग अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यो कार्यमा निरन्तरता दिने बताए ।

गत वर्ष एभरेस्ट टाइम्स इन्कले रामेछापको बल्दिङ आधारभुत विद्यालयलाई सहयोग प्रदान गरेको थियो । त्यसअघि सोलुखुम्बुको सेर्गा बागम प्रावि, चाँगेस्थान मावि र सिन्धुपाल्चोकको हेलम्बुमा रहेको जम्बियाङ प्रलिलाई आर्थिक सहयोग प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ३ : ४२ बजे