‘अमेरिकन बाबु मेड इन नेपाल’ का राम्रा र नराम्रा पक्ष केलाउँदा [फिल्म समीक्षा]

September 19, 2018

आङछिरिङ शेर्पा-

जीवनमा एक चोटि अमेरिका पुग्ने सपना सायद हरेकको हुन्छ । त्यही सपना पुरा गर्न विश्वभरबाट विभिन्न क्षेत्रका व्यक्तिहरू अमेरिका आउने गरेका छन् । विशेष गरी आफ्नै देशमा उच्च शिक्षा हासिल गरेका युवाहरू सफल व्यवसायी बनेर सुखद जीवन बिताउने सपना बोकेर यहाँ आउने गरेका हुन्छन् ।

मानवधिकार, श्रम, सीप र योग्यतालाई कदर गर्ने मुलुक हो अमेरिका । यहाँ शुरुमा सबैले संघर्ष गर्नैपर्छ भन्ने मान्यता राख्छन् । विभिन्न मुलुकका युवाहरूको हुलमा नेपालबाट पनि केही गरौँ भन्ने लक्ष्य र सपना बोकेर नेपाली युवाहरू अमेरिका आउने गरेका छन् । भौगोलिक रूपमा निकै टाढा यो भूमिमा अन्य मुलुकको आप्रवासीहरूको झैँ नेपालीको पनि आआफ्नै संघर्षका कथाहरू छन् । हरेकको आफ्नै किसिमको भोगाई अनुसारको जीवन शैली छ । महँगा घर भाडा तिरेर बस्न नसक्नेहरू एउटै घर वा कोठामा मिलेर बस्नु पर्छ । नेपालमा पढेलेखेका व्यक्तिहरू पनि सीप र काम गरेको अनुभव छैन भने सोचेजस्तो राम्रो र सजिलो काम नपाएर रेस्टुरेन्टमा भाडा माझ्नुपर्ने बाध्यता यहाँको यथार्थ हो । अमेरिकामा बस्ने नेपालीहरूको यस्तै कथावस्तुमाथि बनेको ‘अमेरिकन बाबु मेड इन नेपाल’ चलचित्र गत हप्ता न्युयोर्कमा विशेष कार्यक्रमबीच प्रिमियर गरियो ।

चलचित्रमा नेपालमा आइटीको अध्ययन गरेका कलाकार इशान ढकाल अमेरिकामा आइपुग्छ । उनलाई लिन प्रवेश उप्रेती विमानस्थल पुग्छन् । लामो समयपछि इशानलाइ भेट्न पाउँदा उनी निकै खुसी हुन्छन् । उता इशान पनि अमेरिका पुग्न पाएकोमा निकै दंग हुन्छन् । दुवै जना नेपाल र अमेरिकाको भलाकुसारी गर्दै डेरातिर लाग्छन् । डेरा पुग्नअघि न्युयोर्कको केही रमाइलो स्थान देखाउन उनीहरू शहरतिर लाग्छन् । आधुनिक विकासले चुलिएको अमेरिकाको परिवर्तन देखेर उनी निकै आश्चर्य मान्छन् ।

त्यही आर्कषणहरु देखेर उनको मनमा धेरै सम्भावनाको बाटोहरू देख्छन् । त्यही दृश्यसँगै थपेको ऊर्जाले उनीभित्र महत्वकांक्षी सोचहरू पलाउन थाल्छ । प्रवेश सम्पन्न नेपाली व्यवसायी राजेश गुरुङको घरको बेसम्यानमा भाडामा बस्छन् । नेपालबाट आएको इशानलाई पनि आफूसँगै राख्छन् । बाहिर गगनचुम्बी भवनहरू त्यसको काखमा बगेका नदी र त्यसमाथिको पुल र आकर्षक जीवनशैलीले लोभ्याए पनि घरभित्र पुगेपछि इशानको मनमा अनेक प्रश्नहरू खडा हुन्छन् ।

उनले सोचेको अमेरिका त्यहाँ भेटेनन् । नेपालमा आइटी अध्ययन गरेर आएका इशानले लामो समय सोचे जस्तो कामहरू महिनौँ खोज्दा पनि पाउँदैनन् । त्यति नै खेर नेपालबाटै आएकी नन्दिता केसी पनि त्यही घरमा बस्न आइपुग्छिन् । दुवै जना कामको खोजीमा लागे पनि नपाएपछि कालान्तरमा प्रवेशले काम गर्ने घरपाटीकै रेस्टुरेन्टमा इशान भाडा माझ्ने र नन्दिता वेटरको रूपमा काममा लाग्छन् ।

काममा मेनेजरले नन्दितालाई राम्रो गरे झैँ गर कोठामा बलात्कार गर्न लगेको घटनामा इशानले नन्दितालाई जोगाएपछि उनीहरुबीच प्रेम सम्बन्ध बढ्छ । नन्दिता गहिरो प्रेममा फस्नु इशान अमेरिकी जीवनसँग नजिक भएर नन्दितालाई छोडेर अमेरिकन महिलासँग लाग्दा दर्शकहरूलाई निकै भावुक बनाउँछ । उतातिर घर मालिक राजेश गुरुङको भाइको भूमिकामा डिजे जाङबु शेर्पा दाईबाट अंश नपाएको रिसमा ग्याङस्टारको नाइकेको भएर गरेको अभिनय रोचक रहेको छ ।

शारीरिक रूपमा सुसंगठीत जाङबुले गरेको अभिनय भारतीय चलचित्रको खलनायकको भन्दा कम देखिँदैन । खलनायकको भूमिकामा जाङबुसँगै एनवाइपिडिका प्रहरी अफिसरको भूमिकामा देखिएका क्रिस थापाको भूमिका पनि रोचक रहेको छ । प्रहरी जीवनको व्यस्तताबीच आफ्नै दिदी नदिया लिवागसँग क्रिसले केही मनको कुराहरू बाँड्न पाए पनि अघाउन्जेल कुराकानी गर्न नपाएको दृश्यले दिदीभाईबीचको माया निकै अगाध देखिन्छ । नन्दितालाई छोडेपछि कालान्तरमा अमेरिकन महिलाले पनि इशानलाई घरबाट निकालेपछि निकै दुःखमा पर्छ । त्यही बेला अमेरिकन आर्मीमा रहेका गायक तथा नायक बाबु बोगटीले इशानलाई बचाएको दृश्यले नेपालीत्वको भावनालाई उजागर गरेको देखिन्छ ।

आर्मी बाबु बोगटी र घरपेटीको साली प्रियंका ऐरको अभिनय पनि उतिकै राम्रो थियो । अमेरिकामा रहेको कलाकाहरुको साथमा अमेरिकामै बनेको चलचित्र सफलतापूर्वक प्रदर्शन हुनु आफैमा राम्रो कुरा हो । विगतमा बनाएर पनि देखाउन नसकेको अवस्थामा यो चलचित्र टिमले मेहनत गरेकै हो । ईश्वर थापाको निर्देशनमा बनेको यो चलचित्रले केही सन्देश दिन सके पनि प्राविधिक रूपमा भने केही त्रुटिहरू देखिएका छन् । विशेष गरी केही दृश्यहरू थप गर्नुपर्नेमा ५ वटा गीतहरू राख्नले पुरानै नेपाली चलचित्रको आभास दिएको छ । दुई वर्ष लगाएर चलचित्र युनिटले जुन मेहनत गरेको छ कलाकारहरूको सोचाई र अपेक्षा अनुसारको त्यही रिजल्ट पाएको छ । अमेरिकामा बसेर पनि नेपाली चलचित्रको विकासको लागि यो युनिटले अर्को चलचित्रमा थप सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।

सम्बन्धित समाचार