१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

३४ चलचित्रहरुको प्रदर्शनीसँगै नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ सम्पन्न


१९ असार २०७६, बिहिबार  

0
Shares

ङिमा पाख्रिन/एभरेस्ट टाइम्स

तीनदिने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९ अमेरिकाको राजधानी वासिङ्टन डिसी महानगर क्षेत्रको सिल्भरस्प्रिङमा सम्पन्न भएको छ । जुन २८ मा विनोद पौडेल निर्देशित बुलबुलबाट ओपनिङ गरिएको महोत्सव प्रवीण स्याङ्बो निर्देशित कथा ७२ प्रदर्शनसँगै सम्पन्न भएको हो ।

महोत्सवमा बंगलादेशका तउक्वीर अहमदले निर्देशन गरेको फागुन हवे बेस्ट फिल्म फिचर अवार्ड पाउन सफल भयो । सोही विधामा अमेरिका जेफ्रे स्कट कोलिनको पुर ग्रेग ड्रोइङ स्पेसल मेन्सन अवार्ड पायो । फिचर फिल्मम ग्रान्ड जुरी अवार्ड भने मनोजबाबु पन्त निर्देशित द रिमेन्सले प्राप्त गर्‍यो ।

बेस्ट डकुमेन्ट्री फिल्म अ लिटल विस्डम बन्न सफल भयो । युकी काङले निर्देशन गरेको यो फिल्म क्यानडा र नेपालबाट सहभागी भएको थियो । यो विधामा दीपक तोलंगेको टहराले स्पेसल मेन्सनको अवार्ड पायो ।

बेस्ट सर्ट फिल्मको अवार्ड इरानका मोहम्मद बक्सीले निर्देशन गरेको अर यु भलिबल ? ले प्राप्त गर्दा यो विधाको स्पेसल मेन्सन सुपर मन्क र तातिनीले पायो ।


डिएमभी एप्रिसिएसन अवार्ड भने अमेरिकाका स्टेन्ली प्रेस्टनले निर्देशन गरेको डाक्टर सिले प्राप्त गर्योी । यो विधामा स्पेसल मेन्सन अवार्ड भने अमेरिकाकै ५ ओक्लक र ब्यालेट एफ्टर डार्कले पाए ।

निर्देशक पूर्णसिंह बराईलीले महोत्सव अत्यन्तै सफल भएको र उत्साहित भएको बताए । एभरेस्ट टाइम्ससँग उनले भने, ‘२०१७ बाट हामीले यो महोत्सव आयोजना गर्दै आएका छौ । यसपटक पनि अत्यन्तै उत्साहपूर्ण सहभागिता देखियो । हामी उत्साहित छौ । यो सफल भएको छ ।सबै साथीहरुको सहयोगले यो महोत्सव सम्भव भएको हो ।’

महोत्सवमा नेपाली पानोरामाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनेका नेपाली तथा विदेशी निर्देशकका चलचित्र, अन्तर्राष्ट्रिय पानोरामा अन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, एनिमेसनका सहित विभिन्न विधाका ३४ चलचित्र प्रदर्शन गरियो ।
महोत्सवका मानार्थ अध्यक्ष नवीन सुब्बाले नेपाली समाजलाई महोत्सवले कसरी जोड्ने भन्ने विषयमा छलफल गरेका थिए । नेपाल अमेरिका फिल्म सोसाइटीद्वारा आयोजित महोत्सवमा नेपालका निर्देशक मिनबहादुर भाम जुरी प्रमुख रहेका थिए भने ‘ल जोला फेसन फिल्म फेस्टिभलकी रेबेका बुस्टामिना र एमी अवार्ड विजेता समेत लेखक तथा निर्मात्री मिमि मचाडो लुसेस् जुरी थिए ।

महोत्सवको रेड कार्पेटमा चलचित्रकर्मी, चलचित्र पारखी, दर्शक तथा विभिन्न संघसस्थाको व्यक्तित्वका लागि मुख्य आकर्षण बन्यो ।

राजदूत कार्कीले डम्फु बजाउँदै उद्घाटन गरेका थिए महोत्सव

जुन २८ को साँझ लाखे नाच र मञ्जुश्री नाचले महोत्सवमा सहभागी हुन आइपुगेकालाई स्वागत गरियो । त्यससँग कार्यक्रममा सहभागी हुन आइपुगेका अतिथिहरुले मन्तव्य राखे ।

प्रमुख अतिथिका रुपमा उपस्थित अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले डम्फु बजाएर महोत्सव शुरु भएको जनाउ दिए ।
महोत्सव उद्घाटन गर्दै कार्कीले सबैलाई बधाई दिए र फिल्म सांस्कृतिक कुटनीति भएको बताए । राजदूत कार्कीले भने, ‘सहभागी सबैलाई बधाई । नेपाली फिल्ममेकर र कलाकारलाई स्वागत । यो हाम्रो संस्कृति पनि हो । फिल्म कल्चलर डिप्लोमेसी हो ।’

लगानीकर्ताको उत्साह जगाउन उपस्थित भएकोमा कार्कीले सबैलाई धन्यवादसमेत दिए । ‘यहाँहरुलाई महत्वपूर्ण समय निकालेर नेपालको सिनेमाको प्रवर्द्धन गर्नको निम्ति लगानीकर्ताको उत्साह जगाउन यहाँ उपस्थति हुनुभएकोमा धेरै धन्यवाद । यहाँहरुको महत्वपूर्ण योगदानको निम्ति बधाई । सीमित स्रोतसाधनबाट कठिन परिश्रम गरेर आफ्नो परम्परा र संस्कृतिलाई प्रवद्र्धन गर्न योगदान दिएकोमा धन्यवादको पात्र बन्नुभएको छ,’ राजदूत कार्कीले भने ।

अनररी काउन्सिल जेनेरल प्रेमराजा महतले कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गर्दै शुभकामना दिएर मन्तव्य छोट्याए । ‘कार्यक्रम सफलताको शुभकामना । यो कार्यक्रम भएकोमा धेरै खुसी लागेको छ,’ महतले भने ।

मेरील्यान्ड फिल्म अफिसका निर्देशक ज्याक गेर्वेसले सबैलाई स्वागत गर्दै मिलेर काम गर्ने इच्छा जाहेर गरे । निर्देशक गेर्वेसले भने, ‘हामी फिल्म निर्माताहरुलाई मेरील्यान्डमा स्वागत गर्दछौ । यो महोत्सवले नेपाली प्रतिभाशाली नेपाली फिल्मकर्मीहरुसँग कुरा गर्ने अवसर दिएको छ । हामी सँगै मिलेर काम गर्न चहान्छौ । कार्यक्रम सफलताको शुभकामना ।’

एनआरएनका उपाध्यक्ष कृष्णजीबी पन्तले महोत्सव फिल्म हेर्नमात्र नभई संस्कृति झल्काउने पर्व भएको बताए । पन्तले भने, ‘चलचित्रमा रहेका साथीहरुलाई एकै ठाउँमा उभ्याउने मञ्च प्राप्त भएको छ । यो गौरवको विषय हो । हामीले आफ्नो कमीकमजोरी पनि छन् । यसलाई करेक्सन पनि गर्दै लानुपर्छ । यो फिल्मका लागि मात्र हैन । नेपालीपन झल्काउन र नेपाली संस्कृति झल्काउन पनि हो ।’

मेरील्यान्ड राज्यको माउनगोमेरी काउन्टी काउन्सिलमा डिस्ट्रिक ५ को प्रतिनिधित्व गर्ने काउन्सिलम्यान टम हकरले डायस्पोरामा नेपाली चलचित्र प्रदर्शनी हुनु खसीको विषय भएको बताए । ‘माउन्टगोमेरी काउन्टीमा धेरै नेपाली मूलका बासिन्दाहरु बसोबास गर्दछन् । त्यो हाम्रो लागि गौरवको कुरा हो । नेपाली डायसपोरामा यसरी नेपाली चलचित्र प्रदर्शनी गर्नु निश्चय नै खुशीको कुरा हो । यसले माउन्टगोमेरीमा बसोबास गर्ने बहुसाँस्कृतिक र बहुभाषिक समुदायलाई जोड्ने काम गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ काउन्सिलम्यान हकरले भने । कार्यक्रमस्थल सिल्भर स्प्रिङ पनि डिस्ट्रिक्ट ५ भित्र पर्दछ ।

कार्यक्रम उद्घाटन सत्रमा महोत्सवका निर्देशक पुर्ण सिंह बराईलीले स्वागत गरेका थिए भने कृतना बास्तोलाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ८ : ४६ बजे