जिल्ला स्तरीय फुटबलमा नवलपुर युनाइटेड विजयी

October 17, 2017

फुलमान तामाङ/नवलपुर

नवलपुर युनाइटेड क्लबले आयोजना गरेको जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको उपाधि आयोजक नवलपुर युनाइटेड क्लब ‘ए’ ले उचालेको छ । मंगलबार भएको फाइनलमा चिरप्रतिद्वन्द्वी क्षेत्रीय स्तरीय च्याम्पियन नवलपुर युवा क्लबलाई १–० ले पछि पार्दै युनाइटेडले उपाधि उचालेको हो ।

निकै रोचक बनेको खेलका अन्तिम समयमा विपक्षी सम्हालिन नसक्दा जित युनाइटेडको पोल्टामा परेको हो । अन्तिम समयमा युनाइटेडका कृष्ण भण्डारीले निर्णायक गोल गरेका थिए ।

जितसँगै युनाइटेडले १ लाख ५१ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने सर्वोउत्कृट गोलकर्ता कृष्ण भण्डारी बने । प्रथम हुन सफल युनाइटेडलाई प्रमुख अतिथि एवं नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष राजेन्द्रमान ताल्चाभँडेलले कप, शिल्ड तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगिताको उपविजेता नवलपुर युवा क्लबले १ लाख १ हजार नगदसहित कप मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेतालाई विशेष अतिथि गाउँपालिका प्रमुख वंशलाल तामाङले कप, शिल्ड तथा प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै गोल्मा देवी इन्द्रावती ५ ले तेस्रो स्थान कब्जा गरेको छ । तेस्रो स्थानको लागि गोल्मादेवीले आयोजक नवलपुर युनाइटेड क्लब ‘सि’लाई हराएको थियो । जित सँगै ५१ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गोल्मादेवीलाई क्लबका अध्यक्ष चीन लामाले शिल्ड तथा प्रमाणपत्र प्रदान गरे ।

समापनमा बोल्दै अध्यक्ष लामाले खेलकुद क्षेत्रमा खेलकुद क्षेत्रमा आफूले गर्न सक्ने साथसहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । प्रतियोगितामा बेस्ट प्लेयर अजय तामाङ, बेस्ट किपर वाङजु लामा र युवा क्लबका बेस्ट डिफेन्डर आशिष श्रेष्ठ घोषित भए । असोज २५ बाट सुरु भएको प्रतियोगितामा १४ टिम सहभागी बनेका थिए ।

 

सम्बन्धित समाचार