फोनिजको छैटौं महाधिवेशन भृकुटीमण्डपमा: उपराष्ट्रपति पुनद्वारा उद्घाटन

April 6, 2018

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयन र समृद्धिका लागि सञ्चार जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

आदिवासी जनजाति पत्रकार संघ (फोनिज)को छैटौँ महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘जहाँ लोकतन्त्र हुन्छ त्यहाँ मिडिया प्रशस्त हुन्छन् । जहाँ मिडिया प्रशस्त हुन्छन् त्यहाँ लोकतन्त्र सुदृढ हुन्छ,’ उनले भने, ‘सम्पूर्ण पत्रकारहरू संविधान कार्यान्वयन र समृद्धिका लागि क्रियाशील हुने आशा राखेको छु ।’

यसैबिच कार्यक्रममा सूचना तथा सञ्चार राज्यमन्त्रीले गोकुल बास्कोटाले पूर्ण प्रेस स्वतन्त्रताको अभ्यासका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।

‘अब सञ्चार माध्यम र सरकारको सम्बन्ध धेरै नजिकको हुन्छ। घरको जस्तै हुन्छ। छिन छिनमै झडप छिन छिनमै मिलन,’ उनले भने ।

आफू पत्रकारिता क्षेत्रबाट आएको भन्दै उनले पत्रकारहरूको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘म तपाईँहरूकै गोत्रको हुँ। मेरो पनि उही गोत्र हो, उही पेसा थियो,’ उनले भने, ‘यही क्षेत्रबाट आएकोले तपार्इँहरूले मसँग धेरै आशा राख्नु भएको छ, तपार्इँका आशा पूरा गर्न सक्दो प्रयास गर्ने छु।’

फोनिजका अध्यक्ष डन्ड गुरुङले कार्यक्रममा सबैलाई स्वागत गरेका थिए । कार्यक्र ममा फोनिजका सल्लाहकार एवं नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगर, अादिबासी जनजाति महास‌ंघका अध्यक्ष जगत बराम, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायतले आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित समाचार