सात दिन सात रात गाइन्छ सेलो–फुलकुमार बम्जन, गीतकार/गायक

May 18, 2017

दुःखसँग साइनो गाँसेका गीतकार हुन् फुलकुमार बम्जन । उनी दुःखका गीत लेख्छन् । ‘शिखर सेलो’ एल्बममा उनले लेखेको यो गीतले निकै चर्चा पायो । चन्द्रकुमार दोङ र इन्दिरा गोलेको स्वरमा बजारमा आएको गीतले उनलाई लेखनमा स्थापित गर्‍यो ।
म छोरो परदेश गइबस्दा, गाउँघर शुन्य भइबस्दा
आपाले बाटो हेर्छन् रे, आमाले आँशु झार्छिन् रे
गाउँ कि ठुलीकान्छीले, बिर्सेछ हामीलाई भन्छिन् रे
घरबाट निस्केर गएदेखि, सकेको छैन घर आउन
नमरे बाँचे भनेदेखि म आउँछु ल्होछार मनाउन
सिन्धुली भद्रकालीका बम्जनले मातृभाषा र नेपाली गरी ५० बढी गीतहरु लेखिसकेका छन् । शिखर सेलो, सगुन पोङ, मावर सेलोजस्ता एल्बम पनि उनले बजारमा ल्याइसकेका छन् । त्यसो त हालसालै उनले गायन पनि सुरु गरेका छन् । मावर सेलोबाट उनले आफ्नो गायन यात्रा थालेका हुन् । बम्जनले एभरेस्ट टाइम्ससँग आफ्नो गीत लेखन अनुभव नेत्र तामाङसँग यसरी बाँडेका छन्ः
तपाईं धेरैजसो दुःखका गीतहरु लेख्नुहुन्छ ?
मलाई दुःखका गीतहरु नै धेरै आउँछ । अहिलेसम्म मैले लेखेका ५० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । ती धेरैजसो दुःखकै गीत छन् ।

किन दुःखका गीत मात्र लेख्नुहुन्छ ?
म तामाङ परिवारमै जन्मे तामाङहरुको फिगर नै दुःख हो । हामीहरुको जीवन नै दुःखमा बितेको हुन्छ । त्यही जीवनशैलीले मलाई तानेको होला । मलाई जनजीवनसँग भिजेर गीत लेख्न मन लाग्छ । र, त्यसै गर्छु पनि ।

दुःख सुनाएर के उपलब्धि हुन्छ ?
अरुका दुःख सुनाएर, कमजोरीहरुलाई कथा बनाएर सबैलाई सचेत बनाउने उद्देश्य मेरो हो । उत्ताउला गीत लेखेर आफ्नै सन्तानलाई गलत बाटोमा लैजाने रहर मलाई कहिल्यै जागेन ।

तामाङ परिवेशका कथाहरुलाई नेपाली भाषामा लेख्नुहुन्छ, यसो चाहि किन गर्नुभएको ?
तामाङ सेलो नेपालको प्रसिद्ध भाका हो । नेपाली भाषामा गीत लेख्दा यसको श्रोता धेरै हुन्छन् । तामाङहरुको मात्र होइन धेरै नेपालीको दुःख तामाङको जस्तै हुन्छ । सबैले गीत बुझुन् । देशपरदेशमा गीतको सन्देश पुगोस भन्ने चाहनाले नै नेपालीमै लेखेको हुँ ।

शिखर सेलो गीतले निर्क चर्चा पनि बटुलेको छ, यो गीत कसरी तयार भयो ?
यो गीत २०६४ सालमा रेकर्ड भएको । चरम द्वन्द्व भएको बेला लेखेको गीत हो यो । देशको अवस्थाले गर्दा एउटा युवाले गाउँ, देश छाड्नुपरेको कथाहरु धेरै थिए । तिनै कथाव्यथालाई उन्दाउन्दा गीत तयार भयो ।

कस्तो बेलामा गीत लेख्नुहुन्छ, कसरी फूर्छन् यस्ता गीतहरु ?
तामाङहरुले जात्रातिर ठाउँका ठाउँ लामा लामा गीतहरु गाउँछन् । उनीहरुले लामा लामा जवाफहरु फर्काउछन् । ती सुनेर नै गीत लेख्ने प्रेरणा मिल्यो । तामाङहरु पहिलेपहिले सातदिन सातरातसम्म दोहोरी गीत गाउँथे रे । सुरुमा त मलाई पनि यस्ता गीतहरु लेख्न मुश्किल भएको थियो । पछि विस्तारै गीत लेख्ने बानी पर्‍यो ।

सात दिन सात रात के गीत गाउँछन् होला ?
जीवनमा सबैको प्रेम हुने रहेछ । प्रेममै मानिस बाँचेको हुने रहेछ । फेरि यो प्रेममा पीडा पनि सबैको हुने रहेछ । ती ओकल्ने ठाउँ कतै पाइदैन । मेला, जात्रामा ती पीडा गीतबाटै सुनाउने रहेछ । यसको अन्त्य कहिल्यै नहुने रहेछ । ती कुराहरुको वर्णन जति गर्‍यो, उति बढेर जाने रहेछ । आफ्नो व्यथा मुटुदेखि निकालेर गीतैबाट सुनाउन पाउँदा ज्यान हल्का हुने रहेछ । त्यसैले मानिसहरु भोकप्यास नभनी लामा लामा टुक्का हालेर घन्टौ गीत गाउँछन् । मनको पीडा निकास गर्ने माध्यम रहेछ गीत । त्यसैले पनि यति लामोसमय गाउन सकिने भएको होला ।

सम्बन्धित समाचार