गायक गम्बु शेर्पाको ‘मिसन मातृभूमि’ : अमेरिकामा जन्मेकी छोरीलाई नेपालमै पढाउने

July 18, 2018

आङछिरिङ शेर्पा/न्युयोर्क

गायक तथा समाजसेवी गम्बु शेर्पा १७ वर्षअघि अमेरिका आइपुगेका थिए । अमेरिकामा व्यवसायिक रुपमा ट्याक्सीमा लाग्दै उनी समूदायमा उतिकै सक्रिय भए । न्युयोर्कमा ट्याक्सी चलाउने क्रममा उनले ट्याक्सी मेडालियन खरिद गरे । सायद थोरै नेपालीहरुमा मेडालियन किन्नेहरुमा उनी पर्छ । मेडालियन न्युयोर्कको सडकमा ट्याक्सीको रुपमा चलाउनु पाउने सरकारी अनुमति नम्बर हो । जतिखेर मेडालियन किन्नु भनेको घर किन्नु जतिकै महाङगो थियो । लामो समय त्यही मेडालियन चलाउदै व्यस्त दैनिकीबाट समय बचाएर गम्बु विभिन्न देशहरुको स्टेजमा नेपालीलाई मनोरञ्जन दिन पुगे । शुरुमा सौखमा गाउँदै आएका उनको सांगीतिक यात्रा अब व्यवसायमा परिणत हुदै आएको छ । अमेरिकामा बसेर अन्य देशमा गाउने क्रममा उनले गायनबाट हुने आम्दानी नेपालमा रहेका अनाथ बालबालिकाको लागि खर्च गरे । उनकै सहयोगी मनले अहिले दर्जनौ टुहुरो बालबालिकाले शिक्षा पाइरहेका छन ।

अमेरिकामा व्यवसाय र कलाकारिता दुबैमा स्थापित भइसकेका गायक गम्बु शेर्पा यतिबेला मातृभूमि नेपाल फर्किएका छन् – नेपालमै केही गर्ने योजनासाथ । १७ वर्षसम्म अमेरिका बसेर धेरै कुरा प्राप्त गरिसकेका उनी किन नेपाल फर्कदैछन त ? यतिखेर धेरै जसोको मनमा यही कौतुहलता भइरहेको छ । उनी सबैको जिज्ञासा यसरी मेटाउँछन् ‘लामो समय विदेशमा बसियो अब आफनो जन्मभूमिमा केही गरौ भन्ने मनमा लागेर फर्कन लागेको हो ।’ यही जन्मेका छोरी र श्रीमतीकासाथ गायक गम्बुले अबको कर्मथलो मातृभूमि नेपाललाई बनाउन लागेको बताउछन् । ‘ अब मातृभूमिमा नयाँ जीवन शुरु गरौ भनेर लागेर हामीहरु फर्केको हौं,’ गम्बुले उत्साहित हुदै भने । तर बेला बेलामा अमेरिकामा साथीभाईलाई भेटने गरी फर्कने छु ।’

समय परिवर्तनसँगै अहिलेको राजनीतिक परिवर्तनले पनि गम्बुको मनमा नयाँ आशा पलाएको छ । कुनै समय द्वन्द्वले जर्जर मुलुक नेपालमा अहिले शान्ति स्थापना भएको छ । प्रवासमा धेरैजसो द्वन्द्वको चेपुवाबाट शान्ति खोज्न आएकाहरु छन् । अब मुलुकमै युवाहरुले केही गर्नुपर्छ भन्ने सोच बोकेका गम्बुले अमेरिकाबाट फर्कनुको अर्को आधार एभरेस्ट टाइम्सलाई यसरी सुनाए, ‘अहिले सरकार स्थायी बनेको छ । यही बेला केही गर्न सकिन्छ भन्ने मेरो आशा छ । कतिपय युवाहरु अवसरको खोजीमा हुनुहुन्छ । यस्तो बेला उहाहरुसँग मिलेर काम गर्दा केही रोजगारी सिर्जना गर्न सकिन्छ कि भन्ने लागेको छ ।’ सानोमा सिन्धुपाल्चोकमा गरेका संघर्षको ती दिनहरु सम्झन्छन ‘जीवन नै संघर्ष हो संघर्षले मेरोमा जीवनमा धेरै कुराहरु सिकाएको छ,’ खुसीको कुरो जहाँ गएपनि सबैको माया र सदभाव पाएको छु यसैमा सन्तुष्टि छु ।’

अबको सांगीतिक यात्रा

कुनै बेला तातोपानी गम्बु भन्दै आएका उनी ओखलढुंगा फिजीफलाटेका हुन् । उनले अहिलेसम्म ११ वटा सोलो एल्बम बजारमा पस्कि सकेका छन् । कलेक्सन एल्बम जोड्दा १६ पुगिसकेको छ । नेपालमा सन १९९४ बाट सांगीतिक यात्रा थालेको उनले सन १९९८ मा पहिलो एल्बम निकालेका थिए । अहिलेसम्म शेर्पा, नेपाली र तामाङ गरी डेढ सय जति गीत गाइसकेका छन् ।

गाउँबाटै सांगीतिक यात्रा शुरु गरेपनि अमेरिकामा आइपुगेर नै सांगीतिक क्षेत्रमा प्रगति भएको उनी स्वीकार्छन् । पहिलेको गायक गम्बु र अहिलेको गायक गम्बुबारे उनको धारणा यस्तो छ, ‘अहिलेको र पहिलेको गम्बुमा धेरै फरक छ । पहिले मलाई यो क्षेत्रमा खासै चेतना थिएन । अहिले सेन्टिमेन्ट बुझ्न सक्छु । विकसित देशमा बसेर हो कि ? नेपालमै भएको भए म सांगीतिक क्षेत्रमा पनि यतिको राम्रो गर्न सक्दिन थिए होला ।’

अमेरिकामै सांगीतिक क्षेत्रमा उन्नति गरेका बताउने उनले अब यो यात्रा निरन्तर अघि बढ्ने बताउछन् । ‘यो क्षेत्रमा लत लागिसक्यो अब अरु कुरा छोडेपनि गायन क्षेत्रमा कहिल्यै पनि छोडिने छैन,’ उनले भने । पहिले रहरै रहरमा गीत गाउने भए पनि अहिले यो पेशा जस्तो भइसकेकोले काठमाडौं झनै उर्वर हुने उनको दाबी छ ।

समाजसेवामा निरन्तरता

फुड क्लोथ एजुकेसन संस्थामार्फत समाजसेवामा अग्रसर भएका यी गायक समाजसेवामा पनि निरन्तर दिन चाहन्छन् । २०११ मा स्थापना भएको यस संस्थामा रहेर अहिले १५ जना बालबालिका काठमाडौं र ओखलढुंगाका विभिन्न विद्यालयका विभिन्न कक्षामा अध्ययनरत छन् । अमेरिकाको कमाईको केही प्रतिशत र गायनको कमाईबाट उनले बालबालिकाका लागि शिक्षा, खाना र कपडा अभियान चलाएका थिए ।

संस्था चलाउनकै लागि उनले अमेरिकामा हप्ताको सातै दिन काम गरेको अनुभव सुनाउछन् । ‘गायनबाट कति नै हुन्छ र कमाइ ? केही सहयोगीहरु र आफनै कमाइले यो संस्था अघि बढाउदै आएको छु ।’ ‘संस्था शुरुवातसंगै २०११ मा मनहरा खोलाबाट र वागमती खोलाबाट ५ जना अनाथ बालबालिका लिएका थियौं ’ उनले भने ५ जनाबाट अहिले १५ जना भएको छ । तिनीहरुमा ६ जना नयाँ वस्तीमा रहेको स्कुलमा पढ्दैछन् । उनीहरुमा एकजना विक भाई सिभिल इन्जिनियरिङ पढ्दैछन् । ९ जना ओखलढुंगामा फिजिफलाँटेमा पढ्दैछन् । उनीहरुका लागि खाना र बस्नको लागी फुड क्लोथ एजुकेसन मार्फत हेरचाह भइरहेको छ,’ संस्था स्थापनाको बारेमा गम्बु भन्छन्, ‘यो संस्था शुरु गर्न शुरुमा हेलम्बुको दावा शेर्पाको सहयोग रहेको छ । उहाँ नेपालमै बस्नुहुन्छ । यो काम शुरु गर्न उहाँले डेढ लाख सहयोग गर्नुभयो । एल्बम निकाले, भने सोचेजस्तो त एल्बमको सिडि बिक्दैन । पुस सेल गर्दा १० लाख जति भएछ । यसरी नै ११ लाख ५० हजारबाट संस्था सुरु गरेको हु । भगवानसग मैले यी बालबालिका नहुर्केसम्म आफूलाई दुःख विमार नहोस भनेर प्रार्थना गर्छु ।’

अहिले बच्चाहलाई आफ्नो बच्चालाई भन्दा राम्रो गर्नुपर्छ भनेर ट्रस्टी बनाएको उनले बताए । भने, ‘यसमा १ लाख राखेर ट्रस्टी बस्न सक्छन् । अहिले ४ जना हुनुहुन्छ । उहँहरुले यदि म केही भए यो संस्थाको जिम्मेवारी लिनुपर्छ । एकजना जेटब्लु चलाउनुहुन्छ । उहासँग भेट भएको छैन । फेसबुकबाटै उहाँ ट्रस्टी बन्नुभो । लामा एकाउन्टेन्टका नाम्गेल लामाले पनि यसै गर्नुभयो । इजरायलबाट शेर्पिनी कान्छी दिदी । कोरियाबाट डेन्डी शेर्पा र पासाङ शेर्पा । थिन्ले शेर्पा दावा शेर्पा हामी ७ जना । मेरो साांगितिक यात्रा वल्ड टुर हुदा १८ लाख कमाई भएछ । यो २ वर्षका लागि ढुक्कै छ । अब सकियो भने फेरि वल्ड टुर गर्छु ।’

रोजाई काठमाडौं र ओखलढुंगा

नेपाली माटोमा केही गर्ने उद्देश्यका साथ स्वदेश फर्केका गायक शेर्पा आफनो जन्मभूमि ओखलढुंगा र पहिलो कर्मभूमि काठमाडौं दुबै स्थानमा उति नै समय बिताउने योजनामा छन् । दुबै ठाउका रोजगारी सिर्जना गर्ने उनको लक्ष्य छ । भन्छन्, ‘नेपाल सरकार केही सहयोग गरौ र आफ्नै माटोमा केही गरौ भनेर फर्केको हु । काठमाडौंभन्दा बढी गाउँमै केन्द्रित हुन्छु । गाउँका कान्लाकान्लामा सडक पुगेको छ । गाउँमै रिसोर्ट खोल्यो भने राम्रो हुन्छ जस्तो लाग्छ । यसरी लगानी गरे गरीखान चाहने युवाहरुलाई सहयोग गर्न सक्छु जस्तो लाग्छ । वैदेशिक रोजगारको पीडा म सेयर गरौला । दुई महिना गाउँमै बसौला । गाउँमा भएको जग्गालाई उत्पादनमा लगाउला ।’

छोरी पनि काठमाडौंमै पढाउने

गम्बुको अमेरिकामै जन्मेकी ९ बर्षीया छोरी टासी इम्मा पनि बुबाको इच्छासँगै नेपाल फर्किइन् । उनी न्युयोर्क क्विन्सको पिएसवान फिप्टीटुमा कक्षा ३ पढ्दै थिइन् । संयोग पनि जुरेकै हो, यही जन्मेका प्राय बालबच्चाहरु नेपाल बस्ने गरी जान नमानेको बेलामा उनको छोरी टासी भने बुबाको जस्तै नेपालमा गएर बस्ने तीव्र चाहना सुनाईन् । ‘नेपाल मेरो पापाको देश हो । पापाले के सिकेको म पनि सिक्न चाहान्छु,’ उनले भनिन् ।

नेपाल जाँदा उनले अमेरिकामा भन्दा धेरै फाइदा देखेकी पनि रहेछिन् । उनले थपिन्, ‘नेपालमा नेपाली, शेर्पा, हिन्दी सबै सिक्न सक्छु । यहा अंग्रेजीमात्र पढ्न सकिन्छ ।’ आफू अमेरिका छाड्दै गर्दा साथीहरु मिस गर्नेमा भने अलिकति चिन्तित देखिइन् टासी । यसो त यसको न्यास्रो मेट्ने सजिलो उपाय पनि सुनाइ हालिन् । भनिन्, ‘ साथीहरु मिस गर्छु । तर पनि केही छैन, समय मिले स्कुल ब्रेक हुने बेला अमेरिका आइहाल्छु नि ।’

धेरैजसो नेपाली आफन्त आफ्ना सन्तानले सुविधाससम्पन्न देश अमेरिकामा पढाउन मरिहत्ते गर्छन् । तर, गम्बु भने आफ्नी छोरीलाई नेपालमै लगेर पढाउदै छन् । किन त ? गम्बुको एउटै भनाई छ, छोरीले नेपालीपनलाई नजिकबाट नियालोस भनेर । ‘देशलाई माया गर्ने, देशको कला संस्कृतिलाई माया गर्ने मेरो सन्तान अमेरिकामा जन्मेर उ अमेरिकन भएर, यही वैज्ञानिक भएपनि, यहाँ पिएचडी गरे पनि यदि मेरो देशको माटोलाई माया गर्दैन, मेरो देशप्रति लगानी गर्दैन, मेरो देशको सेन्टिमेन्ट बुझ्दैन, फिल गर्दैन भने म नेपाली हुनु बेकार जस्तो लाग्छ । किनकि कुनै नेपालीको सन्तान अमेरिकामा जन्मेर पढेर पिएचडी सकाएर पनि नेपाल चिन्दैन, नेपाली भाषा पनि बोल्दैन, नेपाली भौगोलिक अवस्था बुझ्दैन भने त्यो ज्ञान उसको जीवनमा मात्र सीमित हुन्छ,’ निर्धक्क भने गम्बुले ।

जीवनमा धेरै साथी बनाउने उमेर किशोरावस्था भएको र छोरीको त्यो अवस्था नेपालमै बितोस भन्ने चाहना राख्छन् गम्बु । भने, ‘टिनेजसम्म नेपालमा रहोस भन्ने मेरो चाहना हो । टिनेजमा धेरै साथीहरु बन्छन् । मैले पनि यस्तै बेला साथी कमाएको हुँ । छोरीले पनि साथी कमाओस भन्ने चाहना हो ।’

छोरीले नेपालमै प्लस टु गर्न मानेमा गम्बु नेपालमा सात वर्ष बस्ने योजनामा छन् । यसपछिका समय अमेरिका र नेपाल गरेर विताउने उनको योजना छ । अमेरिकामा कमाइ गर्दै रहेकाहरुलाई उनको सुझाव छ, ‘धेरै युवाहरु युवाअवस्थामा अमेरिका आउनुभयो । दुःख गर्नुभयो । पैसा पनि कमाउनुभएको छ । नेपालीमा कन्भर्ट गर्दा २–३ करोड होला नै । हामी आउदा विमानस्थलमा हामी देख्छौ खाडीमा हाम्रा युवाहरु कोचिएर जान्छन् । यस्ता युवाहरुले नेपालमै रोजगारी पाउन हामीले आफूले सिकेको सीप लगाएर नेपालमै लगानी गर्दा राम्रो होला जस्तो लाग्छ । ३०–३५ लाख लगानी गरे यहाँ भन्दा धेरै नाफा कमाउन सकिन्छ । नेपाली भएर जन्मनुको गर्व यही छ जस्तो मलाई लाग्छ ।’

सम्बन्धित समाचार