‘गोरे’ जेल चलान : सुन तस्करीमा नेतादेखि उच्च तहका प्रहरी संलग्न रहेको दाबी

May 27, 2018

काठमाडौं । ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङले पूर्पक्षको लागि थुनामा पठाएको छ। उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको हो।

चार दिन लामो बन्द इजलासमा भएको बयानपछि आइतवार नै थुनछेक बहस भएको थियो। जिल्ला न्यायाधीवक्ता पुण्य पाठकले सरकारको पक्षमा र गोरेका पक्षमा वकिल यमबहादुर मगर बहस गरेका थिए। गोरेलाई सुन प्रकरण र सनम शाक्य हत्या अभियोगमा मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको थियो। सुन प्रकरण र हत्याको अभियोगमा जिल्ला अदालत मोरङले एसएसपी सहित २८ जनालाई पूर्पक्षका लागि थुनामा पठाइसकेको छ।

न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले उनलाई थुना पठाउने आदेश दिएको हो।

नेता र उच्च तहका प्रहरी अधिकारीलाई पक्रेपछि पत्ता लाग्ला

चार दिन लगाएर जिल्ला अदालत मोरङले बन्द इजलासमा गरेको बयानमा गोरेले सुन तस्करीका मुख्य नाइके प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका नेताहरु भएको बताएका छन् ।

३७ पृष्ठ बयानमा गोरेले भनेका छन् -‘सुन तस्करी गर्ने कार्यमा प्रहरी उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला नेताको मिलोमतो हुनेगर्छ। को को संलग्न छन्, म भन्न सक्दिनँ ।

दुबईबाट आएको ३८ सय किलो सुन भारत जाने गरेको समेत उनले बयानमा खुलाएका छन् । गोरेले भनेका छन्, ‘तस्करीबाट आएको सबै सुन इन्डिया जान्छ। म सुन तस्करीमा सहयोग गर्ने तत्लो लेभलको मानिस भएकाले लेखिए बमोजिमको बिगो हुने होइन ।’

गोरेले सनम शाक्यको हत्या गरेको पनि अस्वीकार गरेका छन् । बयानमा उनले भनेका छन्- ‘मैले करेन्ट लगाएको पनि छैन।’ गोरेले प्रहरी अधिकारी पक्राउ परेपछि तस्करीको सबै पाटो खुल्ने बताए ।

सम्बन्धित समाचार