पत्रकारहरुमा आलोचनात्मक चेत हराउँदै गएको देखिन्छ – महासंघ अध्यक्ष आचार्य [वार्ता]

July 20, 2018

नेपालमा राजनीतिक स्थायित्व कायम हुदैंछ । द्वन्द्व, राजनीतिक तरलताले देशको चौथो अंग मानिने पत्रकारिताको क्षेत्रको स्थिति दयानीय बनेको थियो । द्वन्द्वकालमा पत्रकारले विभिन्न आरोपमा ज्यानै गुमाएको थियो । तर, पत्रकारिता जगतको उल्लेख्य योगदान, जनताको आन्दोलन र राजनीतिक नेतृत्वको सशक्त आन्दोलनले नेपाल संघीयतामा प्रवेश गरिसकेको छ । देशमा संघीयताको अभ्यास सुरु भइसकेको छ । संघीयताअनुसार तीनै तहको निर्वाचन सम्पन्न भइसकेको छ । यही परिवेशमा पत्रकारितामा नयाँ किसिमका चूनौतीहरु पनि थपिन थालेका छन् ।

स्वतन्त्रताको उपभोगका नाममा आचारसंहिता उल्लंघनका घटना बढ्न थालेका छन् । तुलनात्मक रुपमा पत्रकारहरुमाथि धम्की घटेपनि अझै यस्ता घटनाहरु दोहोरिरहेका छन् । दुईतिहाई मतसहितको वामपन्थी सरकार रहेकोले पत्रकारिता क्षेत्रले स्वतन्त्रताको अभ्यास गर्न पाउँदैनन् कि भन्ने शंका पनि उब्जिन थालेको छ । राजनीतिकदेखि राज्यका विभिन्न अंगमा समावेशिताको अभ्यास हुदै गर्दा पत्रकारिता क्षेत्रमा यस्तो हुन सकिरहेको छैन । यसै सन्दर्भमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीको सम्पादित अंशः

महासंघको नेतृत्वमा आउनुभएको एक वर्ष पुग्नै लागेछ, यो अवधिमा तपाईंले नेपाली पत्रकारतिाको अवस्था कस्तो पाउनुभयो ?
समग्रमा भन्नुपर्दा पत्रकारहरुको भौतिक सुरक्षा विगतभन्दा सुधार भएको छैन । महासंघले नियमित अनुगमन गरेकाले यसमा केही कमी आएको छ । यो भन्दा पनि पेशागत रुपमा असुरक्षा बढिरहेको छ । तलब समयमा नपाउने, नियुक्तीमा नपाउनेजस्ता पेशागत असुरक्षा हुन् । पेशागत रुपमा असुरक्षित छन् नै समाचार लेखेकै कारण पनि धम्की, आक्रमणका घटना, गिरफ्तरजस्ता विषयले सेल्फ सेन्सरसिपतिर लागेका छन् । यस्ता घटनाप्रति चनाखो हुँदै प्रेस स्वतन्त्रताको अभ्यासलाई निरन्तरता दिन महासंघले सक्दो प्रयास गरिरहेको छ ।

‘सेल्फ सेन्सरसिप’ कै कुरामा पत्रकार आफै जोगिन पनि यस्तो कदम चालेको जस्तो देखिन्छ, यसले पत्रकारितालाई कतिको हानी पुर्‍याउँला ?
आचारसंहिता पालना गर्नु ठीक हो । तर, अलोचानात्मक चेतमा पहिले भन्दा अलिअलि कमी हुदै आएको छ । हरेक नागरिकलाई प्रश्न सोध्ने अधिकार, विभिन्न सार्वजनिक निकायमा बस्ने व्यक्तिको सूचना माग्न र आलोचना गर्न पाउने अधिकारका कुराहरुका अभ्यासमा केही कमी आएको हो कि जस्तो मलाई पनि लागेको छ । यसले हाम्रा सूचना र विचारहरु सार्वजनिक गर्न पाउने अधिकार आलोचनात्मक चेतमाथि नै प्रहार भएको छ । सत्तामा पुगेकाहरुको सकेसम्म सत्तामा बस्नेहरुको आलोचन नगरोस भन्ने सोच्छन् । मन्त्रीहरु आफ्नो आलोचना नहोस, सकेसम्म गुणगानमात्र गाइदेओस भन्ने सोच्छन् । पत्रकारमा पनि यस्तो खालको स्वाभव कताकता देखिन थालेको छ । आलोचना नगर्ने, ममात्र किन छुच्चो बन्ने जस्तो । सके गुणगान गाउँछु । नसके चुप लागेर बस्ने प्रवृत्ति देखिन थालेको छ । यो गम्भीर विषय हो । आलोचनात्मक चेत हराउँदै गएमा पत्रकारिताको साँचो अभ्यास हुन सक्दैन ।

अधिनायकवाद आउने हल्ला पनि छ, यसले प्रेस स्वतन्त्रामाथि त अंकुश लाग्ला नि ?
पत्रकार महासंघ स्थापनाकालदेखि नै स्थायी प्रतिपक्षी हो । राजनीतिक दल सत्ताका लागि प्रतिपक्षीको भूमिकामा हुन्छ । राजनीतिक दलले सत्ताका लागि कूर्सीका लागि राम्रा कामलाई पनि नराम्रो भन्न सक्छन् । तर पत्रकार महासंघले यस्तो गर्दैन । राम्रो कामलाई सहयोग गर्ने, नराम्रो कामलाई आलोचना गर्ने महासंघको काम हो । जुन विगतदेखि नै गर्दै आएको हो । वामपन्थी सरकार रहेको बेला अधिनायकवाद आउने हल्ला चले पनि हामीलाई यस्तो लाग्दैन । जनताको अथक प्रयासपछि आएको सरकारले संविधान नै बदलेर मौलिक हक हनन् गर्छ जस्तो लाग्दैन । संविधानबाहिर यो जान सक्दैन । वामपन्थी आयो भन्दैमा लोकतन्त्र सखापै भयो भन्ने हुदैन ।
यस्तो भन्दै गर्दा सत्ताको चरित्रलाई हामीले सम्झनुपर्छ । सत्ताको चरित्र अलि फरक हुने रहेछ –आफूलाई गरिने आलोचना बन्द गराउने । पहिलेका लोकतान्त्रिक भनिने सरकारले पनि आफुतिर आएको आलोचना बन्द गराउने कार्यमा लागेकै हो । गिरफ्तार र हत्यासम्म पनि भएका छन् । आलोचना गर्नेलाई कसरी ठीक पार्ने भन्नेसम्मका घटना भएका छन् । यस्तो भएमा महासंघ सशक्त रुपमा लाग्नेछ । हिजो पनि सशक्त रुपमा उत्रेकै हो । सडकमा पुगेर आन्दोलन गरेको हो । अहिले पनि हामी निरन्तर प्रेस स्वतन्त्रताका पक्षमा काम गरिरहेका छौं । पत्रकारमाथि कुनै पनि अंकुश लाग्यो भने हामी चुप लागेर बस्दैनौ ।

पत्रकारिता क्षेत्रमा समावेशी सहभागिताको अवस्था पनि उस्तै छ, महासंघले यसलाई कसरी हेरिरहेको छ ?
देशमा राजनीतिक परिवर्तन भइसकेपछि राजनीतिक एजेन्डा सेट भएको छन् । मुलुक संघीयतामा गइसकेपछि तीनै तहमा निर्वाचन भइसकेका छन् । अब राजनीतिक स्थायित्व केही समयमै हुन्छ भन्ने हाम्रो विश्वास हो । स्थायित्वसँगै देशको विकास र समृद्धि हुन्छ भन्ने हामीलाई लागेको छ । तर, राज्यसत्ता संघीय लोकतान्त्रिक आइसक्दा राजनीतिक दलको निशानामा पत्रकारिता परेजस्तो लाग्छ ।
लोकतन्त्र आएन भनेर सडकमा हिँडेका पत्रकारिता क्षेत्रलाई वेवास्ता गर्ने काम भएको छ । अघिल्लोपटक केपी ओली प्रधानमन्त्री हुँदा आमसञ्चार नीति–२०७२ बनेको थियो । यसमा मिडियालाई समावेशी बनाउने कुरा थियो । त्यो मात्र कार्यान्वयन भए समावेशी बन्थ्यो । तर सबैमा परिवर्तन भएमा पनि मिडिया क्षेत्रमा परिवर्तन हुन सकेको छैन । हाम्रो माग यो नीति कार्यान्वयनमा आउनुपर्छ ।

एकजना पत्रकारलाई संगठन कतिको आवश्यक पर्नेरहेछ ?
एकजना सम्पादकलाई हामीले छलफलका लागि बोलाएका थियौ । उहाँले भन्नुभयो–मलाई चाहिदैन । त्यति भनेर उहाँ सम्पादकहरुको छलफलमा आउनै भएन । केही समयपछि उहाँलाई एउटा काममा गाह्रो परेछ । त्यसपछि फोन गरी महासंघ बोल्दिनुप¥यो भन्नुभयो । यसैलाई हेर्दा हामीलाई संगठन चाहिन्छ । ६० वर्षभन्दा लामो इतिहास बोकेको संस्थाले पत्रकारलाई अप्ठेरो पर्दा सडकसम्म पुगेको संस्था हो । यस्तो संस्था चाहिन्छ नै । अबका दिनमा अब महासंघले के दियो भन्ने मात्र हैन हामीले के दियौ भन्ने पनि सोच्नुपर्छ ।

तपाई निकै अघिदेखि पत्रकारितामा हुनुहुन्छ, पछिल्लो प्रविधिसँग कसरी तुलना गर्नुहुन्छ ?
२०४९ बाट पत्रकारिता सुरु गरेको मैले । त्यतिबेला लेटर प्रेस हुन्थ्यो । अक्षर हातले मिलाएर छापिने गरिन्थ्यो । त्यसपछि अफसेट प्रेस आयो । यसमा प्लेट बनाएर समाचार छाप्ने चलन आयो । त्यसपछि कम्प्युटरमा डिजाइन हुन थाल्यो । त्यसपछि अनलाइन आएको छ । प्रविधिको विकासले नयाँ नयाँ चूनौती थपेको छ । एकैछिनको समाचार एकैछिनमा पुरानो भइसक्छ । छापा पत्रकारिताबाट अनलाइन÷विद्युतीय पत्रकारतिा मेनस्ट्रिम पत्रकारिता हुन थालिसकेको छ । भिजुअल, फोटो, टेक्ट्स, अडियो सबै अनलाईनमा आउँछ । अब यसमा विस्तारै सबै आउन थालिसकेको छ । जति नयाँ नयाँ हुदै आएको छ पत्रकारितालाई उत्तिकै चुनौति थप्दो छ । भोलिका दिनमा कस्तो प्रविधि आउने हो । हामी अब कसरी चल्नुपर्ने हो भन्ने विषयसमेत हामीले सोच्नुपर्ने अवस्था छ ।

पछिल्लोपटक अनलाइनहरु बिकाउ समाचारमा लागेका छन्, यसले गर्दा मिडियाकै बदनामी भइरहेको छ, कस्तो लाग्छ तपाईलाई ?
दुईचार अनलाईन गर्दा सिंगो अनलाइन सञ्चारलाई यस्तो दोष दिन मिल्दैन । सूचीकृत भएका अनलाइनहरु बहुसंख्यक राम्रा नै छन् । केही नेगेटिभ पत्रकारहरुका कारण यस्तो भन्न मिल्दैन । सूचीकृत नभएका यस्ता अनलाइनहरुको विश्वास गर्न हुन्न । हामीले पोजिटिभ पाटोलाई हेर्ने हो । समाजमा नेगेटिभ पाटो पनि छ, पोजिटिभ पाटो पनि छन् । नराम्रालाई एक्स्पोज गर्न भएन । भावी दिनमा सुधार गर्नुपर्छ ।

तर आचारसंहिता उल्लंघनको घटना त अनलाइनकै कारण बढिरहेको छ देखिन्छ नि ?
पहिलो कुरा त पत्रकार महासंघले प्रेस स्वतन्त्रताका लागि वकालत गर्ने र यसको रक्षामा लाग्ने हो । यसबाहेक पत्रकारितामा व्यक्तिगत गोपनियताको अधिकार र राष्ट्र हितको विरुद्ध हामी लाग्नु हुदैन । हामीले आचारसंहिता पालना गर्नु पर्छ भन्ने हाम्रो विचार हो । यसो गरेमा यस्ता घटना विस्तारै घट्दै जानेछन् ।

अन्त्यमा, नेपाली पत्रकारिता विकासका लागि नेजाको भूमिका कस्तो लाग्छ तपाईलाई?
नेजाले अमेरिकाजस्तो विशाल देशमा छरिएर रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै उहाँहरुको हकहितको कुरामा काम गरिरहेको पाएको छु । त्यसैगरी नेपालको विकास र समृद्धिको लागि गरेको काम हेर्दै थाह हुन्छ, यो संस्थाको आफ्नै गौरव छ । आफ्नै इतिहास छ । नेजा स्वायत्त संस्था पनि हो । यसले नेपाली भाषा र नेपाली विषयलाई पत्रकारितामार्फत सहयोग गरिरहेको छ । नेपालको पत्रकारितालाई सहयोग गर्ने, दुर्गममा पत्रकारिता गर्नेलाई पुरस्कृत गरी सहयोग गर्ने र नयाँ प्रविधि भित्र्याउने काममा यसको योगदान छ । अमेरिकामा दर्ता भएपनि नेपालमा पनि योगदान गरिरहेको छ नेजाले । विदेशी भूमिमा रहेर पनि नेपालीको हितमा गरेर काम गर्नु ठूलो त्याग नै हो । हाम्रो भाषा र पहिचानलाई स्थापना गर्न नेजाले महत्वपूर्ण भूमिका खेलेको छ ।

सम्बन्धित समाचार