गुरुङ चेलीहरु अमेरिकामा सम्मानित

May 18, 2017

एभरेस्ट टाइम्स/न्युयोर्क

संयुक्त राष्टसंघ आदिवासी जनजाति स्थायी मञ्च (युएन परमानेन्ट फोरम अन इन्डीजिनियस इस्यु) मा सहभागी हुन न्यूयोर्क आइ पुगेका तीन गुरुड चेलीलाई सम्मान गरिएको छ । न्यूयोर्कमा रहेको तमू परिवारले पत्रकार प्रेमकुमारी घले, प्राध्यापक तथा अधिकारकर्मी प्रतिमा गुरुङ र स्वतन्त्र पत्रकार मच्छे गुरुडलाई सम्मान गरेको हो ।
न्यूयोर्कमा आयोजित एक कार्यक्रममा उनीहरुलाई तमू परिवार न्यूयोर्कका अध्यक्ष डम्बर बहादुर गुरुड, उपाध्यक्ष मनिता गुरुड, सचिब डिबी गुरुड लगायतले प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका हुन् ।
गुरुङ समुदायमा जन्मेर विभिन्न पेशा मार्फत आफ्नो समुदाय, र आदिवासी जनजाति समुदायको लागि महत्वपूर्ण योगदान पुरयाएको भन्दै समान गरेको हो । आदिवासी जनजातिहरुको पहिचान र अधिकारको बिषयमा राज्यका विभिन्न निकाय र अमेरिकामा अवस्थित संयुक्त राष्ट्र संघ मुख्यालयसम्म आवाज उठाउन सफल भएको भन्दै उहाँहरुलाई सम्मान गरिएको तमू परिवारले जनाएको छ ।
पत्रकारिता र वकालत पेशामा लामो समय काम गर्नुभएका मच्छे गुरुङ नेपाल अमेरिका पत्रकार संघ नेजाको केन्द्रिय सदस्य हुन् । अध्ययनको सिलसिलामा डेढ बर्षदेखि अमेरिकामा रहनुभएका गुरुङ नेपालमा रहँदा, रेडियो सगरमाथा, संचारिका समूह लगायतका संचार संस्थामा कार्यरत थिइन् । उहाँ महिला, आदिवासी जनजाति र कानुनका क्षेत्रमा बिशेष दख्खल राख्दछिन् ।
त्यस्तै, विगत १२ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल घले हाल संचारिका समूहद्धारा संचालित महिला खबरको सम्पादक हुन् । उनी लमजुडको सामुदायिक रेडियो मस्र्याडदीका सचिब तथा निर्वातमान स्टेसन म्यानेजर, कान्तिपुरकी पूर्व संवाददाता, सामुदायिक रेडियो प्रसारक संघको केन्द्रिय सदस्य लगायत विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल छिन् ।
राष्टिय आदिवासी जनजाति अपांग महिला संघका अध्यक्ष प्रतिमा गुरुङ पद्यमकन्या क्याम्पसका प्राध्यापक तथा लैगिक तथा अपांगता भएका जनजाति महिलाको क्षेत्रमा लामो समयदेखि क्रियाशिल छिन् ।

के हो युएन परमानेट फोरम?

संयुक्त राष्टसंघको आदिवासी जनजाति स्थायी मञ्च (युएन परमानेन्ट फोरम अन इन्डीजिनियस इस्यु) विश्वभरका आदिवासी जनजाति समुदायको आवाज उठाउने उच्चस्तरीय मञ्च हो । यसको हरेक बर्ष हुने सभाले जनजातिहरुको सवाल पहिचान गर्नुका साथै विश्वका हरेक राष्टलाई आफ्नो सवाललाई सम्बोधन गर्न दवाव सिर्जना गर्दछ । यस पटक अप्रिल २४ बाट शुरु भएको १६ औं सभाले युवा, महिला र अपांगता भएकाहरुको विषयलाई विषेश जोड दिएको छ ।
खासगरि सभामा आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सघिय घोषणपत्रको १० औं बर्षको अनुमोदनको अवस्था कार्यान्वयनको स्थिति, दिगो विकास लक्ष्य २०३०, आदिवासी जनजातिहरुको नविनतम जल्दाबल्दा मुद्धाहरु, संयुक्त राष्टसंघमा जनजातिको अर्थपूर्ण सहभागिता जस्ता विषयमा छलफल केन्द्रित रहेको छ ।
यि विषयहरुमा गरिएको छलफलबाट सभाको अन्तिम दिन मे ५ मा १६ औं सभाको प्रतिवेदन जारि गर्नेछ । त्यही प्रतिवेदन तथा प्रतिवद्धताको आधारमा हरेक राज्यले आफ्नो नितिनियम, कानून तथा योजना बनाउन र कार्यान्यवन गर्न दवाव सृजना गर्दछ ।

सम्बन्धित समाचार