कुसुण्डा भाषाकी एक्ली ज्ञाता ज्ञानीमैयाको निधन

January 26, 2020

तुलसीपुर– विश्वमै एकमात्र कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको शनिबार निधन भएको हो ।

उनी विश्वकै एकमात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति हुन् । उनको निधनसँगै कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको यस भाषाका अनुसन्धानकर्ता उदय आलेले बताए । ‘विश्वमा उहाँमात्रै कुसुण्डा भाषा बोल्ने ब्यक्ति हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँलाई हामीले कुसुण्डा भाषाको शब्दकोषका रुपमा समेत लिएका थियौँ, तर उहाँको निधनले कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको छ ।’

कुसुण्डा पुसको अन्तिम सातादेखि बिरामी थिइन् । उनको प्रारम्भिक उपचार लमहीस्थित फ्लोरेन्स अस्पतालमा गरिएको थियो भने थप उपचार कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो । उनको अवस्था सुधार नभएपछि घरमै राखिएको थियो । अब दाङको लमहीमा उनका काकाकी छोरी कमला कुसुण्डाले मात्रै यो भाषा बोल्न जानेकी छिन् ।

ज्ञानीमैयाका एक मात्र छोरा प्रेमबहादुरको छ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो । उनका दुई छोरीको विवाह भइसकेको छ । घरमा उनकी बुहारीले नै हेरचाह गर्दै आएकी थिइन् ।

कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार दाङमा ९८ र देशभर २७३ जना कुसुन्डा छन् ।

सम्बन्धित समाचार