शिल्पीमा गुञ्जिए ‘हाक्पारे’, ‘लिम्बुको सुखदु:ख साट्ने माध्यम’

January 8, 2019

काठमाडौं। राजधानीको शिल्पी थिएटरमा लिम्बु जातिको इतिहास झल्काउने तीन प्रकारको हाक्पारे गीत प्रस्तुत गरियो ।

मंगलवार बत्तिसपुतलिस्थित शिल्पी नाटकघरमा रैथाने संगीत समुहले श्रृंखला -१ अन्तर्गत लिम्बु जातिको हाक्पारे गीत प्रस्तुत गरिएको हो ।

कार्यक्रममा गायिका झुमा लिम्बु, गायिका मनु नेम्बाङ र गायक लोकमान वनेमले तीन फरक विधाको हाक्पारे गीत प्रस्तुत गरे । सो गीतलाई वाद्यवाधक परम्परा ब्यान्डका शम्भु बानिया, पारसमणि सुवेदी, बुद्ध लामा र धर्म गन्दर्भ संगीत दिए ।

कवि तथा मुन्दुमविद् बैरागी काईला र समाजशास्त्री डा. चैतन्य सुब्बाले हाक्पारे गायन सम्बन्धी आफ्ना धारणा राखेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काईलाले हाक्पारे गीत समग्र रुपमा हेर्दा नेपालको लोकगीतको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै भने, ‘आफ्नै मनको वह आफुसँगै भएको साथी या सुन्न उपस्थित भएका जनसमूहलाई मात्रै सम्बोधन गर्नको लागि हो । टिकट कटाएर स्टेजमा गाउने गीत हैन ।’

हुलमा गाएता दुई जना भएर एक अर्कामा मात्र गाइरहेको हुन्छ । उनले भने, ‘आफ्नो कुरा आफ्नो जोडीलाई मात्र भनिरहेको हुन्छ । यो जीवनको एउटा शैली रै छ ।’

उनले गीतको सुरुवात गर्दा पहिला आफ्नो जोडीलाई सम्बोधन गर्ने चलन हुने बताए । भने ‘यो गीत सम्बोधन गरी हालखबर सोधिन्छ । साथै, दु:ख, सुख अनि मायाप्रेमकोसमेत कुराकानी गर्ने गरिन्छ ।’

उनले धान नाचमा मात्र मायाप्रीतिका कुरा नहुने प्रष्ट पार्दै भने, ‘धाननाचमा मात्र मायाप्रितिका कुरा हुन्छन् भन्ने सुनेको थिए । तर, होइन रैछ, यसबारेमा थप खोज अनुसन्धान गर्दै जादा धान नाच भन्दा धेरै गहन विषयको उठान गर्दो रहेछ हाक्पारे गीतले ।’

समाजशास्त्री डा. सुब्बाले हाक्पारे लिम्बु जातिको विशिष्ट प्रकारको गीत भएको उल्लेख गर्दै भने, ‘लिम्बुको इतिहास झल्काउने सबै भन्दा पुरानो गीत हो हाक्पारे ।’

हाम्रा पुर्खाहरु जंगलमै बासस्थान हुँदादेखि नै हाक्पारे गीतको रचना भएको किटान गर्दै भने, ‘हाम्रा पुर्खाहरुले दश हजार बर्ष भन्दा अगाडिबाट नै यो गीत गाइदै आइरहेको छौं । हाम्रा पुर्खाले ओढारमा बसेर गाउनु हुन्थ्यो रे हाक्पारे गीत ।’

सामान्य घटनादेखि गम्भीर विषयको विश्लेषण गर्छ यो गीतले । उनले थपे, ‘हाम्रो समुदायको प्रतिष्ठान, माया-प्रेम साथै सदभाव सबै प्रकारको सुन्न पाइन्छ । हाक्पारे गाउने गायकलाई साम्लो दियाहाङवा र गायिकालाई साम्लो दियाहाङ्मा भनिन्छ ।’

सम्बन्धित समाचार