सहस्राब्दी पदमार्गमा लोपोन्मुख हुचीलको महोत्सव तयारी

January 23, 2020

पोखरा– हाम्रो समाजले देखे जानेको तर खासै नबुझेको चरा हो, लाटाकोसेरो तथा हुचील । किसानको साथी भनेर चिनिने यो चरा पछिल्ला वर्षमा लोप हुँदै जान थालेपछि यसको संरक्षण यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ ।

लोपोन्मुख प्रजातिमा पर्ने यो चराका विश्वमा २२५ प्रजाति रहेका छन् भने नेपालमा २३ प्रजाति रहेको तथ्याङ्क छ । यसको संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यका अनुसार वर्षेनी बढ्दै गएको वन विनासका साथै वातावरण प्रदूषण र चोरी निकासीका कारण यो चरा सङ्कटमा पर्दै गएको छ ।

लाटोकोसेरो तथा हुचील सङ्कटमा पर्दै गएको अवस्थालाई दृष्टिगत गरी विश्वमा नै विभिन्न किसिमबाट यसको संरक्षणको प्रयास थालिएको बताउँदै निर्देशक आचार्यले नेपालमा सन् २००८ बाट संस्थागत रूपमा नै संरक्षणका लागि पहल भइरहेको बताए । नेपाल सरकारले पनि यसलाई जोगाउनका लागि कार्ययोजना बनाउन लागेको छ । ‘संरक्षणका लागि सर्वसाधारणमा जनचेतना अभिवृद्धि अपरिहार्य भएको कुरालाई दृष्टिगत गर्दै विगत नौ वर्षयता वर्षेनी हामीले लाटोकोसेरो उत्सव पनि गर्दै आएका छौँ,’ उनले भने ।

अघिल्लो वर्ष मात्रै खोटाङको जालपामा गरिएको उत्सवको प्रभावस्वरुप त्यहाँ विद्यार्थीले त्यहाँका केही घरमा पालिएका लाटोकोसेरोलाई खुल्ला जङ्गलमा छोड्नका लागि अभिभावकलाई प्रेरित गराएको अनुभव ताजै रहेको उनले बताए । उत्सवसँगै सरकारीस्तरबाट पनि यसको संरक्षणमा चासो बढेको उनको भनाइ छ ।

नेपालमा धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा यो उत्सव सम्पन्न भइसकेको छ । यस किसिमको उत्सव नेपालबाहेक अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ । लाटोकोसेरोले विशेषतः खेत बारीमा रहेका मुसा खाइदिने गर्दछ । एक जोडी लाटोकोसेरोले फुल पारेर बच्चा कोरल्दासम्म तीन हजार वटासम्म मुसा खाने अध्ययनले देखाएको छ । कृषकलाई मुसाबाट बाली जोगाउन विशेष सहयोग गर्ने भएकाले यसलाई किसानको साथीका रूपमा लिने गरिएको हो ।

पछिल्ला वर्षमा नेपाल आउने मध्ये लगभग आठ प्रतिशत विदेशी पर्यटक लाटोकोसेरोसहितका चरा हेर्न आउने भएकाले यिनीहरूको संरक्षण चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । यसको संरक्षणमा सहयोग पुर्‌याउने उद्देश्यका साथ यस वर्ष मध्यपहाडी क्षेत्रस्थित मिलेनियम ट्रेक (सहस्राब्दी पदमार्ग) अन्तर्गतको राङभाङ–भैँसेगौँडामा यही माघ २४ र २५ गते ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६ गर्न लागिएको निर्देशक आचार्यले बताए ।

स्याङजा जिल्लाको विरुवा गाँउपालिका–३ र पुतलीबजार नगरपालिका–२ को सिमानास्थित पर्यटकीयस्थल राङभाङ भैँसेगौँडामा उत्सव गर्न लागिएको मूल आयोजक समितिका संयोजक बालकुमार गुरुङले बताए । पदयात्रा र चरा पर्यटनका लागि महत्वपूर्ण गन्तव्य जस्तै रहेको सहस्राब्दी पदमार्गअन्तर्गत पर्ने यस क्षेत्रमा पाँच प्रजातिका लाटोकोसेरो पाइन्छ ।

कार्यक्रमअन्तर्गत उत्सव सुरु हुनभन्दा दुई साताअघि नै विभिन्न विद्यालयमा लाटोकोसेरो चेतना शिविर सञ्चालन गरिने छ । त्यस्तै विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिता आदि गरिनेछ । प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचना, चित्र, तथा फोटा प्रदर्शनीका साथै गहुँको छ्वाली, चुरा, ढुङगा, स्टीलको पाता, लप्सीको दाना तथा माटो आदिबाट बनाइएका लाटोकोसेरोका नमूनाका साथै सो चराको एक फिट अग्लो रोबोट प्रदर्शनी गरिनेछ ।

प्रदर्शनी स्थलमा आठ प्रजातिको लाटोकोसेरोको आवाज सुन्ने र भिडीयो हेर्ने व्यवस्था मिलाइने छ । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीको लाटोकोसेरो संरक्षणसम्बन्धी नाच, त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राकृतिक विज्ञान सङ्ग्रहालयबाट लाटोकोसेरोको नमूना एवं अनुसन्धानात्मक सामग्री पनि प्रदर्शनीमा राखिने गुरुङले जानकारी दिए ।

उत्सवमा लाटोकोसेरो र यससँग सम्बन्धित विविधताको प्रदर्शनीका अतिरिक्त स्थानीय लोपोन्मुख खेल तथा सांस्कृतिक गीत तथा नाचको प्रर्दशनी गरिनेछ । तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्गअन्तर्गत लगभग बीच भागमा राङभाङ-भैँसेगौँडा पर्ने मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए।

धेरै सम्भावना भएर पनि अपेक्षित प्रवर्द्धधन र विकास हुन नसकेको यस पदमार्गअन्तर्गत राङभाङ–भैँसेगौँडामा हुन लागेको महोत्सवलाई महत्वका साथ हेरिएको छ । ‘सहस्राब्दी पदमार्गले स्याङजा र तनहुँ जिल्लाका चारवटा नगरपालिका र एउटा गाउँपालिका समेटेको छ,’ महासचिव गुरुङले भने, ‘समुन्द्र सतहबाट करिब एक हजार ५०९ मिटरको उचाइमा रहेको यो उत्सवस्थलबाट अन्नपूर्ण, धौलागिरी, मनास्लुलगायतका हिमशृङ्खला छर्लङ्ग देखिन्छ ।’

मिलेनियम ट्रेक व्यवस्थापन समितिले नेपाल भ्रमण वर्ष २०२० मा ५० हजार पर्यटकलाई यस पदमार्गमा हिँडाउने लक्ष्य सार्वजनिक गरेकोमा हुन लागेको लाटोकोसेरो तथा हुचील उत्सव महत्वपूर्ण बन्ने विश्वास लिइएको महासचिव गुरुङले बताए ।

सम्बन्धित समाचार