उत्तर कोरियाद्वारा हाइड्रोजन बमको परीक्षण, शक्तिशाली राष्ट्रहरुमा हलचल

September 3, 2017

सोल । उत्तर कोरियाले आइतबार एक शक्तिशाली आणविक परीक्षण गरेको छ ।
यो घटनाले विश्वलाई तान्नुका साथै नयाँ र ठूलो हलचल पैदा भएको टिप्पणी समाचारहरुमा जनाइएको छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमहरूले उत्तर कोरियाले आइतबार बिहान हानेको हाइड्रोजन बम शक्तिशाली र सफल पनि भएको जनाएका छन् ।
यस परीक्षणलाई यसअघिको भन्दा करिब दश गुणा धेरै शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उसले भनेको छ, ‘उत्तर कोरियाले यसअघि गरेको पाँचौँ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली छ ।’
साथै दक्षिण कोरियाली विज्ञहरूले यस पटकको यो परीक्षणका कारण उक्त क्षेत्रमा ५.६ म्याग्निच्युडको कम्पन मापन गरिएको जनाएको छ । यो परीक्षण हाइड्रोजन बमको परीक्षण भएको हुनसक्ने अनुमान पनि दक्षिण कोरियाली विज्ञहरूले गरेका छन् ।¬
जापानले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । यो पुष्टिसँगै जापानले यस्तो परीक्षणको औपचारिक रूपमा विरोध पनि जनाएको छ । बारम्बार उत्तर कोरियाको यो हदसम्मको हर्कत कदापि मान्य नहुने पनि उसले दाबी गरेको छ ।
जापानका विदेशमन्त्री तारो कानोले भने, “जापान सरकारले आवश्यक विभिन्न सूचनाहरू संकलन गरेर र आवश्यक अनुसन्धान गरेर सो आणविक परीक्षण गरेको पुष्टि गरेको छ ।”
जापान सरकारले पनि मौसमसम्बन्धी र भौगर्भिक सर्वेक्षणबाट यससम्बन्धी सूचना लिएको थियो । प्राप्त सूचनामा यी निकायबाट प्राप्त जानकारीअनुसार उत्तर कोरियाले आणविक परीक्षण गरेकै कारण पृथ्वीमा कम्पन आएको पाइएको जापानले जनाएको थियो ।
जापानले चीनमा रहेको उत्तर कोरियाको दूतावासमा यस्तो विरोधपत्र पनि दर्ता गराएको छ । सो विरोधपत्रमा यस्तो क्षेप्यास्त्र परीक्षणको त्रास र यसबाट उत्पन्न परिस्थिति कुनै पनि हालतमा क्षम्य नहुने जिकीर पनि गरिएको छ ।

 

-भ्वाइस अफ अमेरिका

सम्बन्धित समाचार