१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

छेच्यु कार्यक्रमः ह्योल्मो सेवा केन्द्रमा नयाँ एम्बुलेन्स, कान्छी डोल्मालाई ८ लाख


२ चैत्र २०७५, शनिबार  

2
Shares

काठमाडौं । काठमाडौंको तीनचुलीस्थित ह्योल्मो समाज सेवा केन्द्रमा छेच्यु कार्यक्रम आयोजना भइरहँदा केन्द्र भरिभराउ थियो ।
केन्द्रमा कार्यक्रम भइरहँदा आजको आकर्षण भने एम्बुलेन्सको उद्घाटन थियो ।

एम्बुलेन्सको औपचारिक शूरुवात प्रमुख अतिथि प्रदेश ३ का प्रदेश सांसद निमा लामालगायले रिबन काटेर गरे ।

३० लाख ४४ हजार रकमको उक्त एम्बुलेन्स खरिदका लागि सूर्य बज्र लामा तथा फुर्पा ह्योल्मो लामाले पूर्ण आर्थिक सहयोग गरेका थिए । सहयोगी लामा परिवारलाई केन्द्रले विशेष सम्मान गरेका छ । सम्मानपत्र भने प्रमुख अतिथि एवं प्रदेश ३ का सांसद निमा लामाले प्रदान गरे ।
कार्यक्रममा ह्याल्मो लामा नाच प्रदर्शन गर्नुका साथै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

क्याचे सेङडाग टुल्कु रिन्पोछेको विशेष अतिथ्य रहेको छेच्यु कार्यक्रममा ह्योल्मो समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।



सगरमाथा आरोहीलाई ह्योल्मो सोसाइटी अफ अमेरिकाको सहयोग

कार्यक्रममा आगामी जेठमा सगरमाथा आरोहणको तयारी गरिरहेकी कान्छी डोल्मा ह्योल्मोलाई सहयोग हस्तान्तरण गरिएको छ । ह्योल्मो सोसाइटी अफ अमेरिकाले उनलाई ८ लाख ५१ हजार १२४ रुपैयाँ सहयोग गरेको केन्द्रका महासचिव टासी डि ह्योल्मोले जानकारी दिए ।

के हो छेच्यु कार्यक्रम ?

गुरु रिम्पोछेको जन्मदिनको धार्मिक पुण्य तिथीको अवसर पारेर मनाईने छेच्यु पर्व ह्योल्मो समुदायहरुले वर्षेनी आफ्ना मुख्य धार्मिक पर्वको रुपमा मनाउने केन्द्रका महासचिव ह्योल्मोले जानकारी दिए । छेच्यु पुजा चन्द्रमास पात्रो अनुसार सोनाम ल्होसारको पर्व संगै विभिन्न गाउँहरुमा पञ्चमी देखि पूर्णिमा सम्मा मनाउछन्, भने काठमाडौमा बसोबस गरी बस्ने हेलम्बु बासी भने त्यसकोे एक महिनापछि शुक्ल पक्षको दशमी दिन ह्योल्मो समाज सेवा केन्द्रमा वार्षिक रुपमा आयोजना गर्दै आएको छ । छेच्युको शुरुवातमा धार्मिक महत्वका पवित्र पुस्तकहरु (ह्युम) को १६थान पुस्तकहरु पाँच दिनसम्म पाठ वाचन गरी सकेपछि मनाउने चलन छ । ह्योल्मोका कतिपय गाउँहरुमा अझै पनि केही महिना अघि देखी नै ह्युम पाठ पढ्ने चलन पाईन्छ । ह्युम पाठ पढिसकेपछि भने छेच्युको तयारी सँगै यो पर्व मनाउने गर्दछन् ।

यो धार्मिक पुजा पौराणिक बौद्ध धर्मग्रन्थ अनुसार महान गुरु रिन्पोछेद्वारा स्थापना गरी तान्त्रिक नृत्यको माध्यमबाट राक्षस माथि प्रतीकात्मक विजय प्राप्त विशेष उत्सव स्वरुप यस पर्व वार्षिक रुपमा आयोजना गर्दै आएको हो । छेच्युको विशेषता रुद्रहरुलाई बज्रयाना तांत्रिक अभ्यास मार्फत बसमा लिई उनीहरुलाई बुद्धको वचन मार्फत आशीर्वाद प्रदान गरी नकारात्मक कर्म शुद्ध पार्ने अनि मुक्ति दिलाउने महत्वपूर्ण एवं महान उपलब्धिको क्षणको हो ।

कार्यक्रमको सुरुवात स्थानीय देवी देवताहरुलाई प्रकृतिको पुजा “साङ” गरिन्छ, जसबाट नकारात्मक कर्म तथा शक्तिको निर्मुल पारी तथा नयाँ सकरात्मक ऊर्जा थप्ने विश्वास गरिन्छ । तीन दिन सम्म धार्मिक पुस्तकहरु वाचन गर्दै मनाईने यस पर्वको प्रमुख दिनको अवसरमा गुरु रिम्पोछृको प्रतिक स्वरुपका साथ अन्य विभिन्न देवी देवताका विभिन्न मुद्राका मुकुण्डोहरु लगाएर धार्मिक पुजा गर्दै नाच्ने गर्दछन्, जसलाई बाछ्याम भनिन्छ । धार्मिक नाचको लागि भने लामाहरु आफ्नो ज्ञान अनुसारको (नम्सा) पोशाक लगाएर मात्र सहभागी गराईन्छ, यसको लाागि बौद्धिक ज्ञान मात्र नभै आध्यात्मिक ज्ञानको पनि आवश्यक हुन्छ । यो साधारण मनोरञ्जन को रुपमा मात्र नभई यो पवित्र पुजामा भाग लिए बापत विशिष्ट आशीर्वाद प्राप्त गर्ने शुभ अवसर पनि हो ।

पुजा पाठ तथा धार्मिक नाँचको अलाव छेच्युका गीतको पनि छुट्टै विशिष्टता रहेको छ, जुन अर्को उत्सवमा गाईने गीत भन्दा पृथक हुन्छ, छेच्यूको प्रारम्भमा लामा क्ष्याम वा बाक्ष्यामसंग संग सगै गाउनु पर्छ जसलाई थेन्ज्याम भनिन्छ । यो गीत जो जो स्यारा डेन्जोङ ङिमा गर्दे लामो स्वरमा बिस्तारै गाउने गीत हो, सुरुको थेन्ज्याम सकिने बित्तिकै लामालाई गीतकै बोलीमा आसन ग्रहण गराइ सगुन चढाइन्छ जसलाई तेच्या वा तेरे गीत भनिन्छ । एक आपास हात समाती नाँच्दै गाउने ‘गोमा फेमा फेस्यो ह्ये, साब्सी थाङला ल्हेमो च्यी, एको पेको’ गीतहरु गाउने गरिन्छ ।

पाँच दिन सम्म चल्ने यो पुजाको अन्तिम दिन छेवाङ अभिषेक तथा आध्यात्मिक अमृत जल वितरण गरी वर्ष भरी सुख, शान्ति तथा सम्बृद्धिको कामना गरिन्छ । छेच्युमा नयाँ वर्षको हर्ष बढाइँने समारोह मात्र नभइ रोग व्याधि आदि निर्मूल परी सुख शान्ति छाउने प्रतीकको रुपमा लिइन्छ । यसका लागि जातीय साँस्कृतिक सम्पदाको संरक्षण र विकास गर्नु ज्यादै महत्वपूर्ण हुने भएकोले यसलाई निरन्तरताका दिँदै आएकोछ । छेच्यु पुजा पवित्र समारोह तथा सार्वजनिक चाड हो जुन हेलम्बु एकाध गाउँ मात्र नभै छिमेकी गाउँले, इष्ट मित्रहरुलाई नव वर्षको शुभकामना अदान प्रदान गर्ने शुभअवसर पनि हो ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ४ : २७ बजे