ह्योल्मो समूदायले माघ ४ कै ल्होसार मान्ने, बिदा नहटाउन माग गरिने

January 11, 2018

एभरेस्ट टाइम्स/काठमाडौं

ह्योल्मोलगायत अन्य हिमाली आदिबासी जनजातिहरुले हरेक वर्ष माघ शुक्ल पक्षीय प्रतिपदाबाट शुरु हुने सोनम ल्होसारलाई आफ्नो महान चाडको रुपमा मान्दै आएको छ ।

नेपाल सरकारले पनि ह्योल्मोलगायत अन्य हिमाली आदिबासीहरुको साँस्कृतिक पर्वको सम्मानमा सोनम ल्होसारको पहिलो एक दिनलाई सार्वजानिक बिदा दिँदै आएको छ र यस वर्ष पनि माघ ४ गतेको दिन सोनम ल्होसारको अवसरमा सर्वजानिक बिदा दिईएको छ ।

तर, नेपाल तामाङ घेदुङले तामाङ समुदायले मनाउने सोनम ल्होछार यस वर्ष फाल्गुन ४ गते परेको भन्दै माघ ४ गते सोनम ल्होसारको सम्मानमा दिईएको सार्वजनिक बिदा हटाउन भनी जारी गरेको विज्ञप्ति प्रति ध्यानाकर्षित हुदै नेपाल ह्योल्मो समाज सेवा संघले माघ ४ बाट शुरु हुने ल्होसार नै आधिकारिक सोनम ल्होसार भएको ठहर गर्दै आम ह्योल्मो समुदायले माघ ४ बाटै सोनम ल्होसार मनाउने एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

शताब्दीऔ देखि ह्योल्मो जातिले माघ शुक्ल पक्षीय प्रतिपदा देखि पूर्णिमासम्म सोनम ल्होसारलाई आफ्नो महान चाढको रुपमा हार्षोउल्लासका साथ मान्दै आएको र नेपाल सरकारले सोनम ल्होसारको सम्मानमा दिईएको बिदालाई हटाउन भनी घेदुङले जारी गरेको विज्ञप्तिले ह्योल्मो लगायत सोनम ल्होसार मान्ने आम हिमाली आदिबासी समुदाय दुःखी र आक्रोशित भएको पनि विज्ञप्तिमा जनाएको छ ।

पञ्चांग निर्णायक समितिले निर्धारण गरेको माघ ४ को सोनम ल्होसारको तिथि नै सही भएको ठहर गर्दै सोनम ल्होसारको अवसरमा दिईएको बिदालाई हटाउन भनि घेदुङले जारी गरेको विज्ञप्ति विरुद्ध सम्बधित सरकारी निकायमा ज्ञापन पत्र बुझाउने पनि विज्ञप्तिमा जनाएको छ । नेपाल ह्योल्मो समाज सेवा संघको निर्णयप्रति ऐक्यबद्धता जनाउदै ह्योल्मो बौद्धिक जमात तथा ललितकला कलाकारहरुको संस्था ह्योल्मो फाउण्डेसनले पनि तामाङ घेदुङले जारी गरेको विज्ञप्ति बिरुद्ध आवश्यक कदम चाल्ने निर्णय गरेको फाउण्डेसनका महासचिब टासी डी. ह्योल्मोले जानकारी दिए ।

तिब्बतीयन चन्द्रपात्रो र नेपाल, भारत, चीन लगतयतका देशले प्रयोग गर्ने चन्द्रपात्रोमा अधिकमास जोडिने प्रकृति फरक भएकोले प्रत्येक तीन वर्षमा ग्याल्पो ल्होसार समेत माघ शुक्लपक्षिय प्रतिपदाबाट सुरुहुने हुदाँ सो वर्ष सोनम ल्होसार र ग्याल्पो ल्होसार एकै तिथिमा पर्ने जानकारी पनि विज्ञप्तिमा जनाएको छ । तर यस वर्ष सोनम ल्होसार र ग्याल्पो ल्होसार एकै तिथिमा परेको छैन र पञ्चांग निर्णायक समितिले फाल्गुन ४ गतेलाई ग्याल्पो ल्होसारको पहिलो प्रतिपदाको रुपमा निर्धारण गर्दै सो दिन पनि नेपाल सरकारले सार्वजानिक दिईएको छ ।

आदिबासी ह्योल्मो जातिको छाता संगठनको रुपमा स्थापित नेपाल ह्योल्मो समाज सेवा संघले देशबिदेशमा रहेका सम्पूर्ण ह्योल्मो समुदायलाई माघ ४ बाट सुरु हुने ल्होसारलाई नै आधिकारिक सोनम ल्होसारको रुपमा मनाउन पनि विज्ञप्ति मार्फत अनुरोध गरेको छ । संघका महासचिव फुर्पा लामा ह्योल्मोद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा देश बिदेशमा रहेका ह्योल्मो लगायत सम्पूर्ण सोनम ल्होसार पे्रमि तथा आम जनसमुदायमा २१४५औ ख्यी ल्हो सोनम ल्होसारको अवसरमा सुख शान्ति तथा प्रगतिको कामना गर्दै शुभकामना पनि व्यक्त गरेको छ ।

 

सम्बन्धित समाचार