भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम : भाजपालाई भारी बहुमत, कांग्रेस ५२ सिटमा विजयी

May 24, 2019

तस्विर : economist.com

नयाँ दिल्ली: भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ ।

सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुदै भाजपा एक्लैले ३०३ सिट ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ ।

भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने ३५२ सिट हासिल गरेको आयोगका अधिकारीहरुले जनाएका छन् । भाजपाको राष्ट्रवादी तथा हिन्दुधर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकोले उसले एकछत्र जित निकाल्न सफल भएको कतिपय भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

एनडीए गठबन्धनमा रहेका अन्य दलहरु मध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु)ले १६, लोक जनशक्ति पार्टीले छ, अकाली दल र अप्ना दलले दुई÷दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रीक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिट जितेका छन् । त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ ।

काँग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ । यस गठबन्धनमा आवद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके)ले २३, नेशनलिष्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इण्डियन यूनियन मुस्लीम लिगले तीन सिट जितेका छन् ।

त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके)ले एक एक सिटमा जित हासिल गरेका छन् ।

सम्बन्धित समाचार