महिलाका चुनौती र गौरवका विषय

May 18, 2017

इन्दिरा चोङबाङ

बिश्वका एक शक्तिशाली देश अमेरिकाको राष्ट्रपतिका लागि डेमोक्रेट्सका उम्मेद्वार हिलारी क्लिन्टनको हारसँगै महिलाका चुनौतीका सवालमा विभिन्न चर्चा परिचर्चा हुन थालेका छन् । विश्वसामु आफुलाई अग्रराष्ट्रमा चिनाएता पनि महिलालाई अधिकार सम्पन्न बनाउन नचाहनुमा पुरुसवादी सोचाइको हाबी भएको कतिपयको तर्क छ भने अर्कातिर महिला स्वयंमा विश्वासको कमी र एकताको अभाव अर्को कारक तत्व देखिन्छ । संसारका विभिन्न मुलुकमा महिलाहरुले विभिन्न महत्वपूर्ण स्थान लिइसकेको यो समयमा अझै पनि पुरूषले मात्रै लिंदै आएको अमेरिकी राष्ट्रपतीय पद महिलाको हातमा पर्न निकै समयको प्रतिक्षा गर्नुपर्ने देखिन्छ । यसबाट महिलाको निम्ति सामाजिक र राजनीतिक क्रान्तिका लागि चुनौतीहरू केहीमात्रमा परिवर्तन भए पनि समानताका लागि भने कैयन् खुट्किलाहरू बाँकी नै रहेको छन् भन्ने प्रस्टिन्छ ।
यद्यपि महिलाहरूले विश्वमा विभिन्न सत्ता र शक्तिमा भने महत्वपूर्ण फड्को मारिसकेका छन् । यसरी विश्वलाई वरिपरिबाट नियाल्दै गर्दा हाम्रो देश नेपालबाट भर्खरमात्र अन्तरजातीय भएको कारणले आफ्नै प्रेमीबाट ज्यान गुमाउनु परेको तथा बोक्सीको आरोपमा पिटाईबाटै निर्दोष महिलाले ज्यान गुमाउनु परेको समाचारहरू आएका छन् । बोक्सीको निहुँमा एकजना शिक्षकले पिट्दै दिसा खुवाएको र उक्त महिलाको अर्को दिन नै मृत्यु भएको हृदय विदारक समाचारले जनमानसको मुटु टुक्रिएको छ । यस्ता समाचारहरूबाट प्रस्ट हुन्छ कि हाम्रो नेपाली समाज अहिलेसम्म कुन परिवेशमा अडिएको छ भन्ने । शिक्षा, चेतना र आर्थिक अभावकै कारण महिलाले अझै पनि अमानवीय यातना र प्रताड़ना भोग्नु परेको मात्र होइन खाउखाउ र लाउलाउ भन्ने समयनै यो संसारबाट अकालमै बिदा लिनुपर्ने मर्मस्पर्सी ब्यथाबाट आजित भएको छर्लंगै देखिन्छ ।
वास्तबमै महिला र पुरूषबीचको खडाल निर्माण गर्ने प्रमुख साधन नेपालको सन्दर्भमा हिन्दू धर्मग्रन्थलाई लिइन्छ । यही धर्मग्रन्थमा महिलालाई एउटा बच्चा जन्माउने साधन अर्थात दोस्रो दर्जाको नागरिकको रुपमा ब्याख्या गरेको पाइन्छ । यसैको प्रभावका कारण सम्पूर्ण पुरुषले महिलालाई सधैं तल्लो दर्जामा राखेर हेर्ने प्रचलनको विकास भएको हो ।

अहिले शिक्षा र चेतनाले विकासले महिला र पुरुषको कार्य क्षमतामा भने समानता आए पनि व्यवहारमा समानता आउन सकेको छैन । यसका अलावा सामजिक संजाल र समाचारहरुमा महिलालाई होच्छ्याउने विषयवस्तुले नै बढ़ी प्रश्रय पाएको देखिन्छ । महिलाले पुरुषलाई बढ़ी नै दुःख दिएको या महिला प्रमुख भएर विभिन्न आवश्यकतामा पुरुषलाई दुःख दिएको जस्ता भ्रामक गतिविधिहरुले यूट्यूब, फेसबुक जस्ता सामाजिक संजालहरुमा बढी स्थान पाएको देखिन्छ तर पुरुषले महिलामाथि गरेको अन्याय र अत्याचार चाहि त्यतिबेलामात्र प्रस्फुटन भएर बाहिर आँउछ जब कुनै महिलाको श्रीमान वा प्रेमिकाबाट हत्या हुन्छ या समाजमा बोक्सीको आरोपमा ज्यान गुम्छ आदि । महिलालाई सतहीरूपमा पर्दा बाहिर एउटा पात्र बनाउने तर पर्दाभित्रको भूमिका अर्कै हुने वास्तविकताबाट महिलाका विषय सँधै ओझेलमा परेको देखिन्छ भने समानताका लागि उठ्दै गरेका नाराहरू केवल सैद्धान्तिकमै सीमित भएका छन् ।

महिलालाई सन्तान जन्माउँदाको दुःख होस या सन्तानको सुखको लागि आफ्नो सम्पूर्ण करियरलाई थाँती राख्दाको समय होस, उनीहरूका निम्ति यी सम्पूर्ण समयहरु कम चुनौतीपूर्ण छैनन् । यदि महिलाले उक्त समयमा चाहे अनुसारको साथ पाउन सकेनन् भने उनीहरूको जीवन मृत्युसँग सँधै संघर्ष गरिरहको हुन्छ । परिवार र श्रीमानको राम्रो साथको विशेष भूमिका नै त्यही समयमा महत्वपूर्ण हुन्छ तर दुर्भाग्य त्यही समयमा आवश्यक साथ र सहयोगको अभावमा ज्यानगुमाउने कैयन् अभागी महिलाहरू पनि छन् । बास्तबमा पुरूषलाई बाबु हुनुजति सजिलो छ तर महिलालाई आमा हुन त्यति सजिलो भने छैन ।

महिलाका यी चुनौती मात्र पस्किरहँदा के महिलासँग गर्व गर्नका लागि कुनै बिषय नै छैनन् त भन्ने जिज्ञासा पनि आउन सक्छ । महिलालाई सोच्ने र बुझ्ने दृष्टिकोण फरक फरक भएपनि महिलाबिनाको यो विश्व कल्पनाभन्दा बाहिरको बिषय हो । यदि महिलाको अस्तित्व नहुने हो भने यो संसारको नियमित गति नै ठप्प हुन्छ । सोच्ने र बुझ्नेले जुन अर्थमा लिएपनि हामीले आफु महिला भएकोमा गर्व गर्नुपर्छ । आमा हुनुको आन्तरिक सुख र अनुभूति पुरूषले चाहेर पनि लिन सक्दैन । त्यस्तै प्रसव ब्यथाको बास्तबिक अनुभूति पुरूषले चाहेर पनि लिन सक्दैन । महिलालाई सन्तान सुखको जुन भौतिक अनुभूति हुन्छ त्यो सुख पुरूषले चाहेर पनि प्राप्त गर्न सक्दैन ।
महिलाबिनाको कुनै परिवार या आमाबिनाको परिवार सँधै खल्लो हुन्छ यानेकी एउटा सफल परिवार चल्नको लागि आमा र बाबु अर्थात महिला र पुरूष दुबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले सम्भ्रान्त समाज र विश्वको लागि दुबैको भूमिका अपरिहार्य भएकोले एक आपसमा आपसी सद्भाब र सहकार्यबाटमात्र यी सब सम्भव हुनाले हातेमाले गरेर अघि बढ्नको कुनै विकल्प छैन । यसो भन्दैमा हरेक विषयमा महिलालाई मात्र सम्झैता गर्न लगाउने संकीर्ण सोचाईबाट बाहिर निस्कनु पर्छ । अझै पनि महिलामा भएको भ्रम ‘छोरीको जन्म हारेको कर्म’ यथावत रूपमा हट्न सकेको छैन ।

तर यो सोचाइलाई त्यागेर महिला नै सृष्टिको त्यस्तो सुन्दर सिर्जना हो यदि महिला नहुने हो भने यी मानब जगतको निरन्तरता शुन्य छ । हामी आफै सुन्दर छौ अनि यो संसारलाइ सुन्दर बनाउन चाहान्छौ यही कुरो अंगीकार गर्दै आफूमा भएको क्षमता र योग्यता कुनै अर्थमा महिला भएकै कारण कमजोर हुन सक्दैन भन्नेमा विस्वस्त हुनु जरूरी छ । यस अर्थमा महिलालाई घृणा गर्ने, तिरस्कार गर्ने या एउटा प्रयोगका रूपमा लिने पुरूषले सोच्नु पर्छ यदि महिला नभएको भए यो संसारमा आफ्नो अस्तित्व कहाँबाट आउथ्यो ? महिलालाई माया गर्नु इज्जत दिनु भनेको आफ्नो आमालाई ईज्जत गर्नु जस्तै होइन र ? यिनै बिषयलाई हृदयंगम गर्दै महिलालाई सम्मान र ईज्जत गर्न सकेमा मात्र साँिच्चकै सबैले चाहेको र सम्पूर्ण अर्थमा पुरक समाज र विश्वको कल्पना सम्भव छ यसका लागि जुटौ हामी सबै एक अर्कालाई सम्मान गरौ, इज्जत बाँडौ एकअर्कासँग बराबरी तबमात्र सम्भव छ यो संसार सबैका लागि ।

-चोङबाङ www.indirasite.com मा नियमित ब्लग लेख्छिन् ।

सम्बन्धित समाचार