कथा-पर्दा भित्रको एउटा जीवन

May 18, 2017

अरब जानेका श्रीमतीहरु त कति भाग्यमानी छन्, झपक्क गरगहना लाउछन्, श्रीमानसँग नि बोलिराखेकै हुन्छन, खोई त आफ्नो त भाग्य कहाँ रहेछ र ? उपहारको त कुरै छाडौ न त समयमा  फोन आउछ, न त खर्च नै ।

 

एक उत्साह जीवनमा आए जस्तै मन फुरुङ्ग थियो । एकतमासामा यो उत्साहले यो एक्लोपनलाई क्षणभरको लागि भए पनि छुट्कारा मिल्दै थियो । उपहारको निम्ति किनेको केही समान अनि फुलको गुच्छा बोकेर म मुस्किलसँग आफ्नो दर्दनाक खुट्टालाइ घिसार्दै गर्दा अचानक मेलिसाको ‘स्किउज मि, मे इ हेल्प यु सर’ आवाजले म झस्किन पुग्छु । ‘यस सियोर,’ भन्दै मेरा समानहरू र फुलको गुच्छा उनीतर्फÞ बढाउछु, उनी लजालु पाराले मुस्कुराउछिन् मानौ यो फुल मैले उनैलाई उपहार दिंदै छु । मेरो दर्द केही समयको लागि भए नि उनको स्नेही मुस्कानले हल्का भए झैँ लाग्छ । ऊनी फूललाई नियाल्दै मेरो ब्याग मेरो कारसम्म पु¥याउन मद्दत गर्छिन् । म उनको सहयोग प्रति आभार प्रकट गर्दै आफ्नो बाटो लाग्छु ।

मेलिसा कम्बोडियन नागरिक मेरो घरको सर सफाइको निम्ति हप्तामा एकपटक आउछिन् । लगातार तीन वर्षको अवधिमा उनी नै मेरो आफन्त जस्तै बनेकी छिन् । अहिले त आफुलाई गारो सारो प¥यो भने उनैलाई फोन गरेर सहयोग लिने गर्छु । तर खै ? अर्का मान्छेको सहयोगले जीवन कहिले सम्म अघि बढ्ला ? उनका पनि आफ्नै परिवार छन्, जिम्मेवारी छन् । मेरो निम्ति त उनी सिपÞर्m पैसाको निम्ति काम गर्न आउछिन् । नत्र मसँग उनको के त्यस्तो सम्बन्ध छ र ?
यस्तै अनगिन्ती सोचाइहरु दिमागमा खेलाउदै म अघि बढ्छु, साथी कबिरको २५ औ म्यारिज एनिभर्सरीको पार्टीमा जान तम्सिएको यो मन खोइ आफ्नो दुःखबाट भाग्न भने सक्दिन । पार्टी अघि नै सुरु भैसकेको छ । कबिर मलाई स्वागत गर्नको लागि ढोका सम्म आइपुग्छ । यो मेरो र उनको लामो समय पछिको भेटघाटको अवसर बनेको छ । जेहोस यो भेटघाटले हामीलाई हाम्रो बिगत सम्झाउने कोसिस गरेको छ । जहाँ हामीले हाम्रो बाल्यकालदेखि लिएर आफ्नो करिअर बनाउने समय सम्म अनेकन उकाली ओरालीहरू सँगै काटेका छौ । उनको यो पारिवारिक साथ र खुसी देखेर मेरो मन फुरुंग हुन्छ । फेरि आफुलाई म कुनै अर्कै दुनियाँमा पु¥याउँछु, जहाँ यस्तै सुन्दर संसार, माया र प्यारले भरिएको आफन्तहरू मलाई पनि यसरी नै उपहारका साथ शुभकामना दिन आतुर छन् । मलाई बिनुको यादले अत्यन्तै सतायो जब गुलाबी सारीमा परि जस्तै सजिएकी कबिरकी श्रीमती नजिक आइन । मनलाई दरो बनाएर सारा कुरा भुलेर रमाइलो गर्ने प्रयास गरे । आफुसँग भएको सबै रोग र व्यथालाई थाती राखेर कबिरसँग पिउन थाले । जीवनका अनेक रंग झैँ मेरो पनि रंग बदलिएको थियो यद्यपि सबै कुरा बिर्सिएर रक्सीको नसामा रमाउनु नै आजको सबैभन्दा ठुलो उपलब्धि रह्यो । केही समय यसरी रमाउनु नै मेरो जीवनको उत्तम समय हो अहिलेको सन्दर्भमा । अन्तमा घर आइपुग्दा लगभग १२ बजेछ । मन भारी बनाउदै सुत्ने तरखर गर्छु ।

मैले अथाह परिश्रम गरेर पाएको अवसर थियो अमेरिकाको भिसा । यो अवसरलाई कुनै उपलब्धि बिना आफ्नो देश फर्कन चाहिनँ । यहाँको उच्च शिक्षा हासिल गर्न कतिसम्म संघर्ष गर्न परेको थियो भने अहिले सम्झिदा पनि आङ जिरिङ्ग भएर आउछ । १२ घन्टा रेस्टुरेन्टमा उभिएर काम गर, विकिन्डमा क्लास जा, राती राति असाइन्मेन्ट गर कति मुश्किल परेको थियो त्यो समयमा । यस्तै दुःख कष्ट झेल्दै अघि बढ्ने क्रममा बाध्यता बश मैले मेरी जीवन संगिनीलाई गुमाउनु प¥यो । सायद त्यही दुर्भाग्यको सुरुवाती बन्यो । समय अभावका कारण अमेरिका आएपछि उनलाई फोन गर्न सकिनँ, कलेजमा महंगो टिउसन तिर्नुपर्ने मजबुरीको कारण उनलाई चाहिए जति खर्च पनि पठाउन सकिनँ । कहिलेकाही उनी दुखेसो पोख्थिन् ‘अरब जानेका श्रीमतीहरु त कति भाग्यमानी छन् , राम्रा राम्रा गरगहना लाउछन्, श्रीमानसँग नि बोलिराखेकै हुन्छन, खोई त आफ्नो त भाग्य कहाँ रहेछ र ? उपहारको त कुरै छाडौ न त समयमा फोन आउछ, न त खर्च नै ।’ त्यस समयमा मैले बिनुलाई सम्झाउन लाख कोसिस गरे । तर, सकिनँ । मैले आफ्नो यथार्थ बताएर उनलाई चित्त बुझ्नेसम्म बनाए अनि मेरो प्रतिक्षा गर्न अनुरोध गरे । समयलाई कुर्न जान्ने मानिसनै जीवनमा सफल हुन्छ भनेर आदर्शवादी कुरा गर्दै उनको मन जित्ने कोसिस गरेको थिए , तर सायद त्यही भेट नै हाम्रो अन्तिम वार्ता बन्यो । आफ्ना हजार इच्छा र चाहनालाई बाध्दै मेरो प्रतिक्षामा जीवन जिउने मेरी संगिनी अचानक दुर्घटनामा परेर संसारबाट बिदा भइन् अनि सुरु भयो मेरो पर्दा भित्रका दिनचर्याहरु ।

संसारका अनेकौ मानिसहरु अमेरिका आउन अनेक संघर्ष गर्छन्, हो म पनि एक मानव नै त थिए, अन्य सरह मेरा नि इच्छाहरु यसरी नै झाँगिएका थिए । राम्रो पढेर जागिर खाने आमा बाबा अनि परिवारलाई सुख दिने यस्तै यस्तै सपना थियो मेरो । तर आफूभन्दा माया गर्ने मेरी संगिनीका सारा इच्छाहरू पुरा गर्ने रहरहरू माटोमा मिल्यो जब उनी मलाई सदाको लागि छाडेर यो संसारबाट बिदा भइन् । पढाई सक्ने समयमा पाएको यो पीडाले सारै दुखायो मुटु, कैयन् दिनहरू रात जस्तै बिते तैपनि बिडम्बना जीवन मैले जीउनै पथ्र्यो । बाबाआमा नेपाल गएर नयाँ जीवनको सुरुवातको लागि मलाई कर गर्न थाल्नु भयो म भने बिनुको अभावमा नयाँ जीवनको कल्पना त परै भो नेपाल जानसम्म नसक्ने भए ।
वेदना पोख्ने म सँग कुनै साधन थिएन न त त्यस्तो साध्य नै थियो । दिनलाइ रात अनि रातलाई दिन बनाउदै मेरा कैयन् प्रहर बिते । आखिर समय नै रहेछ बलवान, लामो समय पछि घाउ बिस्तारै निको हुँदै गयो । बिस्तारै बिस्तारै यहीको परिवेशमा भुल्दै गए । मरेर जानेको सम्झनामा मात्र जिन्दगी चल्दैन रहेछ बाच्नु पर्ने बाध्यताले विस्तारै यथार्तबोधको आभास हुन थाल्यो । यही बस्ने सारा योजना बनेपछि यहीकी नागरिक इमलिसँग मेरो नयाँ जीवनको सुरूवात भयो । यहीको परिवेश र समयसँग सम्झौता गर्ने क्रममा उनको साथले जीवन रंगमय बन्यो । छोरा डेबिटको आवगमनले हाम्रा अधुरा सपना पुरा भएको आवास भयो । म व्यवसाय गरेर पैसा कमाउन थाले । उनी सामान्य जागिर गर्दै छोरा हुर्काउन थालिन् । पत्तै नपाइ छोरो कलेज जाने भइसकेछ । यहाँको वातावरण अनुसार नै छोराको ईच्छा बमोजिम अर्कै राज्यमा उच्च शिक्षा हासिल गर्न उनलाइ बिदा ग¥यौ । त्यसपछि भने सिर्फ इमलि र म मात्र भयौ, छोरा बिनाको घर धेरै समय सम्म सुन्य सुन्य भयो ।
जीवन जसोतसो चलेकै थियो । प्रत्येक साल बढ्ने महँगीका कारण खर्च पनि बढ्दै थियो जसलाई धान्नको निम्ति पनि कडा परिश्रम गर्नु पथ्र्यो । इमलीसँग लगभग हाम्रो जीवन १८ वर्ष अघि बढिसकेको थियो, यतिका समय सँगै बिताउद कैयन् झगडा भए तर उनले मलाई सदाको लागि छाडेर जान्छिन् भन्ने पत्तै भएन । एकदिन अचानाक मेरो सामु डिभोर्स पेपर हस्ताक्षरका लागि आउँदा मलाई चक्कर लाग्यो, पृथ्वी भासिए जस्तै आभास भयो । मैले कारण बुझ्न खोज्दा यति मात्र थाहा पाए मैले उनलाई माया गरिन । अनि उनलाई समय पनि दिन सकिन । मैले उनीसँग माफी मागे । अबदेखि उप्रान्त उनिसंगै बसेर समय काट्ने सम्पूर्ण इच्छा भएको बताए तर उनि मसँग समय बिताउन नचाहेको र उनको अरु कुनैसँग गहिरो सम्बन्ध भैसकेकोले मसँग बस्न नसक्ने कारण बताइन् । उफ जीवन किन जता ततै प्वाल पर्छ । एउटा पीडा बिर्सन कैयन वर्ष लाग्यो फेरी अर्को बज्रपात । समयले मलाई मात्र किन यसरी ठगिरहन्छ यकिन गर्न सकिन । कसैको इच्छा बिपरित जान पनि नसकिने त्यसैले उनले चाहेको जति सम्पत्ति आँखा चिम्लेर सहि गरि दिए । सायद त्यही पैसा कमाउने मोहमा मैले इमलिलाई समय दिन सकिनँ । उनलाई चाहेको समयमा साथ् दिन सकिनँ । त्यसैको परिणाम हुन् सक्छ उनी कसैको मायाको आभास पाइन् अनि मलाई पराइ ठानिन ।
पैसा के हो किन यसको आवश्यकता हुने अनि किन यसरी पैसा भएर त कहिले नभएर जीवन बर्बाद हुने आफै सोचिरहन्छु । यसैको पछि लाग्दा प्रथम श्रीमतीलाई साथ दिन सकिनँ । उनको हजारौ इच्छा, चाहनालाइ पुरा गर्न सकिनँ । सायद अहिले उनी जीवित भएकी भए उनका सारा सपनाहरू पुरा हने थिए । निष्ठुरी दैवले सधैको लागि किन मबाट खोसेर लग्यो पत्तो छैन । दोस्रो चोटी जसरी नयाँ जीवनको सुरुवात गरे पैसा भएर पनि उनलाई खुसी दिन सकिन किनकी त्यही पैसाको पछि लाग्दा उनलाई माया गर्न सकिनँ, समय दिन सकिन त्यसैले उनले अर्कै साथ् पाइन् । यस्तै भयो मेरो पर्दा भित्रको जीवन बाहिर रंगमंचमा आउन नपाउदै पर्दा सधैंको निम्ति बन्द भयो । भाग्यमा लेखिएको भन्दा बढी पाइन्न भन्थे सायद लेख्नेले मेरो भाग्य तेस्तै लेखेको हुनुपर्छ । पहिले मसँग पैसाको अभाव थियो त्यसैको अभावमा मैले आफ्नो जीवन संगिनीलाई चाहेको जस्तो उपहार दिन सकिनँ, उनको राम्रो खाने, अरुको जस्तै राम्रो लगाउने चाहनाहरु पुरा नभई संसारबाट भागिन, अहिले पैसा कमाए मैले इमलीलाइ के दिइन, उनले चाहे जस्तै गाडी, घर, गहाना सबै सबै । बिनुको इच्छा पुरा गर्नु नसकेको दुख मेरो मनमा थियो, त्यो गहिरो चोट थियो मसँग, त्यसैले आफु दुःख गरेर भए पनि इमलिका इच्छा पुरा गर्ने धोको थियो त्यही बमोजिम गर्दै थिए । तर पत्तै पाइन कि मानिसलाई भौतिक सुखसयलको साथै मानसिकरुपमा पनि पूर्ण बनाउन सक्नु पर्दो रहेछ । त्यहि मेरो अर्को दुर्भाग्य बन्यो , एउटाको खोजीमा अर्को घुम्यो । पैसाको पछि लाग्दा समय दिन सकिन, माया त मनभित्र कति थियो थियो तर त्यो अभिव्यक्ति बिनाको भएछ जो अमुर्त भयो, अर्थहीन बन्यो । अहिले मसँग पैसा छ, घर छ सबै सबै छ यद्यपि साथ छैन कसैको । नेपालमा बाबा आमा पनि सधैको लागि बिदा लिएर जानु भो । बाच्ने साहाराको नाममा एउतै छ छोरा डेबिड । उ पनि महिनौ दिनमा बल्ल बल्ल आउछ फोन पनि आफैले गर्नु पर्छ । किन फोन गर्दैनस् छोरा भनेर सोद्धा आफु व्यस्त भएको बताउछ । पालोको पैचो यही जीवनमा पाउनु पर्छ भन्थे सायद होला जस्तो लागेको छ । पहिले मेरो बुबा आमा पनि कति मेरो फोनको प्रतिक्षामा बिताउनु भयो होला तर मैले कहिलै समयमा फोन गर्न सकिनँ ।
तिरिङ तिरिङ फोनको आवाजले म झस्किन्छु, म त पार्टीबाट आएपछि सोच्दा सोच्दै बिहान पो भैसकेछ । नेपालबाट फोन आएको रहेछ भतिजाको । यो बिरामी शरीर पर्दाभित्रै रहेर पनि बाँच्नु छ बाँच्नको निम्ति सुत्नु जरुरी छ । त्यसैले केही समय सुत्ने कोसिस गर्दै छु ।

सम्बन्धित समाचार