जिल्लाकै सर्वाधिक राशिको फुटबल प्रतियोगिता इन्द्रावतीमा सुरु

October 11, 2017

नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा पहिलोपटक जिल्लास्तरीय फुटबल प्रतियोगिता आजबाट सुरु हुदैंछ । नवलपुर युनाइटेड क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता इन्द्रावती–५ स्थित ऐसेलुखर्क मैदानमा चल्नेछ ।

आयोजक क्लबका अध्यक्ष चीन लामाका अनुसार खेलमा प्रथम हुनेलाइ १ लाख ५१ हजार रुपैयाँ नगद मेडल, कप र प्रमाणपत्र, दोस्रोलाई १ लाख एक हजार रुपैयाँ, मेडल, कप, प्रमाणपत्र र तेस्रो हुने टीमलाइ ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ ।

यो जिल्लामै पहिलोपटक सर्वाधिक राशिको फुटबल प्रतियोतिा भएको क्लबको दाबी छ । जिल्लामा भएका खेलाडीहरुको प्रतिभा निखार्न र राष्ट्रिय स्तरमा परिचित गराउन उक्त प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष लामाको भनाई छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार र सर्वाधिक गोलकर्तालाई १५ हजार, बेस्ट किपरलाई १० हजार र बेस्ट डिफेन्डरलाई १० हजार प्रदान गरिने छ ।

गाउँपालिका अध्यक्ष वंशलाल तामाङले उद्घाटन गर्ने खेलको फाइनल भने लक्ष्मीपूजाको दिन कात्तिक ३ गते हुने आयोजकले जनाएको छ ।
क्लबले यसअघि पनि लोसारको अवसर पारि प्रथम क्षेत्रीय डब्लुटिएफ टुर्नामेन्ट आयोजना गरेको थियो । क्लबले त्यसभन्दा अघि दसैंको अवसरमा प्रथम ६ नम्बर इलाका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।

सम्बन्धित समाचार