डाइभर्सिटी प्लाजाबाट ज्याक्सन हाइट्स हेर्दा

July 4, 2019

अविन ओझा

न्युयोर्क शहरको क्विन्स काउन्टीमा अवस्थित छ ‘ज्याक्सन हाइट्स’ सिटी, जसले हरेक पल दक्षिण एसियाली आप्रवासीहरुको कुम्भ मेलाको छनक दिने गर्दछ । दक्षिण एसियाली समुदायले यसलाई मुखले जति आलोचना गर्दछन् त्यो भन्दा बढी यहाँ आउँदा आफूलाई स्वदेशमै भएको अनुभूति गर्दछन् । यो आलेख विभिन्न लिटरेचरहरुको रिभ्यूपश्चात ज्याक्सन हाइट्सको इतिहासको स्मरण र केही अनौपचारिक संवादहरुको टिपोट मात्र हो ।


ज्याक्सन हाइट्सको विकासक्रमः

ज्याक्सन हाइट्सको स्थापना डच साम्रराज्यवाद ‘वेस्ट इन्डिया कम्पनी’ ले सन् १६२० ताका गरेको थियो । सन् १६२० देखि १९०८ सम्म यो एरिया कृषिभूमि या घाँसे मैदानको रुपमा प्रयोगमा रहेको थियो । सन् १९०८ मा रियल स्टेट एजेन्टस् एवम् बैंकर्सहरुको कम्पनी ‘क्विन्सबोरो कर्पोरेसन’ ले ज्याक्सन हाइट्सको भूमि खरिद गरेपश्चात यहाँ व्यवस्थित वस्ती बस्न सुरु भएको देखिन्छ । ‘क्विन्सबोरो कर्पोरेसन’ का प्रमुख म्याकडगलले विशेषत म्यानह्याटनमा बस्ने श्वेत समुदायलाई लक्षित गरी उपनगरीय बस्तीको रुपमा ज्याक्सन हाइट्सलाई विकसित गर्ने उद्देश्य लिएका थिए । सोही अनुरुप अंग्रेजी शैलीका गार्डेन सहितका नीजि एवम् अर्पाटमेन्ट भवनहरुको निर्माण गरेको पाइन्छ । सम्भवत गार्डेनसहितका अर्पाटमेन्टहरुको विकास अमेरिकामै पहिलो पटक ज्याक्सन हाइट्सबाट सुरु भएको थियो ।

सन् १९०९ मा सम्पन्न भएको ‘क्विन्सबोरो पुल’ लाई ज्याक्सन हाइट्को विकासको मेरुदण्डको रुपमा मानिन्छ । जसले म्यानह्याटन र ज्याक्सन हाइट्साई निकट बनाइदियो । म्यानह्याटन र ज्याक्सन हाइट्सलाई भौगोलिक एवम् व्यावसायिक रुपमा सहज तुल्याइदियो । त्यसो त सन् १९१७ मा बनेको आकाशे रेल सेवाले त ज्याक्सन हाइट्स र म्यानह्याटनबीचको दुरीलाई केही मिनेटमात्रैमा सीमित गरिदियो । सन् १९३० को विश्वव्यापी मन्दीलाई ज्याक्सन हाइट्सको रुपान्तरणको प्रमुख आर्थिक कारणको रुपमा टिप्पणी गर्ने गरिन्छ । मन्दीका कारण धेरै मानिसहरु म्यानह्याटनबाट सस्तो आवासको खोजीमा ज्याक्सन हाइट्स सरेको देखिन्छ । सन् १९३० को दशकसम्म आइ पुग्दा ज्याक्सन हाइट्सले सजातीयता र एंकीकृत वास्तुकला भएको वस्तीको रुपमा पहिचान बनाइ सकेको थियो । एक तथ्याङ्कका अनुसार यो समयमा ज्याक्सन हाइट्सको जनसंख्या करिब ४५ हजार पुगिसकेको थियो । सन् १९७० सम्म यो क्षेत्रमा श्वेत र यूरोपियन हरुको बाक्लो आवादी थियो । ‘ह्वाइट फाइट्स’ (श्वेतहरु विविध जाति बसोवास गर्ने स्थानदेखि पर सजातीयता खोज्दै सर्ने या ग्रामीण उपनगरीय क्षेत्रतिर बसाई सर्ने प्रचलन) अभियानमार्फत ज्याक्सन हाइट्सबाट विस्थापित हुँदै गएको देखिन्छ । त्यसो त सस्तो हाउजिङ एवम् आप्रवासनको बढ्दो चाप आदिले ज्याक्सन हाइट्समा जातीय विविधता झाँगिदै गएको पाइन्छ । आज विश्व भरीका १ सय ६७ भन्दा बढी भाषा बोल्ने समुदायहरु ज्याक्सन हाइट्समा बसोवास गर्ने गरेका छन् ।

कसरी रहन गयो त ज्याक्सन हाइट्स नाम ?

‘दी हन्टर्स पोइन्टस्, न्युटाउन एन्ड फ्लसीङ्स टर्नपाइक कम्पनी’ का प्रेसिडेन्टस् जान सी. ज्याक्सन जसको नेतृत्वले सन् १८५६ मा क्विन्समा पहिलो पटक ट्रली बस लाइन निर्माण गरको थिए । उनैको नाममा हालको नर्दन ब्लुवार्डको तत्कालीन नाम ‘ज्याक्सन एभिन्यू’ राखिएको थियो । सन् १९०८ ताका क्विन्सबोरो कर्पोरेसन ले त्यही ज्याक्सन एभिन्यू आसपास उपनगरीय वस्तीको विकास गर्दा ज्याक्सन हाइट्स नामाकरण गरिएको थियो ।

कस्तो छ त जनसाङ्ख्यिक, शैक्षिक, भाषिक, एवम् धार्मिक अवस्था ?

एनवाइसी डट जीओभी को ‘कम्युनिटी हेल्थ प्रोफाइल–२०१५’ को तथ्याङ्कअनुसार हेर्ने हो भने ज्याक्सन हाइट्सको कुल जनसंख्या १ लाख ७८ हजार २२ रहेको छ । जसमध्ये ६४ प्रतिशत हिस्पेनिक, १७ प्रतिशत एसियन, ११ प्रतिशत अफ्रिकन अमेरिकन र १ प्रतिशत अन्य जाति बसोवास गर्दछन् । करिब ८४ प्रतिशत मानिसहरु घरमा अंग्रेजी बाहेकका भाषाहरु बोल्ने गर्दछन् । गजबको कुरा के छ भने औसत जीवन आयु ज्याक्सन हाइट्सवासीको ८३ दशमलव ७ वर्ष छ जुन औषत अमेरिकी आयुभन्दा ५ वर्ष बढी हो । २४ प्रतिशत ज्याक्सन हाइट्सवासीसँग कलेज डिग्री छ भने ४३ प्रतिशतसँग हाइ स्कुल डिग्री या त्यो भन्दा माथि केही वर्ष कलेज गएका छन् । २२ प्रतिशत जनसंख्या गरिवीमा बाचेका छन् । स्मरण रहोस न्युयोर्क सिटीको गरिब २१ प्रतिशत छ । श्रम गर्ने उमेर भएकामध्ये केवल ८ प्रतिशतमात्र बेरोजगार छन् । औषत वार्षिक आम्दानी ५० हजार ९५ अमेरीकी डलर रहेको छ ।

कस्तो छ त ज्याक्सन हाइट्स वासीहरुको अनुभव ?

यहाँ मैले पार्क, चिया पसल, मन्दिर या सव–वेमा भेटिएका केही एसियाली मुलका ब्याक्तिहरुसँग गरेको अनौपचारिक वर्तालापलाई अनुभवको रुपमा प्रस्तुत गरेको छु ।

तत्कालीन बम्बईबाट आएका एक सज्जनले ‘ज्याक्सन हाइट्सको जीवन र पहिले मुम्बईको जीवनमा के कस्तो फरक अनुभव गर्नु भएको छ ?’ भन्ने मेरो प्रश्नमा, ज्याक्सन हाइट्स र बम्वाइमा तत्विक भिन्नता नपाएको जिकिर गरे । उनका अनुसार, ज्याक्सन हाइट्स जस्तै बम्बई पनि भाषिक, धार्मिक, एवम् साँस्कृतिक विविधता रहेको शहर हो । बम्बईमा मेरो छिमेकीहरु गुजराती, पञ्जावी, र साउथ इण्डियन हुन्थे । यहाँ चाइनिज, हिस्पेनिक थिए अहिले बंगाली, नेपाली पनि छन् । बम्बइमा पनि हामी हाम्रो पारिवारिक परम्परा र रीतिरिवाजको सम्मान गर्दथ्यों । अहिले पनि हामी त्यसैलाई निरन्तरता दिइ रहेका छौं ।’

ऊँ शक्ति मन्दिरमा भेटिएका वर्षीय बंगलादेशी मुलका करिब ६० वर्षीय वृद्धा आफू धार्मिक द्वन्द्वका कारण प्रवासिएको बताउछन् । स्वदेशमा आफ्नो धर्मलाई अपनाउछु भन्दा जीवन नै संकटमा परेको स्मरण गर्दै आजे परदेशमा यसरी मन्दिरमा आएर पूजाआज गर्न पाउनु नै ज्याक्सन हाइट्सको भनौं या यो देशकै सुन्दरता भएको बताए ।

ज्याक्सन हाइट्समै बसोबास गर्ने तिब्तीयन मुलकी एक महिला पार्कमा स्पीकरमा तिब्तीयन परम्परागत संगीत मज्जाले घन्काउदै, गाँउदै नाच्दै थिइन् । उनी प्राय सप्ताहान्तको मौका पारेर साथीभाई भेला भई यसरी आफ्नो परम्परागत सँस्कृतिमा रमाउन पार्कमा आउने गरेको बताउछिन् ।

कोलम्बियन मुलका ड्राइभर जो सन् १९७५ देखि ज्याक्सन हाइट्स नेबरहुड्समा बसोवास गर्दै आएका छन् । तपाईको करिव ५ दशक लामो ज्याक्सन हाइट्स बसाई समीक्षा कसरी गर्नुहुन्छ ? भन्ने मेरो प्रश्नमा उनले एकदम छिट्टो उत्तर दिए । “दिस् प्लेस गेभ मी ए लट । गट फ्रिडम टु लीभ एण्ड वर्क” उनले प्रष्टाए । भाषा र राष्ट्रियताको कारण आजसम्म मैले कुनै किसिमको झमेला झेल्नु परेन । जसका कारण कमाई खान गह्रो भएन ।

अन्त्यमा:
भनिन्छ, अमेरिका त्यसमा पनि न्युयोर्क सिटी ‘मेल्टिङ पट’ अर्थात ‘पगाल्ने भाँडो’ हो । यहाँ जुनसुकै भूगोल या भिन्नताबाट आएको भएता पनि ‘एसिमिलेट’ अर्थात ‘आत्मसत्करण’ हुने गर्दछन् । जसका कारण सबैले अमेरिकन अवसरको भरपुर उपयोग गर्दछन् । त्यसो त मेरो बुझाइमा न्युयोर्क सिटी ‘मेल्टिङ पट’ भन्दा पनि ‘स्यालेड बल’ अर्थात ‘सलादको कचौरा’ हो । जहाँ कसैले पनि अमेरिकन हुन आफ्नो भाषा, धर्म, सँस्कृति, पहिरन आदि जस्ता मौलिक सम्पत्तिलाई त्याग्नु पर्दैन । जातीय विधितामा हार्दिकता पाइन्छ । यो नै न्युयोर्क या यो देशको सुन्दर पक्ष हो । त्समा पनि ज्याक्सन हाइट्स आफैमा स्यालेड बलको एउटा उत्कृष्ट नमुना हो । ज्याक्सन हाइट्सको मुटुमा अवस्थित डाइभरसिटी प्लाजामा दैनिक जसो हुने गरेका विभिन्न समुदायको परम्परागत कार्यक्रमले यसलाई अझ पुष्टि गर्दछ ।

सम्बन्धित समाचार