ल्होसार एउटै तिथीमा मान्न सबैको सहमति चाहिन्छ : प्रा.डा. जगमान गुरुङ

December 30, 2019

संस्कृतिविद् प्रा.डा. जगमान गुरुङ हाल नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुनुहुन्छ । भोट–वर्मेली र आर्यन दुवै संस्कृति विज्ञ गुरुङ नेपाली चाड पर्वका बारेमा आधिकारिक रुपमा धारणा राख्न सक्ने व्यक्तित्व हुनुहुन्छ । अव ल्होछार÷ल्होसार मौसम सुरु हुन लागेको छ । यसमा सबैभन्दा पहिला गुरुङले पुस १५ मा तमु ल्होछार मनाउने छ, त्यसपछि तामाङलगायतका समुदायले सोना ल्होछार मनाउने छ भने फागुन शुक्ल प्रतिपदाका दिन शेर्पाहरुले ग्याल्पो होछार मनाउने छन् । यिनै ल्होछार/ल्होसार पर्वको सेरोफेरोमा रहेर विवेक गुरुङले प्रा.डा. गुरुङसँग लामो कुराकानी गर्नु भएको थियो । त्यसैको सम्पादित अंशः

विभिन्न समुदायले फरक फरक तिथीमा ल्होछार/ल्होसार मनाउँछन्, खासमा यो कति प्रकारको छ?
विश्वमा चार प्रकारको ल्होछार/ल्होसार प्रचलनमा रहिआएको छ । ति तोला ल्होसार, सोनम ल्होसार, ग्याल्बो ल्होसार र तमु ल्होछार हुन् ।

तोला ल्होसार पौष शुक्ल प्रतिपदाको दिनमा पर्दछ । आदिम ल्होसारको रुपमा यसलाई लिने गरिन्छ । अहिले यो लोपोन्मुख अवस्थामा छ । तोला ‘लो’ को अर्थ समय चक्र अथवा काल चक्र संवत् हो । तिब्बतको कैलाश पर्वतदेखि मानसरोवर इलाका, नेपालको हुम्ला, मनाङ र भुटानका केही समुदायमा तोला ल्होसारको प्रचलन छ । गुरुङहरू सौर्यमास अनुसार पुस १५ गतेका दिन तमु ल्होछार मनाउँछन् । तमु समुदायले मान्ने नयाँ वर्ष हुनले यस पर्वलाई ‘तमु ल्होछार’ भनेको हो । तिब्बती भाषाको ‘लो–सर’ शब्दबाट गुरुङ भाषाको ‘ल्हो–छार’ शब्द बनेको हो । लो–सर मूल शब्द हो भने ल्हो–छार चाहिँ तत्भव शब्द हो । गुरुङहरूको तमु ल्होछार तिब्बती तोला लोसरको एउटा विकसित रुप हो ।
सोनाम ल्होसार माघ शुक्ल प्रतिपदाको दिनमा पर्दछ । पश्चिमी तिब्बतका जनता र नेपालका तामाङ समुदायले सोनाम ल्होसार मान्दछन् । तामाङहरूले आफ्नो भाषामा ल्होसारलाई ल्होछार भन्दछन् । गुरुङ, तामाङ र थकालीहरुको भाषाको बीचमा घनिष्टा सम्बन्ध रहेको छ ।

सोनाम ल्होसार मानसरोवरदेखि ल्हासासम्मको सम्पूर्ण पश्चिमी तिब्बतको भू–भाग र नेपालको हुम्ला, मनाङ र सोलुखुम्बु बाहेकका सम्पुर्ण हिमाली क्षेत्रका तामाङ समुदायले मन्दछन् । विश्वमा सोनाम ल्होसार मान्नेहरुको संख्या सबैभन्दा धेरै छ । चीनमा पनि यो नयाँ वर्ष मनाइन्छ । हङकङ र मंगोलीयमा पनि यही वेला नयाँ वर्ष मनाइन्छ । तर उनीहरुले सोनाम ल्होछार भन्दैनन् । तिब्बतमा दालाई लामाको शासन सुरु हुनु भन्दा पहिले तिब्बतको शाक्य माठका लामाहरुलाई मंगोलका बादशाहहरु चङ्गेज खाँ, कुब्लाई खाँहरुले धर्म गुरु मानेका थिए । शाक्य माठका माठधीसहरुले सोनाम ल्होसार मान्ने भएकोले यसको ब्यापक हुँदै गएको हो ।

विश्वमा प्रचलित रहेको महत्वपूर्ण ल्होसार माध्ये फाल्गुन शुक्लप्रतिपदाको दिन मान्ने ग्याल्पो ल्होसार पनि एक हो । यो ल्होसार ल्हासादेखि पूर्वको तिब्बत र नेपालको सोलुखुम्बुका शेर्पा समुदायले मान्ने गरेको देखिन्छ । अहिलेका दलाई लामाले मान्ने ल्होसार पनि ग्याल्पो ल्होसार नै हो । तिब्बतमा तोला र सोनाम भन्दा पनि ग्याल्पो ल्होसारलाई राजकीय संरक्षण पाएको देखिन्छ ।

तमु जातिले मान्ने तमु ल्होछारको सम्बन्ध भने तोल ल्होसारसँग रहेको छ किनभने मनाङमा बस्ने बसिन्दाले तोला ल्होछार मान्दै आएको छ भने अहिले पनि लमजुङको बाहुनडाँडा देखि उत्तरतिर मनाङ र डाँडाको दक्षिणतिर लम्जुङ रहेको छ । विश्वभरमा जहीतही बसाई सरेर बसे पनि गुरुङको उत्गम थालो ‘क्होला सोप्रे टो’ हो । त्यो सविक लमजुङमा पर्दथ्यो भने अहिले २०३२ सालबाट कास्कीमा परेको छ ।

ल्होछार हो की ल्होसार हो ?
ल्होछार शब्दको विकास पनि महत्वपूर्ण रहेको छ । नेपालम मान्ने ल्होछारहरु भोट–वर्मेली अर्थात तिब्बतीसँग सम्बन्धित रहेको छ । तमु जातिले पुष १५ मा मान्ने तमु ल्होछार र तोला ल्होसार सम्बन्धित छ । मनाङमा तोला ल्होछार मनाइन्छ भने लमजुङमा गुरुङहरुले पुष १५ का दिन मनाउने गर्दछ । शब्दकै कुरा गर्दा तोला, सोनाम र ग्याल्पो ल्होसार भन्नु पर्दछ भने तमुहरुको चाहीँ ल्होछार भन्नु उपयुक्त हुन्छ ।

तिब्बती भाषामा ‘लो’ भनेको ‘वर्ष’ हो । ‘सार’ भनेको ‘नयाँ’ हुन्छ । तिब्बती भाषाको ‘लो’ शब्दबाट गुरुङ भाषाको ‘ल्हो’ शब्द बनेको हो । तिब्बती भाषामा ‘लो’ शब्दले ‘वर्ष र उमेर’ भन्ने अर्थ बुझाउँछ भने ‘सर ब’ शब्दले नयाँ भन्ने अर्थ बुझाउँदछ । त्यही ‘सर ब’ शब्दको छोटकरी रुप ‘सर’ हो । अतः तिब्बती भाषाको ‘लोؘसर’ शब्दले ‘नयाँ वर्ष’ भन्ने अर्थ बुझाउँदछ । बाह्र वर्षमा उही ‘ल्हो’ आउने भए तापनि चीन, तिब्बत देशहरूमा त्यस ‘लो’ वर्र्ष ‘सर’ नयाँ लो वर्ष मान्ने गरिन्छ ।

‘लो–सर’ तिब्बती भाषाको मूल शब्द हो भने ‘ल्हो–छार’ चाहिँ मूल तिब्बती शब्दबाट बनेकोे तत्भव हो । जस कारणले गर्दा तमाङ, थकाली र गुरुङमा मनाउने पुष, माघ र फागुन जहिले मनाए पनि यहीं ‘ल्हो’ फेर्ने अर्थात ‘वर्ग’ फेरिने भएकाले तमुले मनाउने पुषे १५ ल्होछार हो । यसरी बाह्र वर्षमा उही ल्हो आउने भए तापनि भाषिक विकास एवं शब्द निर्माणको प्रकृया र चलन चल्तिको आधारमा त्यस ल्होलाई छार अर्थात नयाँ मानिएको हो । अतः ल्होछार शब्द गुरुङ भाषाको परम्परागत शब्द भएकोले गुरुङले ल्होछार शब्दको प्रयोग गर्नु पर्दछ ।

गुरुङले पुष १५ मै ल्होछार मनाउने केही कारण छ?
पुस १५ गते ल्होछार मान्ने परम्परा केवल गुरुङहरूमा मात्र प्रचलित छ । चन्द्रमास अनुसार ग्याल्द छेचि अर्थात पौष शुक्ल प्रतिपदाको दिनमा तोल ल्होछारको प्रवर्तन हुन्छ । तोला ल्होछारको सम्बन्ध केवल प्रकृति अथवा सूर्य दक्षिणायणबाट उत्तरायणतिर लाग्ने अथवा सूर्यको गतिबाट रात लामो र दिन छोटो हुने क्रमको अन्त भई रात छोटो र दिन लामो हुने क्रम शुरु हुने दिनसँग रहेको छ ।

ल्हो चाहि कुन समयदेखि फेरिन्छ ?
पुस १५ गते जन्मेका मानिसहरूको ‘ल्हो’ अथवा ‘वर्ग’ हुँदैन त्यस कारण पुुस १५ गते जन्मेका मानिसहरूको ‘फोबोँ’ ल्हो अर्थात चमेरो वर्ग हुन्छ भनिएको छ । रातको १२ बजेदेखि ‘ल्हो’ अथवा ‘वर्ग’ फेरिन्छ भन्ने मान्यता रहेको छ । पूर्वीय मान्यता अथवा भारत वर्षको मत अनुसार सूर्योदय अथवा घाम झुल्केपछि मात्र अर्को दिन र बार शुरु हुने मान्यता रहेको छ । त्यसरी नै तिब्बती भाषामा सूर्य वा दिनलाई न्हिम भनिन्छ भने तमु ‘ची’ गुरुङ ‘ज्योतिषशास्त्र’ मा दिन र तिथिलाई ङ्हिम भनिन्छ । तिब्बती भाषाको न्हिम शब्दबाट गुरुङ भाषाको ङ्हिम शब्द बनेको छ । तिब्बती र गुरुङ दुबै ज्योतिष शास्त्रले सूर्योदय अथवा घाम झुल्के पछि नयाँ दिन र बारसँगै ल्होछारको सुरुवात हुने गर्दछ ।

तमु ल्होछार कसरी मनाइन्छ ? विधि के हो?
प्ये क्युई, ल्हो क्युई, च्यो क्युई तमु क्युई हुदै आएकोले यसको विशेष महत्व रहेको छ । गुरूङ समाजमा तीन पुरोहितहरु पाच्यु, क्यब्री र लम अर्थत लामा रहेका छन् ।

तीन वर्गको खेगी पुरोहितहरूले पुजा गर्ने प्रचलन पनि फरक रहेको छ । यसमा तीनै वर्गलाई कार्य विभाजन गरेको छ । जस्तो, कि ‘थगु मुगु पाच्यु ल, सोगु मुगु क्यब्री ल र छैगु मैगु लम ल’ भनेर कार्य विभाजन गरिएको छ । दोख दोखला पन्छाउने काम पाच्युको हो । शुुद्ध, शान्ति र थासो फाल्ने काम क्यब्रीको हो भने आयु र सह बटुल्ने काम लमहरुको हो भनेर छ्ट्याइएको छ ।

पाच्युले थासो फल्दैन थासो फाल्ने काम चाहिं क्यब्री र लामाले गरेको देखिन्छ । क्यब्रीको पद्धति फरक खाल्को देखिन्छ जस्तो टु क्यब्री र मओत्से क्यब्रीको पद्धती फरक रहेको छ । लामाकोमा मान्छे मर्दा लास सेलाई सकेपछि थासो फाल्ने गर्दछ । अर्घुम सेलाई सकेपछि पनि थासो फाल्ने गरिन्छ । मान्छे मर्दा थासो र अर्घुमको थासो फाल्ने गर्दछ । त्यसरी चैत्र र कार्तिकमा पनि चोकैँ थासो फाल्ने चलन जस्तै पुष १५ अर्थात ल्होछारमा पनि चौकै थासो फाल्ने गरिन्छ । यो अगानमा नभाई पिँडीमा चोकै थासो फाल्ने गर्दछ । थासो फाल्दा खेरी नङलो माथि एक पाथी कोदो र कोदो माथी कोदो कै १२ वर्गको कैदु बनाएर त्यसमा ठड्यार राख्ने गरिन्छ ।

यस कार्यमा चिम्टी र कापे निगालोबाट बनाएका विभिन्न सरसमान पुरा गरेपछि लामाले छ्युई पढ्छ भने क्यब्रीले प्ये पढ्छन् । क्यब्रीले गौथलीको अर्थात चिप्लीको प्ये पढेको हुन्छ । गाउँघरमा चिप्तिको गुण भत्काएमा नराम्रो हुने मान्यता रहेको छ । क्यब्रीले उसको मन्त्र पढेको हुन्छ । क्यब्रीले पहिले नै कैदु लडएर राखेको हुन्छ भने लामाले सबै प्येको किताब पढिसके पछि नाङलोको घेरा समाएर कैदु ढल्ने गर्दछ । कैदु ठिकसँग गएको छ कि छैन सबै राम्रोसँग गयो भने सबै शान्ति भयो गएको छैन वा टेडो गएको छ भने कुन वर्गको कैदु टेडोे गएको छ त्यो वर्ग लाई ङ्हेवा भनिन्छ ।

कोही नढल्ने हुन्छ कोही आफै तिर फार्केर आएको छ भने त्यहीं अनुसारको सुख शान्ति गर्नुपर्ने हुन्छ । यसमा प्रयोग भएक दर्शन ढुङ्गले डाम्ने, खपेटले डाम्ने, जाडको छोक्रा नि हाल्ने, शल्बी पुल्बी पनि राख्ने, कापे पनि राख्ने, नै थरी कुठो रुखको प्रतिकले अठ्याउने र कैदुहरुलाई त्यसैमा राख्ने र चिम्टी राखेर घरको सिधा आगनमा लाने गरिन्छ । अनि थासो क्युई ख्रुबा गर्ने र सबै परिवारका सदस्यहरुले त्यस माथि धुने र सके पछि तगारो बहिरा राख्ने गरि थासो वाबा गरिन्छ । यसैका साथै तीन वर्गका पुरोहितहरूद्वारा तदनुरुपको कर्म गराएर ल्होछारको दिनमा सबैले आ–आफ्नो ग्रह शान्ति र कुशल–मङ्गल प्राप्तिको लागि म्हार घिउको बत्ति बालेर चोखो पानी, च्यु अर्थात अक्षता र अन्य चोखो खानेकुराहरू धुपिको धुप बालेर सिल्दो–नाल्दो, खे, मा र फैलुको पूजा आजा गर्ने प्रचलान रहेको छ ।

ल्होछारमा रिपुको महत्व के छ र कसरी लगाईन्छ ?
ल्होछारको समयम लामा र क्यब्रीबाट रिपु अर्थात रुपा लगउने चलन रहेको छ । धेरै जसो ठाउँहरुमा लामाले रिपु लगाई दिने प्रचलन रहेको छ । रिपु लगाउने र बनाउने तरिक महिला र पुरुषको फरक–फरक रहेको छ । रिपु बनाउँदा पुरुषहरुको लागि वेसारमा मोलेकोे नौ सरा, नौ गाँठो र महिलाहरूलाई सात सरा, सात गाँठोको रिपु डोरो लगाई दिएर स्याई गरी शुभ आशिक दिने प्रचलन रहेको छ । यसमा पुरोहितहरुको कार्य फरक हुन्छ जस्तो लामाले थासो फालेको छ भने क्यब्रीले र क्याब्रीले थासो फालेको छ भने लामाले रिपु लगाउने प्रचलन रहेको छ ।

यसमा पनि रिपु लगाउने तरिका पनि फरक छ । जस्तो कि दक्षिणायण र उत्तरायण गरि छुट्यएको हुन्छ । फागुन चैतमा करङकुरुङ चरा माथी जाने गर्दछ त्यो समयमा सबैले देख्दछ । यसलाई ‘प्याडुल्ब तर्सिव’ भनिन्छ । यो भनेको चरा माथी गयो भन्ने हुन्छ यसलाई छोटकारीमा ‘ओम‘ भन्ने गरिन्छ । साउनको नाग पञ्चमीदेखि करङकुरुङ चरा तला फर्किन्छन । त्यो समयमा बादल, वर्ष, हावा हुरीले गर्द देखिदैन । ‘कोईडुल्ब तर्सिव’ भन्ने गरिन्छ । छोटकरीमा ‘प्रुम’ पनि भनिन्छ । श्रीपञ्चमीदेखि करङकुरुङ माथि गएको हुनले अगाडिबाट पछाडि लागेर गाँठो गरी स्याई गर्ने र नाग पञ्चमीदेखि श्री पञ्चमीको अघिल्लो दिनसम्म करङकुरुङ तल फर्किने भएकोले पछाडिबाट अगाडि ल्याएर गाँठो बनाएर पछाडि लगेर स्याई गर्ने गरिन्छ । दुख,विरामी नहोस्, रोगहरु नलागोस्, सबै शान्त होस भनेर स्याई गरिन्छ ।

पहिले त ल्होछारमा स्योकैं खाने प्रचलन थियो, अहिले जस्तो ठूलो ठस्लो कार्यक्रम हुन्नथ्यो ?

ल्होछार मनाउने तरिका पनि समय अनुसार फरक–फरक भएको देखिन्छ । पहिले ल्होछार मनाउँद तिहारमा देउसी, भैलो खेलेको भए त्यसबेला जम्मा गरेको धान, चामल र पैसाले स्योकैं अर्थात सहभोज खाएर पुषे १५ ल्होछार मान्ने गरिन्थ्यो । तिहारमा देउसी, भैलो नखेलेको समयमा चेलीबेटीले आ–आफ्नो घरबाट चामल र रक्सी उठाउने र माइतीहरूले घिउ, कुखुरा वा बोका ल्याएर रोटी, रक्सी र मासु भात खाई ल्होछार मान्ने चलन थियो । यसलाई नेपालीमा खुवा खाने भनिन्छ ।

सबै एक ठाउँमा भेला भएर स्योकैं खाने, रमाईलो गर्ने गीत गाउने, शुभकामना अदानप्रदान गरि मनाउने गरिन्थ्यो । अहिले समय र परिस्थि परिवर्तन हुँदै गएको छ । पहिले र अहिले ल्होछार मान्ने प्रक्रिया र तरिका फरक हुँदै गएको देखिन्छ । पहिले सानो घेरामा थियो भने अहिले बृहत हुदै गएको देखिन्छ । पहिलो सानो समुह मिलेर स्योकैं अर्थात सहभोज गरिन्थ्यो भने अहिले धेरै समुह मिलेर खाने प्रचलन रहेको देखिन्छ । हरेको ठाउँ गुरुङ समुदायको विकास हुँदै गएको त्यस ठाउँको चलनचल्ती अनुसर कार्यक्रम गर्ने गरेको देखिन्छ ।

तपाईले चार वटा ल्होसार/ल्होछारको कुरा गर्नु भयो, सबैले एकै दिन मनाउन सम्भव छैन?

नेपालमा मान्दै आएको ल्होछार÷ल्होसारहरु सबै तिब्बतसँग अन्तर सम्बन्धित रहेको देखिन्छ । पुष, माघ र फागुनमा मान्ने सबै ल्होछारलाई एक ठाउँमा तिथि अनुसर मान्न सकिन्छ तर यसमा सबैको सहमाति र मेलमिलाप हुनु जरुरी हुन्छ । अहिले तामाङ, गुरुङ, थकाली र शेर्पहरुले आ–आफ्नै तरिकाले ल्होछार/ल्होसार मान्ने बानीको विकास भईसकेको हुनले यसलाई एउटा तिथी मितिमा ल्याउन गाह्रो छ । यसको आदिम मुल भनेको तोला ल्होछार नै हो । यो लोप हुने अवस्था रहेको छ यसमा पहुँचको कमी रहेको छ । यसलाई संयुक्त रुपमा मान्न सकियो भने सबैको लागि हित हुन्छ ।

सम्बन्धित समाचार