ज्याम्बियाङ स्कुललाई सहयोगपछि साथीहरुसँग २५ वर्षपछिको त्यो भेट

December 20, 2017

अाङछिरिङ शेर्पा

नेपाल यात्राको मैझारो

आफ्नो गृह जिल्लाको छोटो बसाईपछि काठमाडौं फर्कें । भौगोलिक दृष्टिले राजधानीबाट टाढा भएपनि प्राकृतिक दृष्टिले मनमोहक थियो सोलुखुम्बु, प्रदुषणमुक्त थियो ।

हिमालको पानी, धुलो धुवाँ नभएको सुन्दर गाउँबस्ती काठमाडौ फर्केपछि झलझली याद आयो । काठमाडौं आइ पुगेपछि भोलिपल्ट बिहानै सिन्धुपाल्चोकको हेलम्बुतिर लाग्यौं ।

लेखक

राजधानीबाट हेलम्बुको दुरी खासै टाढा छैन । युवा समाजसेवी टासी ह्योल्मो, एभरेस्ट टाइम्सको नेत्र तामाङ, एभिन्युज टेलिभिजनका पत्रकार ल्हाक्पा शेर्पा र दिपु चौलागाई यात्रामा संगै थिए । त्यस दिनको हामी हेलम्बु गाउँपालिका अन्तर्गतको इचोक गाउँमा पुग्नु थियो ।
कहिल्यै नपुगेको ठाउँको नाम लिदा चालकले ३ घण्टामा पुगिने बताएका थिए । काठमाडौंको बौद्धबाट सुरु भएको हाम्रो सडक यात्रामा केही ठाउँबाहेक अधिकांश बाटो खल्डाखुल्डी, कच्ची र धुलोहिलोयुक्त थियो । साँखु हुदैं जहरसिहं पौवासम्मको पिच सडक सकेपछि धुलाम्य ओरालो बाटो कट्दै मेलम्चीमा पुगियो । त्यही खान खाइयो ।

मेलाम्चीबाट उक्लेको केही घण्टामा पुगिने इचोक गाउँ प्राकृतिक सुन्दरताले भरिएको त थियो । गाउँमा भर्खरै मोटरबाटो पुगेपनि राज्य र विभिन्न सामाजिक संस्थाहरुको सहयोगी हातहरु र आँखा त्यो गाउँसम्म नपुगेको देखियो । त्यही गाउँमा निकै मायालु बालबालिका ज्याम्बियाङ प्रावि स्कुलमा अध्ययन गर्थे ।

विद्यालयको अवस्था निकै दुःख लाग्दो थियो । पुरानो जस्ताले बेरेको त्यही विद्यालय बाहिरबाट हेर्दा जस्तो थियो भित्र पनि उतिकै दुःखलाग्दो थियो । त्यही स्कुलमा पढ्न बाध्य थिए त्यहाँका बालबालिका । नजिकै अरु स्कुल पनि त रहेनछ । त्यसैले पनि त्यही स्कुललाई एभरेस्ट टाइम्सले किम्फबाट उठेको रकम सहयोग गर्न पाउदा दुखेको घाउमा थोरै मलम लगाइदिन पाएझैं लाग्यो ।

विद्यालय पुग्दा वडा अध्यक्षलगायत गाउँलेहरु भेला भएका थिए । उनीहरुले दिएको आत्मीयता र स्वागतले हामीलाई थप उर्जा मिल्यो । विद्यालयको कार्यक्रम सकेलगतै बेलुकीनै राजधानी फर्कियौ । मनमनै राजधानी नजिकको पिच गर्न नसकेको बाटो र मेरो जिल्लासम्म पुगेको पिच बाटो तर केही जोखिम बाटोहरु तुलना गरे । बेलुकी ९ बजे काठमाडौं आइपुगें ।

बेलुकी सानोमा स्कुल पढ्दाको साथीहरुसगको रात्री भेटघाटमा सामेल भएँ । एकाध दुईबाहेक धेरै मित्रहरुसँग करिब २५ बर्षपछिको पहिलो भेट थियो । स्कुल पढ्दा संगैको त्यति धेरै साथीहरुलाई एक ठाउँमा भेटन पाउँदा निकै खुसी लाग्यो । स्कुलमित्रहरुको भेटघाटको संयोजन गर्ने उर्मिला, व्यवस्थापनको संयोजन गर्ने ल्हाक्पा डोमा र भेटघाटपछि दरबारमार्ग लैजाने सञ्जय र नारायणलाई मनमनै धन्यवाद दिए । सोलुखुम्बुको जजा माबिको अध्ययन सकेपछि आआफनै पारिवारिक जीवनमा रमेका हामीहरुको त्यो ऐतिहासिक भेटले हाम्रो मित्रतामा थप उर्जा मिल्यो ।

यस पटकको मेरो नेपाल यात्रामा दुई संस्थाको सम्मेलनसँगै भौगोलिक, सामाजिक लगायत नयाँ पुरानो मित्रहरुसँग सम्बन्ध ‘रिन्यु’ गर्न पाउँदा जीवनमा थप उपलब्धि हासिल गरेको महसुस भयो । यात्रामा कतिपयलाई भेटन चाहेर पनि नभ्याएर भेटन सकेन । यो रंगीन जीवनमा बिर्सन लागेको पुरानो मित्रतालाई सम्झदैं नजिक ल्याउनु र नया मित्रता बनाउदै जानु नै जीवनको महत्वपूर्ण उपलब्धि हुदो रहेछ । आगामी नेपाल यात्रा सबैको यस्तै उपलब्धिमुलक र रमाइलो होस, शुभकामना ।

।। समाप्त ।।

 

सम्बन्धित समाचार