कवि मुक्तान थेबाको तामाङ कविता संग्रह ‘काकलिङ’ लोकार्पण

June 30, 2018

काठमाडौं । नेपाली कवितामा उन्मुक्त पुस्ता अभियानका सशक्त कवि मुक्तान थेबाले मातृभाषामा पहिलो कविता संग्रह पाठकमाझ ल्याएका छन् ।

तामाङ डाजाङको प्रकाशनमा बजारमा आएको कविता संग्रहको आज भाषाविद् अमृत योञ्जन तामाङ, पत्रकार एवं साहित्यकार फूलमान वल, अर्का पत्रकार तथा साहित्यकार राजु स्याङ्तान, साहित्यकार बिना थिङ तामाङ र लेखक थेबाले एकैसाथ घुम्टो उघारेका थिए ।


काठमाडौंको बौद्धस्थित नेपाल तामाङ घेदुङको कार्यालयमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका भाषाविद् योञ्जनले अबका दिन मातृभाषाको भएकोले सबैलाई मातृ भाषाको साहित्यमा लाग्न आग्रह गरे ।

पत्रकार एवं साहित्यकार फूलमान वलले तामाङ साहित्यमा सकेसम्म तामाङ शब्दहरु राख्नुपर्नेमा जोड दिए ।

पत्रकार तथा साहित्यकार राजु स्याङ्तानले कविता संग्रहको समीक्षा गर्दै कवितामा केही कमजोरी रहेपनि समग्रमा कविताहरु सशक्त रहेको बताए ।

यता साहित्यकार बिना थिङले महिलाको विषयसमेत समेटिएकोले कविता संग्रह जोडदार रहेको औल्याइन् ।


लेखक मुक्तान थेबाले सबैलाई धन्यवाद दिँदै आगामी दिनमा लेखन सुधार्दै लैजाने भनाई राखे । कार्यक्रमका वक्ताहरुले थेबालाई बधाई दिएका थिए । कार्यक्रम तामाङ डाजाङका प्रकाशकसमेत रहेका अर्जुनबहादुर तामाङले सञ्चालन गरेका थिए भने सम्पादक इन्द्र तामाङले सबैलाई स्वागत गरेका थिए ।


प्रकाशन संस्था तामाङ डाजाङ तामाङ भाषाको साहित्यलाई प्रवद्र्धन गर्दै आएको संस्था हो । काकलिङमा ३८ कविता रहेका छन् भने यसको मुल्य १,५०/- रुपैयाँ तोकेको छ ।

सम्बन्धित समाचार