दिल्ली, इजिप्ट हुदैं सगरमाथासम्म

July 1, 2017

नेत्र तामाङ/काठमाडौं

सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा ३ भोताङकी कान्छीमाया तामाङले गएको मे २० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरिन् । युएन वुमनकी ब्रान्ड एम्बासडरसमेत रहेकी उनी तामाङ गोइलो अर्थात तामाङ पहिरनका साथ सगरमाथाको चुचुरोमा पुगेकी थिइन् ।
राजधानी नजिकैको जिल्ला भएपछि दुर्गम भनेर चिनिने भोताङकी उनले सगरमाथामा पाइला राख्ने पहिलो तामाङ महिलाको रेकर्ड कायम गरेकी छन् । तामाङ पहिचानलाई प्रवद्र्धन गर्न र तामाङ महिलामा रहेका आरोपका दागहरुलाई मेट्न उनले सगरमाथा आरोहण अभियान चलाएकी थिइन् ।
सिन्धुपाल्चोक चेली बेचबिखनको नामबाट चिनिएको जिल्लाको अमिट दाग मेटाउन आकंक्षा बोकेकी उनलाई युनएन वुमनका साथ रह्यो । सगरमाथा आरोहणअघि उनले भनेकी थिइन्, ‘सगरमाथाबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई चेलिबेटी बेचबिखनविरुद्ध एकजुट हुन आग्रह गर्छु ।’

यसरी पुगिन् सगरमाथाको चुचुरो

एसएलसी दिएपछि कान्छीमायामा नर्स बन्ने सपना पलाएको थियो । उनी काठमाडौं आइन्–नर्सिङ पढाइबारे बुझिन् । तर, निकै खर्चिलो हुने देखियो, घरपरिवारको सहयोग नपाउने भएपछि उनको मन म¥यो । त्यहीबेला उनका भिनाज नयाँ दिल्लीबाट काठमाडौं आइपुगे र उता पनि पढ्न पाउने भनी लोभ देखाए । त्यसपछि उनी नयाँ दिल्ली जान बाध्य भए । त्यहाँ पढ्न सकिएन । चार वर्षसम्म तीन जना बच्चा भएको घरमा काम गरिन् । ४ वर्षसम्म नयाँ दिल्लीमा दुःख गर्दा पनि केही नहुने देखिएपछि उनी साथीमार्फत इजिप्त पुगिन् । इजिप्टमा राम्रो कमाई हुन थाल्यो । त्यही उनले अंग्रेजी सिकिन् ।

‘त्यहाँ पुगेपछि पेम्बा दोर्जे शेर्पाको नाम सुनें, उहाँले समावेशी महिलाको टिम बनाएर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको रहेछ,’ कान्छीमायाल सम्झिन्, ‘त्यहीबेलाबाट सगरमाथा चढ्ने सपना बुन्न थालें ।’ सबैभन्दा छोटो समय (आठ घन्टा १० मिनेट) मा सगरमाथा चढेर विश्व रेकर्ड राखेका पेम्बाले तयार पारेको समावेशी टिममा भने उनी अटेनन् । नुवाकोटकै एकजना तामाङ महिला टिममा परिन् । तर, पारिवारिक बाध्यताले ती महिलाले सगरमाथासम्म पुग्न पाएनन् । त्यसपछि पेम्बासँग फेसबुक र भाइबरबाट कुरा बाक्लिन थाल्यो । र, सगरमाथा चढ्नकै लागि उनले ६ वर्षे बसाईलाई बिट मार्दै इजिप्ट छाडिन् ।

२८ वर्ष लाग्दै गर्दा कान्छीमायाले हिउँमा पाइला राख्ने प्रयास थालिन् । सगरमाथा चढ्नका लागि आवश्यक अभ्यास गर्न उनलाई एक वर्ष लाग्यो । सगरमाथा आरोहणका लागि सबैभन्दा महत्वपूर्ण विषय हो, हिम्मत, अभ्यास र खर्च । ‘हिम्मत गरें, पेम्बाजीको सहयोगमा सगरमाथासम्म पुग्न अभ्यास पनि गरें, मेरा पिक चढे, त्यसपछि आँट पनि आयो, त्यसका लागि आवश्यक खर्च भने व्यवस्थापन भएन,’ कान्छीमायाले सुनाइन्, ‘त्यसपछि विभिन्न ठाउँ धाउन थाले, सहयोगका लागि हात थाप्दै ।’ आफ्नो अभियान सुनेपछि वैदेशिक रोजगारमा रहेका धेरै दिदीबहिनीले सहयोग गरेको उनले बताइन् । ‘विदेशमा हुनुभएका दिदीबहिनीले धेरै सहयोग गर्नुभयो, फिलिपिन्स र म्यान्मरका साथीहरुले पनि मलाई सहयोग गर्नुभयो,’ उनले भनिन् । सगरमाथा चढ्न झन्डै ३५ लाख रुपैयाँ जोहो गर्नुपथ्र्यो । अपुग रकम ‘शेर्पा सेफर्ड’ ले सहयोग गरेको उनले बताइन् ।


सम्पूर्ण तयारीपछि नेपालको झन्डा, युएन वुमनको झन्डा, तामाङ घेदुङको लोगो, तामाङ पहिरनका साथ कान्छीमायाले सगरमाथाको चुचुरो पुग्ने बाटो तताइन् । अनुभवी सहयोगी पाएकाले उनको सगरमाथा आरोहण सहज भयो । ‘मे २० तारिख बिहान ६ बजे सगरमाथाको चुचुरोमा पुगें, बादलहरु सगरमाथाभन्दा तल देख्दा मनमा खुसी भरेर आयो, १५ मिनेट उभिएँ, खुसीको सीमा रहेन, ती खुसीहरु क्यामरामा कैद गर्न खोजिए, तर तीव्र रुपमा चलेको हावा र चिसोले ती खुसी कैद गर्न सकिएन,’ उनले एभरेस्ट टाइम्ससँग खुसी साटिन् ।

भूकम्पपछि सगरमाथा चढ्न सहज

सगरमाथामा सबैभन्दा गाह्रो हिलारी स्टिप भएको धेरैजसो आरोहीहरु बताउँथे । हिलारी स्टिपबाटै धेरै आरोहीहरु सगरमाथालाई जित्न नसकी फर्कन्थे । कतिको ज्यान समेत यही उकालो बन्थ्यो भनेर आरोहीहरु बताउँथे । कान्छीमायालाई यही स्टिपमा कस्तो मुश्किल भयो भनेर प्रश्न सोध्दा उनले भनिन्, ‘अन्तिम दिनमा हामीलाई त्यस्तो गाह्रो भएन । हिलारी स्टिप रहेको केही माथि ठुलो ढुंगा थियो रे, दुई वर्ष अघि आएको भूकम्पले त्यो ढुंगा पल्टिएर कता पु¥याईदिएछ, त्यसअघि त्यहाँबाट धेरै आरोहीहरु फर्कन्थे रे, त्यही ढुंगा नहुदाँ सहज भयो भनेर धेरैले भने । मलाइ पनि त्यस्तै लाग्यो ।’

अबका योजनाः आरोहणमा निरन्तरता, महिला बेचविखनविरुद्ध अभियान

सगरमाथा सफल आरोहणपछि अहिले कान्छीमायालाई बधाइँ र सम्मानको ओइरो लागेको छ । उनको दैनिकी नै सम्मान समारोहमा पुग्नु र बधाइँ ग्रहण गर्नु बनेको छ हिजोआज । तामाङ समुदायबाटै पहिलोपटक सगरमाथा चढेकी महिलाको चिनारी बनाएपछि उनलाई यस्तो कार्यक्रममा जान भ्याइनभ्याइ भएको हो । हरेक ठाउँमा पुग्दा कान्छीमायालाई धेरैले सोध्ने भनेकै अबको योजना के ?


उनको पहिलो योजना भनेको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई चेलिबेटी बेचबिखनविरुद्ध एकजुट हुन आग्रह गर्ने हो । उनले यही उद्देश्य लिएर सगरमाथा चढेकी थिइन् । भन्छिन्, ‘चेलीहरु बेचिनुको मुख्य कारण बेरोजगारी हो, लैंगिक विभेद हो, अशिक्षा हो, त्यसैले यी विषयमा सम्वोधन हुनैपर्छ, चेली बेचिने ठाउँहरुमा पुगेर यी विरुद्ध लड्ने मेरो योजना छ । यसका लागि स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने मेरो योजना छ ।’

हिजोका दिनमा उनको जन्मगाउँ भोताङलाई आइसी र डलरको गाउँ भनेर चिनिन्थ्यो । असुरक्षित वैदेशिक रोजगार अहिले चेली बेचबिखनको बदलिदों स्वरुप हो । यी दागहरु मेटाउन पनि आफु सगरमाथा चढेको उनको दाबी छ । भन्छिन्, ‘हिजो हाम्रो गाउँलाई आइसी र डलरको गाउँ भन्थें, बाउले छोरी बेच्ने, दाइले बहिनी बेच्ने गाउँका रुपमा चिनिन्थ्यो, म आफै पनि १०–१२ वर्ष विदेशमै बसें, यही सम्झेर एउटा अभियान गर्नैपर्छ भनेर आफ्नो देश फर्केकी हुँ, मेरो अभियानलाई सबैले साथ दिनुभयो, यही माया र साथबाट सगरमाथा पुगें, यस्तै साथ सहयोग रह्यो भने पक्कै पनि चेली बेचविखनको कुरा सजिलै अन्त्य हुन्छ ।’ महिलाहरुलाई पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा आकार्षित गराउने उनको योजना हो । उनको योजनामा यसमा शेर्पा सेफर्ड नामक संस्था र युएन वुमनको साथ रहनेमा उनी ढुक्क छिन् ।

यही अभियानको साथसाथ उनी आरोहणलाई निरन्तरता दिन चाहान्छिन् । उनको योजना छ, संसारमा भएका ८ हजारभन्दा अग्ला १४ वटा हिमालहरु छन् । ती मध्ये सबैभन्दा अग्लो सगरमाथाको आरोहण सम्पन्न भयो । ‘१४ पिक आरोहण गर्ने मेरो योजना हो, एउटा त सकियो, अब १३ वटा पिकको चुचुरोमा पुग्ने योजना छ, यही अक्टोबरमा एउटा पिक पुग्ने योजना छ,’ कान्छीमायाले सुनाइन् ।

कान्छीमायाका तीन दाजु तीन दिदी छन् । घरकै कान्छी भएकाले पनि उनको नाम कान्छीमाया राखिएको हुन सक्ने उनको अनुमान छ । कुनै बेला नर्स बनेर बिरामीको सेवा गर्ने सपना बुनेकी कान्छीमाया अहिले चेलीबेटी बेचबिखन जस्तो गम्भीर रोगको उपचार गर्नतिर लागेकी छिन् । समाजको डरलाग्दो यो रोगको चिरफार गरी उपचार गर्ने उनको उद्देश्य सफल होस भन्ने हाम्रो शुभेच्छा छ ।

 

 

 

सम्बन्धित समाचार