काश्मिरमा भारतीय प्रहरीको गोलीबाट दुई पाकिस्तानी मारिए

October 4, 2017

पाकिस्तान (रासस÷एएफपी) ः प्राय तनाव नै भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा बुधबार फेरि अर्काे झडप भएको समाचार छ ।
उक्त झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ ।
सीमा नजिकैको अब्बासपुर क्षेत्रको एक गाउँमा भएको सो झडपमा गोली चल्दा एकै परिवारका दुई दाजुबहिनीको ज्यान गएको बताइएको छ ।
सो झडपमा परी अरु दुई जना घाइते भएका पाकिस्तानी पक्षले जनाएको छ । घाइते हुनेमा सोही गाउँका दुई महिला रहेको सो समाचारमा उल्लेख गरिएको छ ।
मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए ।
सो आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ । सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो ।

सम्बन्धित समाचार