राजालाई खेलकुद मन्त्री केसीले लगाइदिए श्रीपेच

September 25, 2017

गोरखा । यस वर्षको लिगलिगे राजा नेपाली सेनाका खगेन्द्र रानाभाट भएका छन् । असोज ९ गते भएको दौडमा खगेन्द्रले एक घण्टा दुई मिनेटमा निर्धारित १३.५ किलोमिटर दौड पूरा गरेका थिए ।

दौडेर राजा छानिने परम्परालाई निरन्तरता दिँदै लिगलिगकोट विकास अभियानले वर्षेनी राजा छान्दै आएको छ । डोटी घर भएका रानाभाटलाई श्रीपेच लगाएर यसवर्षको लिगलिगे राजा घोषणा गरिएको हो । खेलकुदमन्त्री राजन केसीले श्रीपेच, रु ५० हजार पुरस्कारसहित रानाभाटलाई आज पुरस्कृत गरे ।

चेपे नदीस्थित चेपेघाटदेखि लिगलिगकोट डाँडासम्म दौड पूरा गर्नुपर्ने नियम छ । यस्तै नेपाली सेनाकै रामजी बस्नेतले एक घण्टा तीन मिनेटमा निर्धारित दूरी पार गरी दोस्रो भए । बस्नेतलाई रु ३० हजार पुरस्कारसहित मन्त्री केसीले पुरस्कृत गरे ।

यस्तै नेपाली सेनाका अनिश बस्नेतले एक घण्टा ५ मिनेटमा दौड पूरा गरी तेस्रो भए । बस्नेतले रु. २० हजार नगद पुरस्कार पाए । लिगलिगे राजा बन्नका लागि ११७ जना धावकले भाग लिएको आयोजक संस्थाका उपाध्यक्ष सरोज देवकोटाले बताए ।

 

सम्बन्धित समाचार