पहिलोपटक अभिनय गर्ने अवसर पाउँदा रातभर निद्रा लागेन

May 18, 2017

दोलखाको बोच गाविसमा स्थित लप्सेमा जन्मिएका खेम मोक्तान २०६६ सालदेखि मोडलिङ तथा कोरियोग्राफिमा सक्रिय रहँदै आएका छन् । सानै देखि मोडल बन्ने सपना बोकेका उनी २०६५ सालमा एसएलसी दिएर राजधानी छिरेका थिए । मोडलिङ, कोरियोग्राफिसँगै अध्ययनलाई समेत अघि बढाईरहेका उनी हाल काठमाडौको बौद्धस्थित केब्स कलेजबाट व्यवस्थापन संकायबाट बीबीएस तेस्रो वर्ष अध्ययन गर्दैछन । आफ्नो कामप्रति निकै इमान्दार र प्रतिवद्ध हुनुपर्छ भन्ने सोचाई राख्ने खेमसँग एभरेस्ट टाइम्सका लागि वसन्त खड्काले गरेको संवादः
यो क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
मोडलिङ क्षेत्रमा लाग्ने मेरो सानै देखिको रहर अथवा सपना थियो । सानै देखिको रुचिलाई पछ्याउँदै आउँदा अन्ततः त्यो सपनालाई वास्तविकतामा परिणत गर्ने अवसर पाएको छु ।

तपाईको कुरा सुन्दा पक्कै पनि तिव्र चाहनाले नै तपाई यस क्षेत्रमा आउनुभयो भन्ने बुझिन्छ, पहिलो पटक मोडलिङ गर्ने अवसर पाउँदा कस्तो महसुस भयो ?
नढाँटी भन्ने हो भने पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउँदा मलाई रातभरी निद्रा नै लागेको थिएन । पछि त्यो म्यूजिक भिडियो बजारमा आएपछि त झन मेरो उत्साहको सीमा नै रहेन । जे होस मानिसले आफ्नो रुचि वा सपनालाई पछ्याइरहेमा एक दिन तयो सपना पुरा हुँदोरहेछ भन्ने मेरो अनुभवले देखाउँछ ।
बाहिर हेर्दा त यो क्षेत्र निकै रमाईलो लाग्छ, वास्तविकतामा कस्तो छ ?
अन्य क्षेत्र जस्तै यो क्षेत्रमा पनि बाहिर देखिए जस्तो सजिलो छैन । क्षेमतावान र यसै क्षेत्रको अध्ययन गरिरहेकाहरु पछि परेका छन्, पैसाको आडमा प्रवेश गर्नेहरुकै चर्चा परिचर्चा हुन्छ । अर्काे तर्फ तिव्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ त्यसैले सहजतासँगै केही अप्ठेराहरु पनि छन् ।
तपाई मोडलिङ, कोरियोग्राफिसँगै अध्ययनलाई पनिसँगै अघि बढाउनु भएको रहेछ, समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
सामान्यतया यस क्षेत्रमा अध्ययन भन्दा बढी शारीरिक बनावट र सुन्दरताले बढी महत्व राख्छ । तर यसको अर्थ अध्ययन आवश्यक छैन भन्ने होईन । अध्ययन हरेक क्षेत्रका लागि उत्तिकै आवश्यक हुन्छ । त्यही महत्व बुझेर मैले अध्ययनलाई निरन्तरता दिएकु हुँ । जहाँसम्म समयको कुरा छ त्यो त इच्छाशक्ति भयो भने समय व्यवस्थापनको कुरा खासै ठूलो हुँदैन ।
यो क्षेत्रमा भविष्य कस्तो देख्नुहुन्छ, आम्दानीको हिसाबले यो क्षेत्र कस्तो छ ?
मिहेनत नगरी सफल हुने कुनै क्षेत्र छ जस्तो मलाई लाग्दैन । झन यो त तिव्र प्रतिस्पर्धा हुने क्षेत्र हो त्यसैले मिहेनत वा संघर्ष गर्न सक्नुपर्छ । क्षेणिक मनोरञ्जनका लागि मात्र यो क्षेत्रमा प्रवेश गर्ने भए एउटा कुरा हो अन्यथा धैर्यता र मिहेनेतसँगै लगनशिलताको आवश्यकता पर्छ । राम्रो गर्न सकेको खण्डमा भविष्य निकै उज्ज्वल छ र आर्थिक रुपमा पनि राम्रो प्रगति गर्न सकिन्छ ।
हालसम्म कति नृत्य निर्देशन तथा म्यूजिक भिडियोमा अभिनय गर्नुभएको छ ?
लगभग एक दर्जन नृत्य निर्देशन गरेको छु । त्यस्तै आधा दर्जन जति म्युजिक भिडियोमा अभिनय गरेको छु । हालैमात्र मनोजराज शिवाकोटीको ‘भेटौ भेटौँ भन्छु तिमीलाई, भेट्न सक्दिन म’ को म्युजिक भिडियोमा अभिनय गरेको छु । केबी मल्लले निर्देशन गरेको उक्त आधुनिक गीतको म्युजिक भिडियोमा रोहनी लामाले पनि अभिनय गरेकी छिन् ।
कस्ता गीहहरुमा नृत्यु निर्देशन तथा अभिनय गर्नुहुन्छ ?
यस्तो नै भन्ने छैन । तर हालसम्म गरेका अधिकांश गीतहरुमा तामाङ सेलो तथा आधुनिक गीतहरु रहेका छन् । आवश्यकता अनुसार सबै किसिमका गीतहरुमा अभिनय तथा नृत्य निर्देशन गर्न सकिन्छ ।
आफ्नो कामप्रति परिवार तथा साथिभाई र सुभचिन्तकहरुको प्रतिक्रिया कस्तो पाउनुहुन्छ ?
मेरो कामप्रति परिवारको ठूलो सहयोग र समर्थन रहेको छ, त्यस्तै साथीभाई तथा सुभचिन्तकहरुले पनि कामको निकै प्रशंसा गर्नुहुन्छ । तर मलाई भने मेरो कामको प्रशंसा भन्दा पनि कमजोरी पहिल्याइदिए हुन्थ्यो भन्ने लाग्छ । यसले मेरो कामलाई सुधार गर्न सहयोग मिल्छ । राम्रो कामको प्रशंसा र गल्ती कमजोरीहरुको आलोचना होस् भन्ने चाहन्छु तर अहिलेसम्म कमजोर पक्ष भन्दा पनि सवल पक्षकै चर्चा भइरहेको छ ।
तपाई आफै पनि मोडल हो र नृत्य निर्देशन पनि गर्नुहुन्छ, पछिल्लो समय अभिनयका नाममा छाडापन पनि भित्रिएको गुनासो बढीरहेको छ, ,यसलाई के भन्नुहुन्छ ?
ठिक भन्नु भो । छाडापन हाम्रो सस्कृतिसँग जोडिएको विषय होइन, यसले मौलिकता र सास्कृतिक महत्वलाई विगार्ने काम गरिरहेको छ । यसप्रति मेरो पूर्ण असहमति छ । लोकप्रियताका लागि त गुणस्तरिय काम गुर्नप¥यो । अंग प्रदर्शन गरेर हुने चर्चा क्षणिक मात्र हुन्छ र यसले मौलिकतालाई धरापमा पार्छ । पर्दामा आउनकै लागि वा सस्तो लोकप्रियताका लागि देखाइने छाडापन स्वीकार्य हुँदैन र यस्तो प्रवृत्तिप्रति मेरो सधै विरोध रहन्छ ।
आगामी दिनका योजनाहरु के के छन, कसरी अघी बढ्दै हुनुहुन्छ बताईदिनुहोस न ।
अब छिट्टै अर्काे म्युजिक भिडियोको तयारी भइरहेको छ । त्यस्तै पेशासँगै अध्ययनलाई पनि निरन्तरता दिँदै जाने योजना छ । जे होस्, यसै क्षेत्रमा भविष्य खोज्दै थप राम्रो गर्ने प्रयत्न जारी रहन्छ ।

सम्बन्धित समाचार