विप्लव माओवादीमाथिको मुद्दा फिर्ता लिन किरातीको माग: तोक्यो सात प्रदेशको संयोजक

April 23, 2018

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निस्कासनमा परेपछि आफ्नो नेकपा माओवादी केन्द्रकै नाममा बेग्लै संगठन बनाएका गोपाल किरातीले आफ्नो नेतृत्वमा नेताहरुको कार्यविभाजन गरी सातवटै प्रदेशको संयोजक तोकेका छन्।

सोमवार काठमाडौंको कोटेश्वरस्थित किरात पार्टी प्यालेसमा १४८ औँ लेनिन दिवस तथा ६९ औँ कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित सभामा किरातीले सातै प्रदेशको संयोजक तोकेका हुन्।

प्रदेश १ मा विमल निरौला, २ र ३ मा नंनजिबुल्ला अन्सारी, प्रदेश ४  मा मोहन गुरुङ र ५, ६ र ७ मा आलोक रायमाझीलाई राष्ट्रिय भेला आयोजक समितिको प्रदेश संयोजकको जिम्मवारी तोकेको छ। आदिवासी जनजाति मोर्चा संयोजनको जिम्मा भने दिनेश राजवंशीलाई दिइएको छ।

बैठकमा किरातीले राजनीतिक तथा संगठनात्मक प्रतिवेदनलाई अध्ययन, छलफल र कतिपय विषय कार्यान्वयन गर्दै अघि बढाउने गरी पारित गर्दै मार्क्सवाद–लेनिनवाद–माओवादको प्रयोग तथा विकासमा जोड दिने बताए।

किरातीले राष्ट्रिय समाजवादी क्रान्तिको कार्यदिशामा अघि बढ्ने उल्लेख गर्दै नेपाली जनतालाई ऋण मुक्त गर्न सम्पूर्ण वैदेशिक ऋण खारेज गर्ने बताए।

उनको प्रतिवेदनमा छिमेकीसँगको सम्बन्ध व्यवस्थित गर्न प्रत्येक स्थानीय तहमा एक भन्सार नाका खुला गरी बाँकी स्थानमा नेपाल-भारत सीमामा वा अग्लो पर्खाल काँडेतार लगाउने, माक्र्सवाद-लेनिनवाद-माओवादको रक्षा, प्रयोग र विकासमा जोड दिंदै प्रस्तावित राष्टिय समाजवादी क्रान्तिको कार्यदिशामा अघि बढ्नेसमेत बताएका छन्।

त्यसैगरी भ्रष्टाचारी र बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्ने पार्टीको एजेन्डामा समावेश गरिएको छ। बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुमाथि लगाईएका मुद्दाहरु खारेज गरी आधिकारिक वार्तामा बोलाउन नेपाल सरकारसँग आग्रह गर्दै नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा आउन आह्वान गरेको छन्।

प्रचण्ड समूहको दक्षिणपन्थी आत्मसमर्पणवादको भण्डाफोर गर्दै त्यस समूहमा रहेका इमान्दार क्रान्तिकारीहरुलाई शहीदको रगतले स्थापित माओवादको धारामा दृढतापूवर्क उभिन निर्णय गरेका छन्।

नेकपा (माओवादी केन्द्र) राष्ट्रिय भेला आयोजक समिति माक्र्सवाद -लेनिनवाद-माओवादलाई नेपाली क्रान्तिको विज्ञान स्वीकार गर्ने कम्युनिष्ट समूहहरुबीच एकताको लक्ष्यमा दीर्घकालीन सयुंक्त मोर्चा निर्माणका लागि विशेष जोड दिने बैठकले निर्णय गरेको  विद्यार्थी संगठन अखिल क्रान्तिकारी आलोक रायमाझीले जानकारी दिएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नेकपा एमालेसँग एकीकरण प्रक्रियामा गएपछि किरातीले पार्टी प्रचण्ड नेतृत्वको पार्टी छाडेका थिए।

सम्बन्धित समाचार